शैक्षिक परामर्श व्यवसायी र नेपाल प्रहरीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार नेपाल शैक्षिक परामर्श व्यवसाय महासंघको आयोजनामा शैक्षिक परामर्श क्षेत्रमा रहेका विकृति, विसङ्गति तथा समस्या समाधानमा प्रहरीले पुर्याउन सक्ने सहजताका सम्भाव्यताका विषयमा छलफल गर्न उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको उक्त कार्यक्रममा शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित गर्न प्रहरीले खेल्ने भूमिका, सहजीकरणलगायत सम्भावित विषयमा छलफल गरिएको थियो ।
नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बरालले नेपाल प्रहरी र नेपाल शैक्षिक परामर्श व्यवसाय एक सिक्काका दुई पाटा भएकाले यी दुई संस्थाबीच समन्वय हुनुपर्छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । बरालले यो क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने विषयमा नेपाल प्रहरीको महत्त्वपूर्ण भूमिका रहने जिकिर गरे ।
उनले यो क्षेत्रमा वैदेशिक लगानी आवश्यक नरहेको जनाउँदै अब महासंघमा आबद्ध सबै घटक संस्थाहरूले त्यसको विरोध गर्नुपर्ने बताए । उनले भने, ‘सानो लगानीमा सुरु गर्न सकिने यो क्षेत्रमा विदेशी लगानी चाहिँदैन । अब सबैले बोल्ने बेला आएको बोलौँ ।’
अध्यक्ष बरालले प्रहरीले शैक्षिक परामर्श सम्बन्धित घटनामा नेतृत्वदायी भूमिका निभाइदिए समस्याको समाधान छिटो हुने विश्वास व्यक्त गरे । तर कतिपय अवस्थामा प्रहरीले मिलापत्र गर्न खोज्दा समस्या थप जटिल बन्ने उनले जिकिर गरे ।

उनले भने, ‘प्रहरीले सच्चाउनु पर्ने कुरा भनेको के हो भने तिमी मिलेर आऊ भनेर बाहिर राख्दिन्छ मिल्ने भए प्रहरीका पुग्नु पर्ने अवस्था नै आउँदैन थियो । प्रहरीले के गर्नुपर्यो भने नेपालको कानुनले यो भनेको छ तिम्रो यो गल्ती हो भनेर नेतृत्व लिने हो भने त्यो केस छिटो समाधान हुन्छ प्रहरीले मिलेर आऊ भनेर २ घण्टा बाहिर राखेर मिल्नु भएन भने भोली आउनु भनेर तारिख बनाइ दियो भने त्यो प्रहरीप्रति जनताको विश्वास घट्छ ।’
अध्यक्ष बरालले शैक्षिक परामर्श क्षेत्रका समस्या समाधान गर्ने विषयमा, कानुन पालना गराउने विषयमा तेरो र मेरो नभनी कानुन अनुसार काम गरिदिन प्रहरीसमक्ष आग्रह गरेका छन् । शैक्षिक परामर्श व्यवसायले २० हजारभन्दा धेरै व्यक्तिलाई रोजगारी प्रदान गर्नुका साथै करिब १ हजार २०० जनालाई व्यवसायी बनाएको जनाउँदै यो क्षेत्रमा रहेका विकृति तथा समस्या समाधान गरिदिन प्रहरीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न आवश्यक रहेको बताए ।
उनले यो क्षेत्रमा रहेका समस्या समाधान गर्न तथा शैक्षिक परामर्श क्षेत्रसँग सम्बन्धित गुनासो सुन्न प्रहरी कार्यालयमा छुट्टै विभाग खडा गरिदिनसमेत एसएसपी अधिकारी समक्ष आग्रह गरे ।
एसएसपी अधिकारीले प्रहरीको दायरामा आउने किसिमका अपराध भएको खण्डमा प्रहरीले नियमन गर्ने बताए । शैक्षिक परामर्श क्षेत्रसँग सम्बन्धित विकृति तथा विसङ्गति हटाउन आफू तत्पर रहेको जनाउँदै एसएसपी अधिकारीले प्रहरीको दायरामा नआउने तर कुनै व्यक्ति वा संस्था समस्यामा परेको खण्डमा सम्बन्धित निकायसँग समन्वय गराइदिने कुरामा प्रहरीले सहयोग गर्ने जनाए ।

उनले भने, ‘ठगी भएको छ भने त्यस्ता घटनामा प्रहरी आकर्षित हुन्छ । तर व्यक्ति वा परामर्शको विषयमा तालुकदार निकायमार्फत आउनुपर्ने हुन्छ । त्यसो भएको खण्डमा पनि प्रहरीले आफूले गर्ने सहयोग गर्न २४ घण्टा नै तयारी अवस्थामा रहन्छ ।’
शान्ति सुरक्षा कायम गर्ने विषय प्रहरीको पहिलो प्राथमिकताको विषय भएको जनाउँदै एसएसपी अधिकारीले गलत गर्नेलाई कारबाही गर्ने र अन्यायमा परेकालाई न्याय दिने कुरामा प्रहरी जहिले पनि तयारी अवस्थामा रहने जनाए । एसएसपी अधिकारीले शैक्षिक परामर्श क्षेत्रबाट आर्थिक विषय जोडिएका गुनासा तथा उजुरीहरू धेरै आउने गरेको पनि जानकारी दिए ।
यस्तै नायरका अध्यक्ष एवं नेपाल शैक्षिक परामर्श व्यवसाय महासंघका संस्थापक सदस्य उद्धव खड्काले यो क्षेत्रका विकृति हटाउन महासंघका तर्फबाट एकजुट भएर काम गर्ने बताए । उनले यो क्षेत्रलाई व्यवस्थित गर्न नेपाल प्रहरीको साथ रहनेमा आफूहरू विश्वस्त रहेको जनाए ।
यस्तै कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का पूर्वअध्यक्षसमेत रहेका प्रकाश पाण्डेले शैक्षिक परामर्श क्षेत्र भनेको के हो र यो क्षेत्रले उच्च शिक्षा अध्ययन गर्नका लागि विदेश जाने र विदेशबाट आउने विद्यार्थीलाई कसरी सहयोग पुर्याउँदै आएको छ भन्नेबारे जानकारी दिए ।
उनले शैक्षिक परामर्श व्यवसायीहरूलाई म्यानपावरको आरोप लाग्ने गरेको जनाउँदै त्यसको प्रतिकार गरे । उनले भने, ‘शैक्षिक परामर्श व्यवसायीलाई म्यानपावरको आरोप लाग्ने गरेको छ । तर म भन्छु हामीहरू म्यानपावर हैनौँ । उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीलाई सहज र सही बाटो देखाउने काम मात्रै हामी गर्छौँ । अन्य क्षेत्र जसरी यो क्षेत्रमा पनि केही विकृति छन् । हुँदै नभएको चाहिँ हैन तर त्यसलाई हटाउन सबै एकजुट हुनुपर्छ । त्यसका लागि नेपाल प्रहरीबाट पनि साथ पाउँछौँ भन्ने हाम्रो अपेक्षा छ ।’
आइरिनका अध्यक्ष हेमन्त भट्टराईले प्रहरीसँगको सहकार्यमा शैक्षिक परामर्श क्षेत्रका विकृति हटाउन सकिन्छ भन्ने उद्देश्यले पहिलो पटक प्रहरीसँग यस्तो किसिमको कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
उनले यस किसिमको कार्यक्रमले शैक्षिक परामर्श क्षेत्र सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्ति गरे । उक्त कार्यक्रमको आयोजक संस्थाहरूमा इक्यान, आइरिन, नायरलगायतका महासंघ सम्बद्ध सङ्घसंस्थाहरू रहेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।