लन्डन– बेलायती प्रधानमन्त्री थेरेसा मेले शुक्रबार पदबाट राजीनामा दिन सक्ने सम्भावना रहेको बताइएको छ । द टाइम्स अफ लन्डनले यसबारे एक रिपाेर्ट प्रकाशित गर्दै मेले केही दिनभित्रै राजीनामा दिन सक्ने उल्लेख गरेकाे छ ।
पत्रिकाका अनुसार थेरेसा मेको राजीनामापछि सत्ताधारी कन्जरभेटिभ पार्टी आफ्ना नयाँ नेताको चुनाव गर्नेछ । दुई चरणको यस प्रक्रियामा पार्टीका १.२५ लाख सदस्य सहभागी हुनेछन् ।
Theresa May is expected to announce her departure from No 10 after a cabinet mutiny over her Brexit plan https://t.co/oDeCwrD1HF
— The Times of London (@thetimes) May 23, 2019
रिपाेर्टका अनुसार उत्तराधिकारीकाे चुनाव हुने बेलासम्म थेरेसा कार्यवाहक प्रधानमन्त्रीकाे रुपमा रहनेछिन् ।
बेलायत इयुबाट बाहिरिने विषयमा थेरेसाले संसदमा लगातार गतिराेधकाे सामना गरिरहनुपरेकाे छ । उनले अहिलेसम्म ब्रेक्जिट संसदबाट सर्वसम्मत पारित गर्न पाएकी छैनन । यहाँसम्म कि उनकै मन्त्रीहरु पनि यसकाे विराेधमा उत्रिएका छन् ।
द गार्जियनका अनुसार प्रधानमन्त्रीले ल्याएकाे नयाँ ब्रेक्जिट याेजनाकाे विराेध गर्दै बुधबार मन्त्रीमण्डलकी बरिष्ठ सदस्य एन्ड्रिया लेडसमले राजीनामा दिएकी छन् । स्राेतका अनुसार लेडसमकाे राजीनामापछि थेरेसा मे माथि प्रधानमन्त्री पद छाेड्न दबाव बढेकाे छ । सम्भवत: उनले राजीनामा दिने निर्णय गरिसकेकी छन् ।
थेरेसापछि प्रधानमन्त्रीकाे दाबेदार लेडसम हुन सक्ने पनि द टाइम्सले लेखेकाे छ । उनीसँगै ब्रेक्जिट समर्थक बाेरिस जाेनसन,डाेमिनिक राब, पेनी माेरडन्ट, माइकल गाेव र साजिद जाविदकाे नाम पनि प्रधानमन्त्रीकाे उमेद्वारकाे सूचीमा लिइएकाे जनाइएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।