बङ्गलादेशका सेना प्रमुखले गत अगस्टमा सरकारलाई अपदस्थ गर्ने विद्यार्थी नेतृत्वको क्रान्तिको लाभ जोखिममा रहेको चेतावनी दिँदै कानुन र व्यवस्थामा गिरावटका लागि मङ्गलबार अन्तरद्वन्द्वलाई दोष दिएका छन् ।
दक्षिण एसियाली यस राष्ट्रले हिंसात्मक अपराधमा भएको वृद्धिलाई रोक्न सङ्घर्ष गरिरहेको छ । सुरक्षा बलले यस महिना हजारौँलाई गिरफ्तार गरेको छ भने अपदस्थ प्रधानमन्त्री शेख हसिनाको पार्टीसँग सम्बन्धित गिरोहहरूलाई लक्षित गरिएको छ।
‘यदि तपाईं आफ्ना मतभेदहरू नाघेर आपसमा हस्तक्षेप र लडाइँ जारी राख्नुहुन्छ भने देशको स्वतन्त्रता र अखण्डता जोखिममा पर्नेछ । म तपाईंहरूलाई चेतावनी दिन्छु’, जनरल वाकर–उज–जमानले सेनाको स्मारक कार्यक्रममा कुनै पनि समूहको नाम नलिई भने, ‘सरोकारवालाहरू एकअर्कालाई दोष दिन व्यस्त भएकाले उपद्रवीहरूले परिस्थितिलाई अनुकूल ठान्छन् । उनीहरू विश्वास गर्छन् कि उनीहरू जे पनि गरे पार पाउन सक्छन् ।’
यस महिना भीडले हसिनाको परिवारसँग जोडिएका भवन ध्वस्त पारेको भन्दै भएको विरोध प्रदर्शनका साथै बढ्दो अपराधका कारण बङ्गलादेश प्रभावित भएको छ ।
गत हप्ता विश्वविद्यालय परिसरमा प्रतिद्वन्द्वी विद्यार्थी गुटहरूबीच झडप भएको थियो । यो हसिनाविरुद्धको विद्रोहलाई उप्रेरित गर्ने समूहबीचको गम्भीर कलहको सङ्केत हो ।
सुरक्षा बलले ८ फेब्रुअरीमा ‘अपरेसन डेभिल हन्ट’ सुरु गरेदेखि ८ हजार ६ सयभन्दा बढी मानिसलाई पक्राउ गरेको छ । उनीहरूमाथि सरकारले हसिनाका वफादार भएको र देशलाई ‘अस्थिर’ बनाउन चाहेको आरोप लगाएको छ ।
‘हामीले देखेको अराजकता हामीले निर्माण गरेका हौँ’, वाकरले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।