महफिलमा बुद्धिसागरको गजल र गजल यात्रा

काठमाडौं– विश्व प्रसिद्ध लेखक मार्खेज कुनै कार्यक्रममा बोल्नुपर्दा डराउँथे र काँप्थे । कुनै कार्यक्रममा बोलाइँदा भाषण गर्नुपर्ने डरले उनी कहिले बिरामी भएको त कहिले कतै काममा व्यस्त भएको बहाना बनाउँथे । एक दिन उनलाई कार्यक्रममा बोल्नुपर्ने कुरा पक्का भइसकेको थियो । त्यसैका लागि दाह्री काट्न गए । त्यतिवेला पनि उनी हजामले झुक्किएर घाँटी काटिदेओस् ता कि मलाई भाषण गर्न नपरोस् भन्दै कल्पन्थे । 

गजलकार बुद्धिसागरले गजल कार्यक्रम ‘महफिल’को २०औँ शृंखलामा सुनाएको प्रसंग हो यो । सो प्रसंग आफूमा जोड्दै उनले भने, ‘आज मलाई पनि यस्तै लाग्दै छ ।’ तर, बुद्धिसागरमा कुनै डर देखिएको थिएन । दर्शकदिर्घामा बसेका सबैले उनका कुरा ध्यान दिएर सुनिरहेका थिए । उनी निर्धक्कका साथ आफ्ना कुरा सुनाइरहेका थिए । खासमा बुद्धिसागर आफ्नो गजल र गजलयात्रा सुनाउन त्यहाँ उपस्थित थिए । 

केही वर्षयता प्रत्येक २–२ महिनाको अन्तरालमा २–२ जना गजलकारले महफिलमा गजल सुनाउँदै आएका छन् । तर, आज सर्वनामको त्यो कालो ब्ल्याक बक्स (प्रेक्षालय)मा रंगीविरंगी लाइटले सजाइएको सेटको बीचमा आज बुद्धिसमगर मात्रै छन् । सर्वनामका निर्देशक अशेष मल्लले फूलमाला लगाएर स्वागत गरेपछि उनले आफ्नो कुरा सुरु गरे ।

उनी गजल सँगसँगै आफ्नो गजल यात्राबारे रोचक ढंगबाट कथा जस्तै गरी सुनाइरहेका थिए । यही क्रममा उनले विगत सम्झिए– ‘२०५२–०५३ तिर मैले पहिलोचोटि गजल लेखेँ, त्यो मिलेको थियो÷थिएन, थाहा भएन । एउटा रेडियो कार्यक्रममा पठाएँ, नभन्दै वाचन भयो ।’ त्यसपछि उनले शिक्षक, साथीभाइबाट प्रशंसा पाए । यही प्रेरणाले उनले लगातार रेडियोमा गजल पठाउन थाले । उनले सुनाए, ‘६ वर्षसम्म रेडियोमा पठाएँ । यो समयमा लगभग १२–१३ सय गजल वाचन भए ।’ यसले उनको कलम झन् तीब्र गतिमा चल्न थाल्यो ।

‘यसरी मेरो गजल लेखन सुरुवात भयो र मैले आफूलाई चिन्ने मौका पाएँ,’ उनले भने, ‘म कुनामा बसेर लेख्न रुचाउने मान्छे रहेछु र मलाई सबैभन्दा आनन्द र प्रफुल्ल हुने विधा लेखन नै हो ।’ उनलाई गजलले यही कुरा सिकायो । 



भनिन्छ, गजल आफैँमा शृंगारिक विधा हो । सामान्यतः साहित्यमा पाइला टेक्नेहरू गजलमार्फत नै आउने गर्छन् । त्यसमा पनि प्रेमसम्बन्धी गजल । बुद्धिसागर पनि यो कुराबाट अछुतो रहेनन् । उनले पहिलोपटक लेखेको गजल सुनाए :

