२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

युरोपेली वाइनमा २०० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी, फ्रान्सले भन्यो- झुक्ने छैनौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्विस्कीको अमेरिकी उत्पादनमा युरोपेली सङ्घ (इयू) बाट लगाइएको करको बदलामा इयू मुलुकबाट आयात हुने वाइन, स्याम्पेन र अन्य मदिराजन्य पदार्थमा २ सय प्रतिशत कर लगाउने चेतावनी दिएका छन् ।


ट्रम्पले पदभार ग्रहण गरेदेखि नै अन्तर्राष्ट्रिय प्रतिस्पर्धी र साझेदार मुलुकसमेतविरुद्ध व्यापार युद्ध सुरु गरेका छन् । व्यापार र अन्य नीतिगत मुद्दामा देशहरूलाई दबाब दिने उपकरणको रूपमा अमेरिकी राष्ट्रपति ट्रम्पले कर वृद्धिको प्रयोग गर्दै आएका छन् ।



इयूले ट्रम्पले स्टिल र आल्मुनियमको आयातमा लगाएको करको बदलामा अप्रिलदेखि अमेरिकी सामानमा २८ अर्ब अमेरिकी डलर बराबरको कर लगाउने घोषणा गरेपछि ट्रम्पले युरोपेली मदिराजन्य आयातमा नयाँ करवृद्धिको घोषणा गरेका हुन् ।

ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा बिहीबार लेखेका छन्, ‘यदि यो कर वृद्धि तत्काल हटाइएन भने अमेरिकाले चाँडै नै फ्रान्स र अन्य इयूको प्रतिनिधित्व गर्ने देशहरूबाट आउने सबै वाइन, शैम्पेन र मदिराजन्य उत्पादनमा २ सय प्रतिशत कर लगाउनेछ ।’



ट्रम्पले अमेरिकी ह्विस्कीमा लगाइएको ५० प्रतिशत करलाई ‘नराम्रो’ भन्दै समूहको कडा आलोचना गरेका छन् । ट्रम्पको पछिल्लो घोषणापछि फ्रान्सले वाइन र मदिराजन्य सामानमा लगाइएको कुनै पनि करको प्रतिकार गर्ने बताएको छ ।

विदेश व्यापारमन्त्री लोरेन्ट सेन्ट मार्टिनले भनेका छन्, ‘हामी चेतावनीको अगाडि झुक्ने छैनौँ । फ्रान्स प्रतिकार गर्न कटिबद्ध रहेको छ ।’  



  • प्रकाशित मिति : २९ फागुन, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया