सुडानको खार्तुमको बाहिरी इलाकामा रहेको एक आवासीय क्षेत्रमा एउटा सैन्य यातायातको विमान दुर्घटना हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको खार्तुमको राज्य सञ्चालित समाचार संस्थाले बुधबार जनाएको छ । उक्त घटनामा कम्तीमा १० जना घाइते भएको जनाइएको छ ।
सेनासमबद्ध स्वास्थ्य मन्त्रालयले विमानमा सवार १९ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
राजधानीको उत्तरपश्चिममा रहेको ओमदुरमानमा रहेको सेनाको सबैभन्दा ठूलो सैन्य केन्द्र वादी सेडना एयर बेस नजिकै मङ्गलबार राति एन्टोनोभ विमान दुर्घटनाग्रस्त भएको थियो ।
सन् २०२३ को अप्रिलदेखि अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) सँग युद्धरत रहेको सेनाले सङ्ख्या उल्लेख नगरिकन ‘उडान भर्नेक्रममा विमान दुर्घटना हुँदा सैनिक र सर्वसाधारण दुवैको मृत्यु भएको’ जनाएको छ ।
प्रत्यक्षदर्शीहरूले ठूलो विस्फोटको आवाज सुनेको र त्यस क्षेत्रमा थुप्रै घरहरू क्षतिग्रस्त भएको देखेको बताएका छन्। दुर्घटनाका कारण आसपासका क्षेत्रमा पनि विद्युत् आपूर्ति बन्द भएको छ ।
सेनासमर्थित स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भग्नावशेषमुनि रहेका बाँकी मृत शरीर खोजी कार्य जारी छ ।’
आकस्मिक सेवाका कर्मचारीले बालबालिकासहित घाइते सर्वसाधारणलाई नजिकैको अस्पतालमा पु¥याएको मन्त्रालयले जनाएको छ । घटनामा परी कम्तीमा १० जना घाइते भएको बताइएको छ ।
एक सैन्य स्रोतका अनुसार दुर्घटनाको पछाडि प्राविधिक खराबी रहेको थियो । ‘विमानमा प्रविधिक खराबीका कारण दुर्घटना भएको प्रारम्भिक जानकारी मिलेको छ,’ आफूले पाएको तर आफू सञ्चारमाध्यमसँग कुरा गर्ने अख्तियार प्राप्त व्यक्ति नभएकोले नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले एएफपीसँग भने ।
सेना प्रमुख अब्देल फतह अल बुरहान र आरएसएफका पूर्वडेपुटी कमाण्डर मोहम्मद हमादान डग्लोबीच करिब दुई वर्ष लामो द्वन्द्वमा यी घटनाले तीव्रता पाएका छन् ।
संयुक्त राष्ट्रसंघले सुडानलाई विश्वकै सबैभन्दा खराब मानवीय विपत्तिको रुपमा व्याख्या गरेको द्वन्द्वमा यी दुई नेता प्रतिद्वन्द्वी बनेका छन्, जसका कारण दशौं हजार मानिसको ज्यान गएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।