पानी पानी भयो अधर यो झरीमा
बहुलाए फेरि नजर यो झरीमा
जहाँ गयो पुग्छ नदी पिरतीको
कहाँ पाइन्छ र बगर यो झरीमा
आगो लाग्यो जल्यो थोपा थोपा पानी
अरू के नै हुन्छ खबर यो झरीमा 
जानाजानी भयो पाप मीठोमीठो
पापी बन्यो सारा सहर यो झरीमा



माहोल हेर्दा लाग्थ्यो, दर्शक ‘वाहवाह, क्याबात क्याबात भन्न एकदमै आतुर थिए । तर, तालि बजाउन छाडेर गम्भिर भएर सुनिरहेका थिए ।  पहिलो गजलवाचन पछि भने तालीको वर्षात् भयो । हाँस्दै उनले फटाफट अर्को गजल सुरु गरे :

उही हो नि नीलो पानी धार बदलिएछ
व्यापार हुन्छ जिन्दगीको बजार बदलिएछ...

दोस्रो गजल सकेर उनी फेरि आफ्नो गजलयात्रातिरै फर्किए । रेडियोमा वाचन भएपछि उनलाई पत्रिकामा छापिएको हेर्ने रहर जाग्यो । यही रहर पूरा गर्न उनी काठमाडौं आइपुगे । काठमाडौं आएर मधुपर्क, गरिमा पढ्ने वर्षौंदेखिको प्यास पनि मेट्ने मौका पाए । 

गाउँमा हुँदा पत्रिका पढ्न नपाएको सम्झिए, ‘कर्णालीमा हुँदा पत्रिका पाइँदैन थियो । व्यापारीलाई पत्रिका ल्याइदेऊ न भनेर पैसा दिएर पठाउँथेँ, तर, उनीहरूले गृहलक्ष्मी भन्ने पत्रिका लगिदिन्थे ।’ प्रेक्षालयमा हाँसो गुन्जियो । उनी पनि मुसुक्क मुस्कुराए । 

एक दिन उनले बानेश्वर चोकबाट भएभरको पत्रिका किनेर लगे । तर, समाचार पढ्न भने होइन, पत्रिकाका कार्यालयको ठेगानाका लागि । उनले भने, ‘गजल लेख्दै सडक छेउको पत्र मञ्जुषामा छिराइदिन्थेँ ।’ 

‘पत्रिकाको ठेगानामा पठाएको गजल छापियो होला भनेर कुरेर बस्थेँ, तर आउँदैनथ्यो । यसले मलाई निराश बनाउँथ्यो ।’ एक दिन उनले माइतीघर मण्डलाको छेउमा रहेको पत्रमञ्जुषामा चिठी बाहिर निस्किरहेको देखे । उनलाई अचम्म लाग्यो । उनले भने ‘गजल छापियो कि भनेर एक–दुई महिनासम्म कुरेर बस्थेँ, तर हुलाकीले त्यो पत्र कहिल्यै पुर्याएकै रहेनछ ।’ उनले अगाडि सुनाए ‘सन्ध्याकालीन पत्रिकामा गजल छापिन्छ भन्ने थाहा पाएँ ।  त्यसको कार्यालय पत्ता लगाएर एकदिन १० बजे नै गएर गजल बुझाएँ र बेलुका ३ बजे त छापिएछ । म एकदमै खुसी भए ।’

उनलाई के खोज्छस् कानो आँखो भनेजस्तै भयो । त्यसपछि उनको लगातार ५०–६० वटा गजल सन्ध्याकालीनमा छापियो । उनलाई साप्ताहिक पत्रिकातिर छाप्ने इच्छा जाग्यो । उनले सम्झिए ‘साप्ताहिक पत्रिका जुन दिन निस्किन्थ्योे त्यो दिन कार्यालय बन्द हुन्थ्यो । म त्यसै दिन बन्द सटरको मुनिबाट गजल छिराइदिन्थँे । अर्को साता छापिएर आउँथ्यो ।’ त्यसपछि काठमाडौंबाट निस्किने सबैजसो साप्ताहिकमा उनका गजल छापिन थाले  । महफिलको कार्यक्रममा उनले तिनै गजल सुनाइरहेका थिए । उनी फेरि गजलतिरै तानिए :

आँखाको यो आकाश चर्कियो उसैगरी
उही रुझ्यो सपना दर्कियो उसैगरी 
एक लास चिहानमा चढाइ फूलपाती
उही हिक्का छाडेर फर्कियो उसैगरी

यसरी उनले गजलको वर्षा गर्न थालेपछि कवि प्रोल्लास सिन्धुलियाले बुद्धिसागरलाई गजलको पुस्तक निकाल्न सुझाब दिए । आफू यसका लागि तयार रहेको बताउँदै उनले भने, ‘पत्रिकामा मेरो गजल आयो भनेर साथीहरूलाई पढ्न दिन्थेँ, तर उनीहरू पछि पढौँला भनेर बटारेर पछाडिको गोजीमा हाल्थे ।’ यो देखेर उनलाई रिस उठ्थ्यो । हाँस्दै उनले भने, ‘त्यसैले अब बटार्न नमिल्ने खालको मोटो पुस्तक निकाल्छु ।’ हाँस्दै फेरि अर्को गजल सुरु गरे ः

बचेराले ठुङ्ने आमाको यो कथा
घोडाशिर चढ्ने मामाको यो कथा
धुवाँसँगै खुल्छ बिहानीको दैलो
गल्लीभित्र आलु–तामाको यो कथा

यसरी उनले आफ्नो संघर्षका कथासँगै आफ्नो गहन धारणा, विचार, सोच, दृष्टिकोण, कल्पनाशीलता प्रस्तुत गरिरहेका थिए । उनका गजल प्रेम मात्रै होइन,  सामाजिक मुद्दाकेन्द्रित गजल पनि धेरै लेखेका छन् । 

खुल्ला आकाशमा जून रोयो
फुटेको बाँसुरीमा धुन रोयो ।
कता छ जुम्ला कता हुम्ला
खच्चडको पिठ्युँमा नुन रोयो । 
गएकै छन्, आएकै छन् मदनहरू
मुनासँगै ल्हासाको सुन रोयो ।
बगेन यो भूमिमा एक थोपा पसिना 
पराईको भूमिमा नेपाली खुन रोयो ।
निर्दोष नै बाँधिए नेल र हतकडीमा
कठघरामा कठै कानुन रोयो ।

उनलाई एउटा गजलकार र लेखक वा कविको रूपमा चिनाउने यही गजल हो । जुन गजल २०५६ सालको राष्ट्रिय गजल प्रतियोगितामा प्रथम भएको थियो । उनले भने, ‘मेरो जीवनमा धेरै ठूलो भूमिका खेलेको छ यो गजलले ।’ उनले आफ्नो अन्तिम गजल सुनाएर त्यहाँबाट बिदा भए । 

भोकै मरे बचेरा ती सारा जलेपछि
आगो पिई बाँचे कति धारा जलेपछि
पक्कै कहीँ हुन सक्छ केही उथलपुथल 
सोच्नुहोस् है पानी–पानी रारा जलेपछि 

बुद्धिसागरले गजल वाचन गर्नुअघि नै उनको उपन्यास ‘कर्णाली ब्लुज’, र ‘फिरफिरे’माथि क्रमशः प्रतीक्षा पराजुली र अनुपा खनालले पाठकीय दृष्टिकोणबाट समीक्षा गरेका थिए । मनोजराज शिवाकोटीले उनका दुईवटा गजल गाएका थिए ।

गोधुली साहित्य प्रतिष्ठान प्रायोजनमा सर्वनामले प्रस्तुत गरेको महफिलको अन्त्यमा गोलाप्रथाद्वारा आठजना  दर्शक छानेर उनीहरूलाई उपहारस्वरुप बुद्धिसागरका पुस्तक दिइएको थियो । 

  • प्रकाशित मिति : जेठ ६, २०७६ साेमबार १६:३१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया