१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

दलितको घरमा डोजर चलाउने पालिका अध्यक्ष पक्राउ, प्रजिअ गृहमा तानिए
महायज्ञ लगाउनका लागि दीपक मलिक (डोम)को भत्काइएको घर ।

सिरहाको औरहीमा महायज्ञका नाममा दलित परिवारमाथि गरिएको जातीय विभेदको घटनामा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र सोही ठाउँका पूर्ववडाध्यक्ष तथा जनमत पार्टीका नेता दिलीप यादवलाई प्रहरीले शुक्रबार साँझ नियन्त्रणमा लिएको छ । 


मधेश प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यले दिएको जानकारीअनुसार उनीहरूसँग सोधपुछ भइरहेको छ । पीडितबाट जाहेरी आएपछि उनीहरूलाई सोही बमोजिम कारबाही प्रक्रिया अघि बढाइने प्रहरी नायब महानिरीक्षक आचार्यले बताए । 



चैत १७ गतेदेखि महायज्ञ लगाउनका लागि सिरहाको औरही–५ का दलित दीपक मलिक (डोम)को घर गत फागुन १० गते भत्काइएको थियो । घर भत्काउन गाउँपालिकाको जेसीबीसहित अध्यक्ष यादव आफैँ गएका थिए । घर भत्काएपछि उक्त घरले चर्चेको जमिनको माटोसमेत ताछेर फालेपछि उनीमाथि जातीय विभेद गरेको भन्दै तीव्र विरोध भएको थियो । 

यसै घटनामा संवेदनशील भएर कार्य नगरेको भन्दै गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई शुक्रबारै मन्त्रालय तानेको छ । राष्ट्रिय मानवअधिकार आयोग तथा राष्ट्रिय दलित आयोगसमेतले घटनालाई महत्व दिएर स्थलगत अनुगमन गरेको थियो । 



प्रतिनिधि सभाको बैठकमा समेत सांसदले पटकपटक यस घट्नाका सम्बन्धमा संसदीय छानविन समिति गठनको माग गर्दै दोषीमाथि तत्काल आवश्यक कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।



  • प्रकाशित मिति : ९ चैत, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया