[भारत] 'एक्जिट पोल'माथि ममताको टिप्पणी– 'भोटिङ मेसिन गडबड गर्न गसिप चलाइयाे'

नयाँ दिल्ली– भारतमा लोकसभा निर्वाचनअन्तर्गत सात चरणको मतदान सकिएको छ । मतगणना भएर मतपरिणाम आउन ३ दिन बाँकी छ । यद्यपि, भारतीय मिडियहरुले मतदान गरेर निस्किएका मतदातामाझ सर्वेक्षण गरी ‘एक्जिट पोल’को नतिजा दिइसकेका छन् । ‘एक्जिट पोल’ले मतदान सकिएलगत्तै मतपरिणामको मोटामोटी अनुमान दिन्छ, जुन विश्वभरको अभ्यासमा लगभग मिल्ने गरेको छ । 

भारतीय मिडियाहरुले गरेका १० एक्जिट पोलमध्ये ९ ले सत्तारुढ भाजपा नेतृत्वको गठबन्धन एनडिएले स्पष्ट बहुमत ल्याउने देखाएका छन् । मिडियाहरुको यो प्रक्षेपणबाट भाजपाविरुद्ध एक भएका विपक्षी दलहरु भने रुष्ट देखिन्छन् । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीसहित प्रधानमन्त्री मोदीका आलोचक विपक्षी नेताहरुले एक्जिट पोलको नतिजालाई नकारेका छन् । 

आइतबार ट्विट गर्दै मुख्यमन्त्री बेनर्जीले एक्जिट पोललाई ‘गसिप’को संज्ञा दिइन् । यति मात्र होइन, एक्जिट पोलभित्र सत्तारुढ दलको षड्यन्त्र लुकेको उनले आरोप लगाइन् । भाजपाले इभिएम (इलेक्ट्रोनिक भोटिङ मेसिन) मा गडबडी गरी परिणाम आफ्नो पक्षमा पार्न मिडियाहरुलाई प्रभावमा पारेर यस्तो प्रक्षेपण गर्न लगाएको ममताको आरोप छ । 

मुख्यमन्त्री ममता बेनर्जीले दिल्लीका मिडियाले विश्वसनीयता गुमाएको समेत भन्न भ्याइन् । तथाकथित एक्जिट पोलहरुले केवल भ्रमित गर्ने भन्दै उनले आफू जनताको फैसलाको प्रतीक्षामा रहने उल्लेख गरिन् । 

प्रधानमन्त्री मोदीले सातौँ चरणको मतदानअघि ३०० भन्दा बढी सिटको दाबी गरेका र सबैजसो एक्जिट पोलको नतिजा यसैसँग मिलेको भन्दै ममताले इभिएममा गडबडी गर्न यस्तो गरिएको आरोप लगाइन् । 



भारतमा इभिएमको विश्वसनीयतामाथि प्रश्न उठेको यो पहिलोपटक भने होइन । यसअघिका चुनावमा पनि प्रतिपक्षी नेताहरुले सत्तापक्षमाथि इभिएममा गडबडी गराएको आरोप लगाउने गरेका छन् । 



  • प्रकाशित मिति : जेठ ६, २०७६ साेमबार ९:१९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया