२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

युरोपमा २०२४ मा दादुराका बिरामी दोब्बर, २५ वर्षयताकै उच्च

युरोपमा सन् २०२४ मा दादुराका बिरामी दोब्बर भएर २५ वर्षयताकै उच्च भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बिहीबार जनाएको छ । सङ्गठनले सङ्क्रमण नियन्त्रणका लागि खोप अभियानलाई प्रभावकारी बनाइनुपर्नेमा पनि जोड दिएको छ ।


गत वर्ष मध्य एसियासहित ५३ देश रहेको डब्लुएचओको युरोपेली क्षेत्रमा दादुराका १ लाख २७ हजार ३५० घटना दर्ता भएका थिए । यस्तै, ३८ जनाको मृत्यु भएको थियो ।



रोमानिया र कजाखस्तानमा क्रमशः ३० हजार ६९२ र २८ हजार १४७ जनामा सङ्क्रमण देखिएको थियो । डब्लूएचओका अनुसार युरोपका आधाभन्दा बढी बिरामीलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था छ । ४० प्रतिशत घटनामा पाँच वर्षमुनिका बालबालिका रहेका छन् ।

डब्लुएचओका युरोप निर्देशक हान्स क्लुजले भने, ‘दादुरा फेरि आएको छ र खोपको उच्च दरबिना यसको प्रकोपबाट सुरक्षा हुँदैन । यो एक जागृत आह्वान हो ।’ 



उनले खोप नलगाएका र नपाएका समुदायको सुरक्षाका लागि खोप अभियानलाई तीव्रता दिन आग्रह गरे । सन् २०२३ मा यस क्षेत्रका ५ लाख बालबालिकाले खोपको पहिलो मात्रा पाएका थिएनन् ।

क्लुजले भने, ‘खोपको उच्च दरबिना स्वास्थ्य सुरक्षा हुँदैन ।’ दादुरा अत्यधिक सङ्क्रामक हुन्छ, यो श्वासप्रश्वासमार्फत फैलिन्छ र सङ्क्रमित व्यक्तिले कुनै क्षेत्र छोडेको दुई घण्टासम्म हावामा रहन्छ ।

ज्वरो, श्वासप्रश्वाससम्बन्धी समस्या दादुराको मुख्य लक्षण हो र यसले निमोनिया, मस्तिष्कको सुजन र मृत्युजस्ता गम्भीर जटिलता पनि निम्त्याउन सक्छ ।

सन् २०२४ मा विश्वमा दादुराका एक तिहाइ बिरामी युरोपमा देखिएका थिए । 



सन् १९९७ मा २ लाख १६ हजार सङ्क्रमित भएपछि युरोपमा दादुराको प्रकोप ह्वात्तै घटेको थियो । सन् २०१६ मा यो सङ्ख्या ४ हजार ४४० पुगेको थियो ।

सन् २०१८ र २०१९ मा यो रोग फेरि बढेको र कोभिड–१९ को महामारीका बेला खोप अभियान रोकिएपछि सन् २०२३ देखि सङ्क्रमितको दरमा उल्लेख्य वृद्धि भएको छ ।  

  • प्रकाशित मिति : २९ फागुन, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया