रत्ननगर उद्याेग वाणिज्य संघका अध्यक्ष धराैटीमा रिहा

चितवन– उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी आज धरौटीमा रिहा भएका छन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङस्थित सडक बोर्डको दस्तुर सङ्कलन केन्द्रमा गत शुक्रबार आगजनी र तोडफोड अभियोगमा प्रहरीले रेग्मीलाई बुधबार पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार उनी जिल्ला प्रशासन कार्यालय चितवनमा ५४ हजार धरौटी जम्मा गरी रिहा भएका हुन्। यसअघि पक्राउ परेका तीन जनाले पनि सोही रकमबराबर धरौटी जम्मा गरी रिहा भएका थिए।

सो घटनामा संलग्न रहेको अभियोगमा रत्ननगर नगरपालिका–९ का कुलप्रसाद लामिछाने, राप्ती नगरपालिका–८ का खिलप्रसाद घिमिरे र रेष्टुरेण्ट एण्ड बार एशोसिएशन सौराहाका अध्यक्ष गोकर्ण गिरी पक्राउ परी धरौटी राखेर रिहा भए। घटनाका समयमा लिइएको भिडियोका आधारमा उनीहरुलाई पक्राउ गरिएको थियो।

सङ्कलन केन्द्रमा आगजनी, तोडफोडसँगै रकम लुटिएको भन्दै सडक दस्तुर सङ्कलनको ठेक्का पाएको ब्रिटानिक मौलाकालिका कन्सट्रक्सन प्रालिले रेग्मीसहित उनीहरुविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेको थियो। सो कम्पनीका अध्यक्ष अमृत भट्टचनले आगजनी, लुटपाट र तोडफोडका साथै करिब चार लाखसमेत लुटिएकाले उजुरी गरिएको थियो।

प्रदेशसभा सदस्य कृष्ण खनालकै उपस्थितिमा भएको सो घटनामा प्रहरी सहायक निरीक्षक कल्पना खड्का जलेर गम्भीर घाइते भएकी थिइन। उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । 





  • प्रकाशित मिति : जेठ ९, २०७६ बिहीबार १३:५५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया