दक्षिण कोरियाको दक्षिणी बन्दरगाह शहर बुसानमा शुक्रबार भएको आगलागीमा चार जनाको मृत्यु भएको छ । आगलागीमा अन्य चारजना घाइते भएको राष्ट्रिय दमकल निकायले जनाएको छ ।
बन्यान ट्री होटलको निर्माणस्थलमा बिहान ११ बजे (०२०० जिएमटी) अघि आगलागी सुरु भएको अधिकारीहरूले बताए । स्थानीय सञ्चारमाध्यमका अनुसार घटनास्थलमा करिब १० जना कामदार थिए ।
राष्ट्रिय दमकल निकायका एक अधिकारीले तीमध्ये ६ जनाले ‘हृदयाघात’ को अनुभव गरेका र तीमध्ये चार जनाको मृत्यु भएको पुष्टि भएको बताए । अन्य चारजना घाइते भएको र आगो पूर्णरूपमा नियन्त्रणमा आइनसकेको ती अधिकारीले बताए ।
कामदारहरूले इन्सुलेसन सामग्री भण्डारण गरेको निर्माणस्थलको पहिलो तल्लामा आगलागी सुरु भएको विश्वास गरिएको दमकल विभागले पत्रकारलाई बताएको छ ।
दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई साङ–मोकले सम्बन्धित मन्त्रालयहरूलाई ‘आगो निभाउनका लागि सबै उपलब्ध कर्मचारी र उपकरण पूर्णरूपमा परिचालन गर्न’ आदेश दिएको वित्त मन्त्रालयले जनाएको छ ।
‘खोज तथा उद्धार कार्यका क्रममा क्षति रोक्न हरसम्भव प्रयास गर्नुका साथै दमकलकर्मीको सुरक्षा पनि सुनिश्चित गर्नुपर्छ’, चोईले भने ।
यो घटना एयर बुसानको विमानमा गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा आगो लागेको केही हप्तापछि भएको हो । उक्त आगलागीमा १७६ जनाले विमान छोड्नुपरेको थियो र सातजना घाइते भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।