२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

आइटीमा बढ्दै आकर्षण, सूचना प्रविधिलाई लगानीको गन्तव्य बनाउँदै सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार सूचना प्रविधिको क्षेत्रलाई लगानीको प्रमुख गन्तव्यका रूपमा विकास गर्न  रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) विज्ञान तथा प्रविधि विभागले आज आयोजना गरेको ‘नेपालका लागि सूचना प्रविधिमा आधारित उद्यमशीलताः आर्थिक समृद्धिको नयाँ बाटो’ विषयक अन्तरक्रिया उनले सरकार सूचना प्रविधिको माध्यमबाट मुलुकमा सुशासन कायम गर्ने विषयमा क्रियाशील रहेको बताए । 


सन् २०२६ सम्ममा नेपाल विकासशील राष्ट्रको सूचीमा स्तरोन्नति हुने उल्लेख गर्दै उनले त्यसका लागि पनि सूचना प्रविधिमा लगानी बढाउन आवश्यक भएको बताए । उनले कम्पनी स्थापना पनि अटोमेसन (स्वचालित)को माध्यमबाट सञ्चालन गर्ने गरी प्रक्रिया अगाडि बढाएको बताए । 



‘आज घरमै बसेर कम्पनी दर्ता गर्ने काम अगाडि बढाएका छौँ । कार्यालय दर्ता हुने बित्तिकै उद्योग पनि स्वतः दर्ता गर्न सकिने व्यवस्था गरेका छौँ,’ उनले भने । उद्योगमन्त्री भण्डारीले सरकारले सेवा प्रवाहको क्षेत्रमा सुशासनको अनुभूति दिइरहेको बताए । 

उनले धुवाँ, प्रदूषण उत्सर्जन गर्ने उद्योगलाई सूचना प्रविधिको प्रयोगमा लैजानुपर्नेमा जोड दिए । उनले पुँजी र प्रविधिलाई विशेष महत्वका साथ उठाइएको भन्दै प्रविधिलाई आत्मसाथ गर्न नसकेको खण्डमा आजको विकास सम्भव नहुने बताए । 



मन्त्री भण्डारीले अबको उद्योग र उद्यमशीलतालाई सूचना प्रविधिको माध्यमबाट अगाडि बढाउनका लागि नीति ल्याउने समेत तयारी भइरहेको उल्लेख गरे । उनले मन्त्रालयअन्तर्गतका कानुनलाई सुधार गरेर लगानी, प्रविधि र उद्योग स्थापना गर्न जोड दिइएको भनाइ राखे । उनले करमा सहुलियत हुन सके सूचना प्रविधिको विकास अझ बढी हुने पनि बताए । 

त्यस्तै, नेपाल चेम्बर आइटी कमिटीका अध्यक्ष विज्ञान श्रेष्ठले आइटी क्षेत्रमा लागेकाहरूलाई कम्तीमा पाँच वर्ष कुनै पनि कर नलिई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने बताए । एमाले विज्ञान तथा प्रविधि विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागी भएका उनले आइटी क्षेत्रमा लागेकाहरूलाई कम्तीमा पाँच वर्ष कुनै पनि कर नलिई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने बताए । 

पछिल्लो समय आइटी क्षेत्रमा विद्यार्थीको आकर्षण पनि बढिरहेको छ । थुप्रै कलेजले यस विषयलाई महत्त्व दिएर पढाइरहेका छन् । तर, यतिले मात्र नपुग्ने उनको तर्क छ । ‘लाखौँ रोजगार क्लाउडमा छन्,’ उनी भन्छन्, ‘सरकारले ठूलो मात्रामा रोजगारी सिर्जना गर्न सक्दैन । त्यसैले नेपाली समुदायका लागि ती लाखौँ रोजगारी कसरी प्राप्त गर्ने भन्ने नीतिमा ध्यान दिनुपर्छ । विद्यालय स्तरबाट आइटी सीपहरूमा फोकस गर्नुपर्छ ।’



हालसम्म नेपालमा आइटी क्षेत्रले जति पनि उपलब्धि गरेको छ, त्यो निजी क्षेत्रले आफ्नो क्षमताका आधारमा गरेका छन् । सबै फ्रीलान्सरहरू र स्टार्टअपहरूलाई पहिचान गरेर प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ छ । उनका अनुसार उनीहरू अब नेपालको भविष्य परिवर्तन गर्ने मुख्य निर्माता हुन् । नेपालमा सूचना प्रविधिको क्षेत्रमा सम्भावना धेरै रहेको छ। अहिले नेपालमै बसी बसी युवाहरूले आइटी क्षेत्रमा काम गरेर राम्रो आम्दानी गरिरहेका छन् । 

अहिले पनि नेपालले वार्षिक अर्बौँ रुपैयाँको आइटी सेवा निर्यात गर्दै आएको छ । आइटी क्षेत्रको सीप हुनेले राम्रो आम्दानी गर्न सक्छन् । आइटी क्षेत्रले नेपालको सामाजिक तथा आर्थिक रूपान्तरणमा ठूलो भूमिका खेल्न सक्छ । त्यसका लागि सरकारले कानुनी झन्झट, जनशक्ति, पूर्वाधारलगायतमा  सहजीकरण गरिदिनुपर्ने श्रेष्ठ बताउँछन् ।  

  • प्रकाशित मिति : २ फागुन, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया