२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

रुस-युक्रेनबीचको युद्धमा चाँदीको घेरा, अमेरिका के चाहन्छ ?

१३ दिनअघि अर्थात् १ मार्चमा अमेरिकाको भ्रमणमा रहेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र उनका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा छलफलकै क्रममा चर्काचर्की भयो ।  


दुई राष्ट्रपतिबीच भएको वार्ता सुरुमा सौहार्दपूर्ण रहेको बताइए पनि टेलिभिजन क्यामेराका सामुन्ने अमेरिकी उपराष्ट्रपति जेडी भान्सले जेलेन्स्कीलाई कूटनीतिक मर्यादाविपरीत होच्याउने शब्द वाण प्रहार गरे । 



भान्सले अमेरिकाले युक्रेनलाई गरेको सैन्य सामग्री र आर्थिक सहयोगप्रति पहिला कृतज्ञता व्यक्त नगरेको आरोप लगाए । छलफल चलिरहँदा उपराष्ट्रपति भान्सले आगोमा घ्यू थप्ने काम गरे । त्यसपछि ट्रम्पले जेलेन्स्कीलाई रोके । जेलेन्सकीले भान्ससँग बोल्न नजानेको भन्दै  तेस्रो विश्व युद्ध निम्त्याउन खोजेको ठाडो आरोप लगाए । 



त्यति मात्रै होइन, युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई ह्वाइट हाउसबाटै निकालियो । जुन कुरा अप्रत्याशित थियो । ट्रम्पले रुससँग शान्ति सम्झौता नगरे युक्रेनलाई दिँदै आएको सहयोग रोकिने र अमेरिकाले दिँदै आएको सबै सहयोग बापतको भुक्तानीसमेत गर्नुपर्ने चेतावनीसमेत दिए । 

उता जेलेन्सिकीले आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्झौता नगर्ने बताए । अमेरिकी नेतृत्वबाट अपमानित भएका जेलेन्स्की उतैबाट बेलायत पुगे । बेलायत पुगेका जेलेन्सिकीलाई बेलायती प्रधानमन्त्री किएर स्टार्मरले न्यानो स्वागत मात्रै गरेनन्, युक्रेनको सार्वभौमिकताप्रति युरोपेली राष्ट्रको समूह (इयू) को बैठक डाकेर आश्वस्त पार्ने काम गरे ।  

अमेरिका र युक्रेनबीच रहेको तिक्ततालाई मत्थर पार्न र नेटोमा अमेरिकी उपस्थितिकाबारे रणनीतिकरूपमा अमेरिकालाई साइजमा ल्याउने काम गर्‍यो । युक्रेनबारे अमेरिका र रुसबीच बन्नै लागेको क्षणिक स्वार्थको सम्बन्धलाई युद्धरत युक्रेन र रुसबीच युद्ध विराम र शान्ति वार्ता साउदी अरेबियाको जेद्दामागर्ने वातावरण बन्यो । अमेरिका-युक्रेन र अमेरिकी प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता भयो । वार्ताको मध्यस्थता साउदी अरेबियाले गरेको स्पष्ट छ । 

वार्तामा युक्रेनले ३० दिन युद्ध विराम गर्न तयार भयो भने अमेरिकाले युक्रेनलाई  सुरक्षा सहायता पुनः सुरु गर्ने तथा खुफिया जानकारी आदानप्रदानमा रोक नलगाउने प्रतिबद्धता जनायो ।  उच्चस्तरीय वार्तापछि जारी वक्तव्यमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले उच्चस्तरीय वार्तामा भएका सहमतिलाई अब रुस समक्ष प्रस्तुत गर्ने र त्यसपछिको कदम लिने पालो मस्कोको हुने बताएका छन् । उता, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले अहिलेको प्रस्ताव सकारात्मक रहेको र त्यस प्रस्तावमा रुसलाई मनाउने जिम्मा अमेरिकाले लिनुपर्ने बताएका छन् ।



उच्चस्तरीय वार्तापछि जारी संयुक्त वक्तव्यमा दुवै प्रतिनिधिमण्डलले आ–आफ्नो वार्ता टोली बनाएर युक्रेनको दीर्घकालीन सुरक्षा प्रदान हुने गरी दिगो शान्तिका निम्ति तत्काल वार्ता थाल्ने सहमति भएको उल्लेख छ । जेद्दामा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुसले सो प्रस्ताव स्वीकार गर्ने अपेक्षा आफूले गरेको जानकारी दिए । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले जेद्दामा भएको रचनात्मक वार्ताका निम्ति अमेरिकी समकक्षी ट्रम्पलाई धन्यवाद दिएका छन् । 

उनले एक भिडियो सन्देशमा रुसले युद्ध रोक्ने वा जारी राख्ने भन्ने स्पष्ट गर्नुपर्ने बताइसकेका छन् । रुसले भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । अमेरिकासँग वार्ता गरेपछि मात्र रुसले टिप्पणी गर्ने आकलन गरिएको छ । रुसले सन् २०२२ यता युक्रेनको २० प्रतिशत भू–भाग आफ्नोमा गाभिसकेको छ । 

दुई शक्ति राष्ट्रको भागबन्डामा युक्रेन पर्ला भन्न सक्ने स्थिति तत्कालका लागि छैन । तर, विश्वका अन्य देशमा नपाइएका र युक्रेनमा रहेको रेअर खनिज पदार्थमा अमेरिकाले हिस्सा खोजेको ट्रम्पले स्पष्ट पारिसकेका छन् । अमेरिकाले युक्रेनको सुरक्षाका नाममा जापान, दक्षिण कोरियालगायतका देशमा आफ्नो सैन्य अड्डा नै खडा गर्नेमा आशङ्का त छँदै छ ।  

  • प्रकाशित मिति : २८ फागुन, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया