१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

समावेशी कक्षाकोठाको व्यवस्थापन : फरक पक्षलाई पहिचान गर्न आवश्यक

महिला समानता, सशक्तीकरण, महिला अधिकार तथा न्यायका लागि आफूहरूबाट नै सुरुवात गर्नुपर्ने सरोकारवालालाई बताएका छन् ।


११५औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा खबर एजुकेशनको आयोजना र एजुकेशन फर द नेक्सटजेन तथा न्यू मिलेनियम स्कुलको संयोजनमा शिक्षा क्षेत्र विकासमा महिलाको भूमिकासम्बन्धी छलफल कार्यक्रममा सरोकारवाला पक्षले उक्त कुरा बताएका हुन् ।



यसैगरी शिक्षा क्षेत्र विकासमा महिलाको भूमिकासँगै समावेशी कक्षाकोठाको व्यवस्थापन विषयमा पनि छलफल गरिएको थियो । कार्यक्रमका प्रमुख वक्ता तथा नेपाल सरकारका सचिव डा. हरिप्रसाद लम्सालले समावेशी कक्षाकोठाको सन्दर्भमा बोल्दै व्यक्ति वा समूहका बीचमा हुने फरक पक्षलाई पहिचान र सम्बोधनका लागि विभिन्न कानुन एवं नीति कार्यक्रम तर्जुमा गरी नेपाल सरकारले कार्यान्वयनमा ल्याएको बताए ।

कक्षाकोठामा फरक पक्ष चिनेर त्यसलाई सम्बोधन गर्न उपयुक्त सहयोग उपलब्ध गराउने कार्य नै त्यसको सही उपचार हुने र फरक पक्षलाई सकारात्मक ढंगबाट थप सहयोग गर्नु वा सकारात्मक ढंगको फरक व्यवहार गर्नु नै समता रहेको उल्लेख गरे ।



यस अवस्थामा रहेका बालिकाहरूलाई निःशुल्क शिक्षा र शिक्षा अधिकारको रूपमा स्थापित छ भनेर मात्रै नपुग्ने  बताउँदै उनीहरूमाथि न्यायपूर्ण अवस्था सृजनासँगै सामाजिक सुरक्षा पनि चाहिने उनको भनाइ छ ।

‘समावेशीता भनेको सेन्स अफ विलोङ्गीनेश अर्थात् म पनि सबैसँग सँगै छु वा सँगै समाहित छु भन्ने भावना आत्मसाथ गर्नु गराउनु हो । महसुस गराउनु हो । यस्तो अपनत्व वा विलोङ्गीनेशका लागि सुरुमा भौतिक उपस्थितिले पनि अर्थ राख्छ, जब भौतिक उपस्थिति हुन्छ, अनि फरक व्यक्तिलाई सुन्ने वातावरण छ कि छैन भन्ने हुन्छ, अनि क्रमशः निर्णय प्रक्रियामा सहभागिताको प्रश्न आउँछ,’ उनले भने । 

न्यू मिलेनियम स्कुल तथा एजुकेशन फर द नेक्सटजेनका संस्थापक अध्यक्ष प्रविज्ञ रेग्मीले समावेशी कक्षाकोठाको सन्दर्भमा बोल्दै कयौँ अवस्थामा जानेर वा नजानेर फरक किसिमको व्यवहार गर्ने गरिएकोले हेर्दा फरक, विचारमा फरक भएपनि सबै समान हुने बताए ।

समावेशीको परिभाषा यही नै हो भनेर भन्न नसकिने यसको परिभाषा भेग भएपनि यसलाई विचार गरेर व्यवहारमा प्रयोग गर्न आवश्यक रहेको उनको भनाइ छ ।



उनले भने, ‘हामीले कतै न कतै भित्रपट्टि एउटा संस्कार लिएर आएका छौँ । यदि हामी सचेत भयौँ भने यसलाई विस्तारै हटाउन सकिन्छ । त्यही भएर हामीले स्कुलमा विद्यार्थीलाई सामाजिक अध्ययनमा पाठ्यक्रमसँग जोडेर यस्ता मूल्य मान्यतालाई घटाउँदै लैजान सकिन्छ ।’

सहभागीहरूले सोधेको प्रश्नको जवाफमा उनले न्यूमिलेनियम स्कुलको उदाहरण दिँदै स्कुलमा समावेशी कक्षाकोठालाई महत्वका साथ प्रयोग गरिरहेको र हरेक विद्यार्थीको सिक्ने तरिका फरक हुने भएकाले एउटै मात्रै तरिकाले सबै विद्यार्थीलाई सँगै सिकाउँदा प्रभावकारी नहुने बताए । यसरी सिकाउँदा एउटा तरिकाले एउटा विद्यार्थीलाई काम लागे पनि अर्को विद्यार्थीलाई  काम नलाग्न सक्ने र  कुनै पनि पाठ पढाउँदा विद्यार्थीहरूको क्षमता पहिचान गरेर त्यसै अनुसार फरक फरक योजना बनाएर पढाउन आवश्यक रहेको उनको भनाइ छ ।

ज्ञानोदय माध्यमिक विद्यालयकी प्रधानाध्यापक विष्णु रिमालले नारी दिवसको विषयमा बोल्दै महिलाहरूले पुरुषहरूको हात समात्दै पुरुषहरू पुगेको ठाउँमा पुग्नुपर्ने र अवसर पाएको खण्डमा हरेक काम गर्न सक्षम भएको बताइन् । साथै समावेशी कक्षाकोठाको सन्दर्भमा संस्थागत विद्यालयहरूले गरेको अभ्यास तथा सिकाई विधि सामुदायिक विद्यालयहरूलाई पनि सिकाउन आवश्यक रहेको र त्यसका लागि साझेदारी गर्नुपर्नेमा जोड् दिइन । 

११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विद्यालय शिक्षाको विकासमा योगदान दिइरहेका महिला शिक्षासेवी तथा शिक्षकलाई सम्मान गरिएको छ ।

शुभतारा स्कुलकी संस्थापक निर्देशक रानी कक्षपति, गुहेश्वरी बाल शिक्षा माध्यमिक विद्यालय थापाथलीकी गणित शिक्षक अनूपमा शर्मा र धुम्रबराह  माध्यमिक विद्यालयकी प्रधानाध्यापक सुजाता राजलवटलाई सम्मान गरिएको हो ।

११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा खबर एजुकेशन र एजुकेशन फर द नेक्सटजेन तथा न्यू मिलेनियम स्कुलको सहकार्यमा आयोजित शिक्षा क्षेत्र विकासमा महिलाको भूमिका सम्बन्धी छलफल कार्यक्रममा महिला शिक्षासेवी तथा शिक्षकलाई सम्मान गरिएको छ ।

रानी कक्षपतिले उत्कृष्ट शिक्षा नेपालमै दिन सकिन्छ भन्ने उद्देश्यले शुभतारा स्कुलको स्थापना गरी विद्यालय शिक्षामा नयाँ आयाम थप्न उनको योगदान रहेको छ ।

यसैगरी २०६७ सालको एसएलसीमा गणित विषयको नतिजाका आधारमा उत्कृष्ट शिक्षकका रूपमा सम्मानित भइसकेकी अनूपमा शर्माले विद्यालय शिक्षामा २०८० पुस २६ गतेबाट बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, शिक्षा तालिम केन्द्र धुलिखेलको विस्तारित तालिम केन्द्र काठमाडौं उपत्यकाको प्रशिक्षकका रूपमा कार्यरत रही सामुदायिक विद्यालयका शिक्षकहरूको क्षमता अभिवृद्धिमा लागिरहेकी छिन् ।

  • प्रकाशित मिति : २२ फागुन, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया