बेइजिङ – चिनियाँ एजेन्टलाई महत्वपूर्ण सैन्य गोपनीयता दिएको अभियोगमा अमेरिकी गुप्तचर संस्था (सिआइए) का एक पूर्वअधिकारीलाई २० वर्षको जेल सजाय तोकिएको छ ।
गत जुनमा ६२ वर्षीय केभिन मालाेरीविरुद्धकाे अभियाेगमा दुई सातासम्म सुनुवाई भएकाे थियाे । जसबाट उनले कैयाैं अमेरिकी गाेप्य सूचना चीनलाई उपलब्ध गराएकाे पुष्टि भएपछि जेल सजाय ताेकिएकाे अमेरिकी न्याय विभागले जनाएकाे छ । चीनलाई २५ हजार डलरमा गोप्य विवरण बेचेको आरोपमा उनीविरुद्ध मुद्दा चलाइएको थियो।
मलोरी भर्जिनिया राज्यस्थित लिसबर्गका बासिन्दा हुन्। उनी सिआइएकाे उच्च तहको सुरक्षा संयन्त्रमा रहेको र अति नै संवेदनशील कागजातको पहुँचमा समेत हुने गरेको बताइएको छ।
अदालतमा भएको सुनुवाई प्रक्रियामा उनीविरुद्धको अभियोग पुष्टि गर्नका लागि सिसिटिभी फुटेज पेश गरिएको थियो। सो फुटेजमा उनले पोस्ट अफिसमा महत्वपूर्ण वर्गीकृत कागजातलाई स्क्यानिङ गरेर डिजिटल मेमोरी कार्डमा राखिरहेको देखिएको छ।
चिनियाँ एजेन्ट भेट्न उनी सन् २०१७ मा चीनको संघाई गएको पनि अमेरिकाको न्याय विभागलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।
यही महिनाको सुरुवाततिर सिआइएकै पूर्वअधिकारी जेरी चुन सिङ लीलाई पनि चीनका लागि जासुसी गरेको अभियोगमा दोषी ठहराइएको थियो। त्यसैगरी गत जुनमा पूर्वअमेरिकी गुप्तचर अधिकारी रोन रकवेल हान्सेनलाई पनि चीनका लागि जासुसी गर्न प्रयास गरेको अभियोग लागेको थियो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।