३ फागुन, २०८२ आइतबार
Feb. 15, 2026

लुम्बिनीमा बजेटको २४.९१ प्रतिशत खर्च, मुख्यमन्त्री भन्छन्- आलोचनालाई चिर्न अब खर्च बढाउँछौँ

लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको हालसम्म कुल बजेटको २४.९१ प्रतिशत खर्च गरेको छ । चालु वर्षमा ३८ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । यसमा पुँजीगततर्फ २४ अर्ब ५८ करोड र चालु खर्चतर्फ ११ अर्ब २४ करोड विनियोजन गरिएको थियो ।

प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयले आज आयोजना गरेको अर्धवार्षिक समीक्षामा चालु आर्थिक वर्षको फागुन ३ गतेसम्मको तथ्याङ्कअनुसार पुँजीगत खर्च २२.८३ प्रतिशत र चालु खर्च २८.४७ प्रतिशत रहेको सार्वजनिक गरिएको छ । 



आर्थिक मामिला तथा योजना मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित अर्धवार्षिक समीक्षामा मुख्यमन्त्री चेतनारायण आचार्यले चालु आर्थिक वर्षमा विनियोजन भएको पुँजीगत बजेटको कार्यान्वयन र भुक्तानीलाई विशेष ध्यान दिन मातहतका निकायलाई निर्देशन दिए । उनले प्रदेश सरकारले पुँजीगत खर्च गर्न नसकेको भन्ने आलोचनालाई चिर्न खर्चलाई प्रभावकारी रूपमा बढाउनुपर्नेमा जोड दिए । 

‘वैशाख महिनालाई अन्तिम भुक्तानीको महिना बनाउन सक्ने हो भने धेरै समस्या हल भएर जाने थिए,’ मुख्यमन्त्री आचार्यले भने, ‘अन्य प्रदेशको तुलनामा माघ मसान्तसम्म लुम्बिनी प्रदेशको पुँजीगत खर्च सबैभन्दा राम्रो छ । तर यसलाई निरन्तरता दिनेगरी काम गरौँ ।’



सङ्घीय सरकारबाट प्राप्त समानीकरण, ससर्त तथा विशेष अनुदानका कार्यक्रम कार्यान्वयनमा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए । सङ्घबाट प्राप्त भएको बजेट कार्यान्वयन नभएमा फिर्ता नहुने गरी कार्यान्वयन गर्न जोड दिनैपर्ने उनले बताए । 

मुख्यमन्त्री आचार्यले टुक्रे आयोजना निरुत्साहित गर्न योजना छनोटमा कठोर बन्नुपर्ने धारणा राख्दै प्रदेश सरकारले बहुवर्षीय आयोजनालाई प्राथमिकता दिने स्पष्ट पारे । ‘हामीले टुक्रे आयोजनालाई निरुत्साहित गर्न बहुवर्षीय आयोजनालाई प्राथमिकतामा राख्नुपर्छ,’ उनले भने, ‘राजनीतिक तहबाट पनि यसबारे छलफल अघि बढाउनुपर्छ ।’ 



  • प्रकाशित मिति : ८ फागुन, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया