१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

युरोपलाई धन्यवाद दिँदै जेलेन्स्कीले भने- हामी एक्लो छैनौँ

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युरोपेली सङ्घ (इयु) का नेताहरूलाई युक्रेनको साथमा उभिएकोमा धन्यवाद दिएका छन् । 


बिहीबारको शिखर सम्मेलनमा इयुका सबै २७ सदस्य राष्ट्रका नेताहरू गत हप्ता ट्रम्प र जेलेन्स्कीबीच भएको विस्फोटक बैठकपछि पहिलोपटक एकसाथ आएका छन् । त्यसयता वासिङ्टनले सैन्य सहायता र खुफिया जानकारी साझेदारी निलम्बन गरेको छ । अमेरिकी सैन्य सहायता र खुफिया जानकारीले किएभलाई रुसको आक्रमणको सामना गर्न मद्दत गरेको थियो ।



‘हामी धेरै आभारी छौँ कि हामी एक्लै छैनौँ । र यी केवल शब्दहरू मात्र होइनन्’, इयुका प्रमुखहरू उर्सुला भोन डेर लेयेन र एन्टोनियो कोस्टाको साथमा उभिँदै युक्रेनी राष्ट्रपतिले वार्ता सुरु हुँदा पत्रकारहरूलाई भने ।

युरोपको सुरक्षाका लागि अमेरिकाको दीर्घकालीन प्रतिबद्धता अहिले शङ्कामा परेको छ र इयु यस क्षणको सामना गर्न दबाबमा छ । यसै हप्ता जर्मनीका सम्भावित अर्का नेताले रक्षामा ऐतिहासिक यु–टर्नको प्रतिज्ञा गरेका छन् । 



‘यो युरोपका लागि एउटा निर्णायक क्षण हो’, भोन डेर लेयनले भने । उनले रुसको खतराको सामना गर्न ‘युरोपलाई पुनः हतियारबन्द गर्न’ आठ खर्ब युरो जुटाउने उद्देश्यले एक योजना प्रस्तुत गरेका छन् । 

‘युरोपले स्पष्ट र वर्तमान खतराको सामना गरिरहेको छ, त्यसैले युरोपले आफ्नो रक्षा गर्न सक्षम हुनुपर्दछ’, उनले पत्रकारहरूसँग भने, ‘यो युक्रेनका लागि पनि निर्णायक क्षण हो, हामीले युक्रेनलाई आफ्नो रक्षा गर्ने र स्थायी र न्यायपूर्ण शान्तिका लागि दबाब दिने स्थितिमा राख्नुपर्छ ।’ 

नेताहरूले बिहीबार आयोगको रक्षा योजनाहरूलाई स्वीकृति दिने अपेक्षा गरिएको छ । यो मुख्यरूपमा राज्यहरूलाई धेरै खर्च गर्न स्वतन्त्र बनाउनेमा आधारित छ जुन इयुका दुई आर्थिक शक्तिशाली देशले गर्ने सम्भावना रहेको छ ।

शिखर सम्मेलनको पूर्वसन्ध्यामा एक गम्भीर राष्ट्रिय सम्बोधनमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले ‘नयाँ युग’ को सामना गर्न रक्षा खर्चमा वृद्धि गर्न आह्वान गरे । उनले फ्रान्सको आणविक प्रतिरोध युरोपेली साझेदारहरूमा विस्तार गर्नेबारे छलफल गर्ने बताए ।  



  • प्रकाशित मिति : २२ फागुन, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया