नामजस्तै ‘जनप्रिय’ छ यो सामुदायिक विद्यालय

पोखरा– देशका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घट्दै गइरहेका बेला पोखरा महानगरपालिका–८ स्थित जनप्रिय माध्यमिक विद्यालयले भने व्यावसायिक एवं गुणस्तरीय शिक्षाका माध्यमबाट विद्यार्थी तथा अभिभावकको मन जित्दै गएको छ । 

साधारण शिक्षाले मात्र समयको आवश्यकतालाई सम्बोधन गर्न नसक्ने ठम्याइसँगै विद्यालयले २०७३ सालबाट कक्षा ९ देखि १२ सम्मको प्राविधिक धार सिभिल इन्जिनियरिङको कक्षा सञ्चालनमा ल्याएको हो ।

विद्यालयका प्रधानाध्यापक बाबुराम पौडेलका अनुसार प्राविधिक विषयको कक्षा सञ्चालनसँगै विद्यार्थी तथा अभिभावकको रोजाइमा जनप्रिय विद्यालय पर्न थालेको छ । ‘विद्यालयमा हाल १ हजार ५ सय ७१ जना विद्यार्थी अध्ययनरत छन्, प्राविधिकतर्फको सिभिल इन्जिनियरिङका लागि प्रत्येक वर्ष ४८ जना विद्यार्थी भर्ना गर्ने गरिएको छ,’ उनले भने । 

अन्य कक्षामा विद्यार्थी बढ्नुका साथै बर्सेनि प्राविधिक शिक्षाका लागि भर्ना हुन आउने विद्यार्थीको आकर्षण पनि बढ्दै गएको बताउँदै उनले प्रवेश परीक्षाका आधारमा विद्यार्थी भर्ना गर्ने गरिएको जानकारी दिए । 

विद्यार्थीको बढ्दो चापसँगै निर्धारित ४८ कोटा बढाउने विद्यालयले तयारी गरेको छ । 

स्थानीय समाजसेवी एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार गिरीका अनुसार २०१५ सालमा भानु प्राथमिक विद्यालयका रुपमा स्थापना भएको विद्यालय २०२५ पछि ‘जनप्रिय’ नामकरण भएको हो । भानु प्राथमिक विद्यालयका रुपमा सुरु भए पनि विद्यालयको स्थापना मिति जनप्रिय नामकरणपछिको २०२५ लाई लिने गरिएको उनले बताए । 



‘जनप्रिय नामकरण भए पनि भानु प्राथमिक विद्यालयका रुपमा स्थापना भएको समयलाई स्थापना मिति कायम गर्न सके तत्कालीन समयमा विद्यालय खोल्न योगदान गर्नेको भूमिकाको पनि सम्मान हुन्थ्यो,’ २०२२ सालमा तत्कालीन भानु प्राविको विद्यार्थीसमेत रहेका अध्यक्ष गिरीले भने, ‘इतिहास र समकालीन समाजको योगदान एवं भूमिकालाई हामीले बिर्सन मिल्दैन ।’ 

२०४१ सालदेखि प्रस्तावित माविका रुपमा रही माध्यमिक हुँदै कक्षा ११ र १२ सम्मको पठनपाठन गरेको विद्यालयमा हाल व्यवस्थापन, शिक्षा तथा मानविकीमा कक्षा सञ्चालन हुँदै आएका छन् । कक्षा ११ र १२ सञ्चालनका लागि २०६० सालमा महायज्ञ सञ्चालन गरी ७० लाख रुपैयाँ संकलन गरिएको थियो । 



विद्यालयले २०५० मा रजत महोत्सव सम्पन्न गरेको छ भने २०७५ माघ १० गते स्वर्ण महोत्सव सम्पन्न गरिसकेको छ । विद्यालयको करिब सात रोपनी जग्गामा रहेका तीनवटा भवनका ४६ कोठामा अध्यापन भइरहेको जानकारी दिँदै अध्यक्ष गिरीले शिक्षाको गुणस्तरीयता अभिवृद्धिका लागि उपलब्ध साधनस्रोतको अधिकतम उपयोगका साथै जनसमुदायको सहयोगबाट विद्यालय सञ्चालन भएको बताए । 

‘प्राविधिक शिक्षाका साथै गुणस्तरीय शिक्षा दिने लक्ष्यका साथ व्यवस्थापन समिति र विद्यालय प्रशासन प्रतिबद्ध छ,’ उनले भने, ‘विद्यालयको समग्र विकासमा स्थानीय जनसमुदायले निरन्तर गरेको सहयोगका बलमा नै विद्यालय यस अवस्थासम्म आइपुगेको कुरालाई हामीले आत्मसात गरी अघि बढेका छौँ ।’ 

प्रधानाध्यापक पौडेलका अनुसार कक्षा ९ देखि १२ मा प्राविधिक शिक्षा सिभिल इन्जिनियरिङका लागि मात्रै पूर्वाधार एवं भौतिक संरचना निर्माणमा झन्डै ५० लाख लागेको छ । प्राविधिक कक्षा सञ्चालनका लागि सरकारबाट करार सेवामा सातवटा दरबन्दी उपलब्ध छन् । 

विद्यालयमा स्वीकृत दरबन्दी जम्मा ३८ रहे पनि शैक्षिक कार्यक्रम सञ्चालनका लागि ९६ जना शिक्षक तथा कर्मचारी कार्यरत भएको जानकारी दिँदै उनले जनसहयोगकै बलमा विद्यालय सञ्चालन भइरहेको बताए । गुणस्तरीय शिक्षाका लागि अङ्ग्रेजी तथा नेपाली माध्यममा पढाइ भइरहेको उल्लेख गर्दै उनले गुणस्तरीयता र प्राविधिक शिक्षाका माध्यमबाट बर्सेनि विद्यार्थी थपिने क्रममा रहेको बताए । 

  • प्रकाशित मिति : जेठ ९, २०७६ बिहीबार २३:७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया