२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

पाकिस्तानमा विद्रोहीले बन्धक बनाएका १९० रेलयात्रुको उद्दार, ३० सुरक्षाकर्मी मारिए
तस्बिरः डन डटकम ।

पाकिस्तानको बलुचिस्तान क्षेत्रमा सशस्त्र विद्रोहीले रेलमा आक्रमण गरेर बन्धक बनाएकामध्ये १ सय ९० जनालाई सुरक्षाकर्मीले मुक्त गरेका छन् । त्यस क्रममा २७ विद्रोही र ३० सुरक्षाकर्मी मारिएका छन् । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार उद्धारका क्रममा ३७ यात्रु घाइते भएका छन् । 


पाकिस्तानी रेल अधिकारीका अनुसार ९ वटा डिब्बा रहेको रेलमा ४ सयभन्दा बढी यात्रु थिए । आक्रमणपछि उक्त क्षेत्रमा रेलसेवा स्थगित गरिएको छ । विद्रोही समूह बलोचिस्तान लिबरेसन आर्मी (बिएलए) ले मंगलबार क्वेटाबाट पेसावर जाँदै गरेको जाफर एक्सप्रेस रेलमा आक्रमण गरेर यात्रुलाई बन्धक बनाएका थिए । सुरक्षाकर्मीले अझै कैयौं यात्रु बिएलएको नियन्त्रणमा रहेका जनाएका छन् ।



क्वेटास्थित रेल अधिकारीका अनुसार मंगलबार ११ बालबालिका र २६ महिलासहित ८० यात्रु रेलबाट ओर्लिएर नजिकै रहेको अर्को स्टेसन पुगेका थिए । उक्त समूहमा रहेका बलुचिस्तानका बासिन्दा घर फर्किएका छन् । आक्रमण गरेलगत्तै बिएलएले रेलमा रहेका ४ सय २५ यात्रुमध्ये २ सय १४ जनालाई बन्धक बनाएको बताएको थियो ।

एक सैनिक अधिकारीका अनुसार रेलमा क्वेटाबाट चढेका सयभन्दा बढी सेनाका कर्मचारीले यात्रा गरिरहेका थिए । रेलमाथि आक्रमण भएको क्षेत्रमा इन्टरनेट तथा मोबाइल नेटवर्क नभएका कारण सम्पर्कमा कठिनाइ भएको अधिकारीको भनाइ छ ।



पृथकतावादी समूहले विज्ञप्तिमार्फत रेलमा आक्रमण गर्नुअघि दुर्गम सिबी जिल्लास्थित रेल पटरीमा बम विस्फोट गराएको जनाएको छ । बिएलएले आफूले नियन्त्रणमा लिएकालाई उद्धार गर्ने प्रयास गरेको खण्डमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएको थियो । आक्रमणकारीले बलोच राजनीतिक बन्दीलाई ४८ घण्टाभित्र मुक्त गर्नुपर्ने माग राखेका थिए । उनीहरूले माग पूरा नभए बन्धकको हत्या गर्ने धम्कीसमेत दिएका थिए ।

बिएलएले बलुचिस्तानको स्वतन्त्रताका लागि दशकौंदेखि विद्रोह गर्दै आएको छ । त्यस क्रममा बिएलएले प्रहरी स्टेसन, रेलमार्ग र राजमार्गलाई लक्षित गर्दै आएको छ । गत अगस्टमा उनीहरूले बलुचिस्तान प्रान्तस्थित एउटा राजमार्गमा बस र ट्रकबाट मानिसलाई बाहिर निकालेर परिचयपत्र जाँच्दै गोली हानेका थिए ।

उक्त घटनामा कम्तीमा ३९ जनाको ज्यान गएको थियो । बिएलएले सर्वसाधारणको भेषमा यात्रा गरेका सैनिकलाई निसाना बनाएको दाबी गरेको थियो । पछिल्ला वर्षमा बिएलएले आक्रमण तीव्र पारेको छ । खासगरी यसले बलुचिस्तानमा सञ्चालित परियोजनामा कार्यरत चिनियाँ नागरिकलाई निसाना बनाउन थालेको छ । बिएलएलाई पाकिस्तानका साथै बेलायत र अमेरिकासहित धेरै पश्चिमी देशले आतंकवादी संगठन घोषणा गरेका छन् ।

बलोचिस्तान लिबरेसन फ्रन्ट (बिएलएफ) बिएलएले चाहिँ बलुचिस्तानका ग्यास परियोजना, पूर्वाधार र सुरक्षा चौकीलाई निसाना बनाउँदै आएको छ । सन् २०११ देखि भने यो समूहले पाकिस्तानी सुरक्षा निकाय, विदेशी कामदार, सरकारी अधिकारी र पत्रकारमाथि आक्रमण गर्दै आएको छ । सन् १९६४ मा सिरियाको दमास्कसमा स्थापना भएको बिएलएफ सुरुमा इरानी बलोच विद्रोहमा संलग्न थियो ।



इरानी बलोचहरूले त्यहाँको सरकारविरुद्ध विद्रोह गरेका थिए । पाँच वर्षको द्वन्द्वपछि उक्त विद्रोह वार्तामार्फत अन्त्य भएको थियो । त्यसलगत्तै अन्य बलोच संगठनहरूसँगै बिएलएफले पनि पाकिस्तान सरकारविरुद्ध गतिविधि गर्न थालेको हो । सन् १९७० को दशकदेखि यी संगठनले अफगानिस्तानमा शरण लिएर गतिविधि गर्दै आएका छन् ।
 

बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त हो । यो प्रान्त इरान र अफगानिस्तानसँगै अरब सागरको तटीय क्षेत्रसँग सीमा जोडिएको छ । कैयौं बलोचहरू छिमेकी इरान र अफगानिस्तानका प्रान्तमा पनि बस्दै आएका छन् । प्राकृतिक स्रोतसाधनको हिसाबले सबैभन्दा धनी भए पनि यो प्रान्त सबैभन्दा कम विकसित छ ।

पाकिस्तानको कुल भूभागको ४१ प्रतिशत भाग ओगट्ने बलुचिस्तानको जनसंख्या भने निकै कम छ । पाकिस्तानको २४ करोड जनसंख्यामध्ये बलुचिस्तानमा ६ प्रतिशत मानिस मात्रै बसोबास गर्छन् ।

चीनको अनुदानमा बनिरहेको अर्बौं लगानीको परियोजना ‘चाइना–पाकिस्तान इकोनमिक कोरिडोर’ पनि यही क्षेत्रमा छ । यो परियोजना चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’को एक अंग हो । यसअन्तर्गत ओमानको खाडीनजिक ग्वादरको बन्दरगाह महत्त्वपूर्ण केन्द्र बन्ने ठानिएको छ ।

त्यसका साथै चीनले ग्वादरमा अन्तर्राष्ट्रिय विमानस्थल पनि बनाउँदै छ । त्यस्तै, चीनले बलुचिस्तानमा खानीसम्बन्धी परियोजना पनि सञ्चालन गरिरहेको छ । यी परियोजनाको बिएलएफले विरोध गर्दै आएको छ ।

  • प्रकाशित मिति : २९ फागुन, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया