नयाँ दिल्ली– भारतीय लोकसभा निर्वाचनमा बलिउड तथा भारतीय क्रिकेटका थुप्रै हस्ती चुनावी मैदानमा उत्रिएका थिए । मतगणना चल्दै गर्दा तीमध्ये अधिकांशले अग्रता लिइरहेका छन् ।
मथुराबाट चुनाव लडेकी बलिउड अभिनेत्री हेमा मालिनीले भारी अग्रता लिएकी छिन् । भाजपाकी उम्मेदवार हेमाले अहिलेसम्मको मतगणनामा ६३.८ प्रतिशत भोट पाएकी छिन् । उनलाई पछ्याइरहेका राष्ट्रिय लोक दलका उम्मेदवार कुँवर नरेन्द्र सिंहले ३१.२ प्रतिशत मत पाएका छन् । उसो त हेमा राजनीतिको पुरानै खेलाडी हुन् । २०१४ मा हेमा मथुराबाटै लोकसभा सदस्य चुनिएकी थिइन् ।
केही महिनाअघि भाजपा प्रवेश गरी राजनीति सुरु गरेका पूर्वक्रिकेटर गौतम गम्भीर पनि पहिलो चुनावी दौडमा सफल हुने देखिएका छन् । भाजपाका तर्फबाट पूर्वी दिल्लीमा चुनाव लडेका गम्भीरले अहिलेसम्मको मतगणनामा ५२.२ प्रतिशत मत पाएका छन् । उनका नजिकका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार अरबिन्दर सिंह लभ्लीको पक्षमा २५.८ प्रतिशत मत छ ।
विहारको पटना साहिब क्षेत्रबाट चुनाव लडेका पाका बलिउड कलाकार शत्रुघन सिन्हा भने जारी मतगणनामा पछाडि देखिएका छन् । दुईपटकसम्म भाजपाबाट चुनाव जितेका सिन्हा यसपटक भाजपाले टिकट नदिएपछि कांग्रेस प्रवेश गरी आफ्नो पुरानै क्षेत्रबाट चुनाव लडेका थिए । अहिलेसम्मको मतगणनामा सिन्हाको पक्षमा २९.९ प्रतिशत मत परेको छ, जबकि भाजपा उम्मेदवार रविशंकर प्रसादको पक्षमा ६५ प्रतिशत मत छ ।
पहिलोपटक चुनाव लडेका बलिउड कलाकार सन्नी देवलले पन्जाबको गुरदासपुर क्षेत्रबाट अग्रता लिइरहेका छन् । अहिलेसम्मको मतगणनामा भाजपा उम्मेदवार सन्नी देवलको पक्षमा ५४ प्रतिशत मत छ । उनका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार सुनिलकुमार जखरको पक्षमा ४०.२ प्रतिशत मत छ । अहिलेको अवस्थामा पन्जाब कांग्रेस बाहुल्य रहेको राज्य हो । पन्जाबमा भाजपा इतिहासदेखि नै निकै कमजोर छ । १३ सिट भएको पन्जाबमा सन्नी देवलको गुरदासपुरसहित जम्मा ४ सिटमा भाजपाले अग्रता लिएको छ ।
भाजपाबाट उत्तर प्रदेशको रामपुरमा चुनाव लडेकी पुरानी बलिउड कलाकार जयप्रदा जारी मतगणनामा पछाडि परेकी छिन् । अहिलेसम्मको मतगणनामा जयप्रदाको पक्षमा ३७.२ प्रतिशत मत पर्दा समाजवादी पार्टीका अजम खानको पक्षमा ५७.२ प्रतिशत मत गएको छ ।
कांग्रेसबाट उत्तरी मुम्बईमा चुनाव लडेकी बलिउड कलाकार उर्मिला माथोडकर जारी मतगणनामा निकै पछि परेकी छिन् । अहिलेसम्मको मतगणनामा उर्मिलाले केवल २२.४ प्रतिशत मत पाएकी छिन् भने उनका प्रतिद्वन्द्वी भाजपा उम्मेदवार गोपाल सेट्टीको पक्षमा ७२.२ प्रतिशत मत छ ।
चन्डीगढमा भाजपाबाट चुनाव लडेकी बलिउड कलाकार किरण खेरले झिनो अग्रता लिएकी छिन् । अहिलेसम्मको मतगणनामा किरणको पक्षमा ४७ प्रतिशत मत छ । उनका प्रतिद्वन्द्वी कांग्रेसका पवनकुमार बंसलको पक्षमा ४२.२ प्रतिशत मत छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।