शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्शदाता निकायहरू, सबै प्रकारका सेवाग्राहीहरू तथा सरोकार पक्षहरूमा शैक्षिक परामर्श सेवा दिने र लिने कार्य सम्बन्धी सचेत गराएको छ ।
शैक्षिक परामर्श सेवा, भाषा शिक्षण कक्षा तथा तयारी कक्षा सञ्चालन अनुमति पाएका संस्थाहरूले मन्त्रालयबाट संस्था सञ्चालनका लागि पाएको स्वीकृति पत्र र आर्थिक वर्ष २०८१/८२ का लागि कार्य सम्पादन गर्न अनुमति पाएको नवीकरण पत्र सबैले देख्ने गरी राख्न भएको छ ।
त्यस्तै, वैदेशिक शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदा फ्री भिसा, रोजगारीको ग्यारेन्टी तथा डिपेन्डेन्ट भिसा उपलब्ध गराइने जस्ता प्रलोभनयुक्त प्रभाव नपार्ने, नवीकरणका साथ पेस भएका विदेशी शैक्षिक संस्थाले प्रतिनिधि तोकेका कागजातको आधिकारिकता पुष्टि खुल्ने लिङ्क सार्वजनिक गरी मन्त्रालयमा समेत पेस गर्नेसमेत भनेको छ ।
त्यसै गरी सेवा प्रदान गरेका विद्यार्थीहरूसँग भएको सम्झौता सहित अन्य अभिलेख दुरुस्त राख्न, आफ्नो संस्थाको परामर्शबाट वैदेशिक अध्ययन/तालिममा जाने विद्यार्थीहरूले प्राप्त गर्नु पर्ने एनओसीमा संस्थाको नाम अनिवार्य जनाउने व्यवस्था मिलाउने भनेको छ ।
मन्त्रालयबाट अनुमति प्राप्त नगरी शैक्षिक मेला, भेला तथा शैक्षिक प्रदर्शनी लगायता कार्यहरू नगर्ने, मन्त्रालयको अभिलेखमा कायम नरहेका विश्वविद्यालय तथा शिक्षण संस्थाहरूमा अभिलेखीकरण सम्बन्धी प्रक्रिया पुरा नगरी विद्यार्थीलाई अध्ययनको लागि सिफारिस नगर्ने, यस भन्दा अगाडी मन्त्रालयबाट जारी भएका सूचनाहरू कार्यान्वयन गर्न मन्त्रालयले निर्देशन दिएको छ ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।