झुपडी बस्तीबाट गगनचुम्बी महलहरुको देश कसरी बन्यो सिंगापुर ?

सिंगापुर । हामीले केही समययता नेपाली नेताहरुको वाचामा सुनिरहेको देशमध्ये एक देश हो ।

गणतन्त्र स्थापनापछि देशको विकास यति द्रुत गतिमा गर्ने नेताहरुको वाचा हुन्थ्यो कि उनीहरु भन्थे– पाँच वर्षमा देश सिंगापुर हुन्छ, स्विट्जरल्यान्ड हुन्छ । हुन पनि सिंगापुरले निकै छोटो समयमा विकासको एउटा लामो कथा लेखेको छ ।

जतिबेला सिंगापुर स्वतन्त्र भएको थियो, त्यति बेला सिंगापुरसँग केही पनि थिएन, जसले उसलाई गरिबीबाट छिटो छुट्करा मिलोस् । न सिंगापुरमा खेतीयोग्य जमीन थियो न कुनै खनिज सम्पदा । सिंगापुरको अधिकांश जनसंख्या पनि झुपडी बस्तीमा बस्थ्यो । तर, आज सिंगापुरको ऐश्वर्य बदलिएको छ, स्वरुप र विश्वमा उसले जमाउने हैकम बदलिएको छ ।

अब त सिंगापुरको औसत तलब नै विश्वमा दिइने तलबको तीन नम्बरमा पर्छ । एउटा कन्सल्टिङ फर्म जुनिपर रिसर्चका अनुसार मोबिलिटी, स्वास्थ्य, सुरक्षा तथा उत्पादकत्वको क्षेत्रमा सिंगापुर विश्वकै नम्बर वान देश हो । त्यस्तै, म्यागजिन द इकोनोमिस्टले सिंगापुरलाई पाँच वर्ष यता सबैभन्दा महंगो देश भएको पनि जनाएको छ । कुनै समय बेलायती उपनिवेशमा रहेको सिंगापुरको यो कथा फेरिएको लामो समय भएको छैन । 

यो दोस्रो विश्वयुद्धको समयको कुरा हो । त्यति बेला सिंगापुरलाई जिब्राल्टर अफ द इस्ट भनिन्थ्यो । किनकि सिंगापुरमा बेलायती सेनाको उपस्थिति निकै थियो । तर, सन् १९४२ मा जापानले बेलायतलाई हराइदियो । अनि सिंगापुरलाई आफ्नो बनायो । त्यतिबेला बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलले भनेका थिए, ‘बेलायती इतिहासको सबैभन्दा नराम्रो नोक्सान र सबैभन्दा ठूलो आत्मसमर्पण नै यही हो ।’ तर, सन् १९४४ र १९४५ मा अमेरिकी सेनाले जापानको कब्जामा रहेको सिंगापुरलाई आफ्नो बनायो । यो आक्रमणमा सिंगापुरमा निकै ठूलो बमबारी भएको थियो, त्यहाँको व्यापारिक बन्दरगाहमा ठूलो नोक्सान पुगेको थियो । यही घटनापछि सिंगापुरले आफ्नो नयाँ कथा लेख्न थाल्यो ।

सन् १९२३ को १६ सेप्टेम्बरमा जन्मिएका ली कुआन यी एक चिनियाँ आप्रवासी परिवारका तेस्रो पीँढीका छोरा थिए । उनले नै सिंगापुरको मुहार परिवर्तन गरिदिएका हुन् । सिंगापुरको अंग्रेजी मिडियमको विद्यालयमा पढेका ली कुआनको सोच पनि अमेरिकीहरुकै जस्तो थियो । जापानले सिंगापुरलाई कब्जामा लिएपछि ली कुआनको पढाइमा केही विश्राम लाग्यो तर उनले तत्कालै लन्डन स्कुल अफ इकोनोमिक्स र क्याम्ब्रिज विश्वविद्यालयमा अध्ययन गरे ।



विद्यार्थी जीवनदेखि नै समर्पित समाजवादी रहेका ली सिंगापुर फर्किए । अनि ट्रेड युनियनका वकिल बने । सन् १९५४ मा लीले पिपुल्स एक्सन पार्टी बनाए । यो पार्टीमा ली ४० वर्षसम्म महासचिव थिए । सन् १९५९ मा भएको निर्वाचनमा लीको यही दलले बहुमत ल्यायो । अनि उनले सिंगापुरबाट अमेरिकी नियन्त्रणलाई बहिस्कार गरे र सिंगापुरलाई स्वशासित राज्य बनाए । लीले सिंगापुरको विलय मलेसियासँग सन् १९६३ मा गराएका थिए तर यो गठबन्धनले लामो समय काम गरेन । सन् १९६५ मा भएको वैचारिक रस्साकसी तथा जातीय समूहहरुबीचको हिंस्रक आन्दोलनपछि सिंगापुर संघहरुबाट निस्किएर स्वतन्त्र देश बन्यो ।

वर्षौदेखिको बेलायती, जापानी कब्जा र मलेसियाको प्रभुत्वबाट स्वतन्त्र भएर सिंगापुर एक स्वतन्त्र राष्ट्रका रुपमा आफ्नो कदम अगाडि बढायो ।



तर, सिंगापुरमा केही पनि थिएन ।

अधिकांश मानिसहरु झुपडी वस्तीमा व्यस्त थिए ।

विश्व बैंकको एक रिपोर्टअनुसार सन् १९६५ मा सिंगापुरको प्रतिव्यक्ति आय ५१६ अमेरिकी डलर थियो तर आधाभन्दा धेरै जनसंख्या अशिक्षित थियो । तर, सन् १९६० बाट सन् १९८० मा सिंगापुरले निकै ठूलो फड्को मार्यो, यसले आफ्नो राष्ट्रिय उत्पादनमा १५ गुणा वृद्धि गर्यो ।

सिंगापुरको नेतृत्व सम्हालेका ली कुआन इजरायल जसरी नै सिंगापुरले पनि छलाङ मार्नु पर्ने र छिमेकी देशहरुलाई पछाडि छाड्ने योजनामा थिए, उनी त्यही गरिरहेका थिए । एउटा बर्बादीमा डुबिरहेको देशबाट गगनचुम्बी भवनहरुको देश बन्ने सिंगापुरको यात्रामा त्यहाँका जनताले ठूलो मूल्य चाहिँ चुकाए । उनीहरुलाई सरकारले दुईभन्दा धेरै बच्चा जन्माउन दिएन । त्यति मात्र होइन, भ्रष्टाचारबाट बच्न त्यहाँ निकै कडा कानुन बन्यो ।

सिंगापुरले शानदार सडक तथा हवाइ मार्गमा जोड दियो, जसले आधारभूत ढाँचाको विकासमा निकै ठूलो सहयोग पुग्यो । 

सिंगापुरको ‘भाग्य’ बदलिनुमा यसको भौगोलिक स्थितिको पनि ठूलो योगदान छ । अर्कोतिर ली कुआनले सुरुदेखि नै सिंगापुरका जनतालाई शिक्षित बनाउने तथा मानव संसाधनमा खर्च गर्न थाल्यो । अहिले त सिंगापुरलाई विश्वका ठूलो आर्थिक केन्द्रहरुमध्ये एक मानिन्छ ।

सिंगापुर सरकारकै अनुसार सन् २०१७ मा एक करोड ७४ लाख पर्यटकले सिंगापुर घुमेका थिए । यो सिंगापुरको जनसंख्याभन्दा तीन गुणा बढी हो । अहिले सिंगापुरमा आफ्नै घर हुने जनसंख्या ९० प्रतिशत रहेको सिंगापुर सरकारले जनाएको छ । सिंगापुरलाई यति ठूलो सफलता दिएका ली कुआनले एकपटक भनेका थिए, ‘आखिर मलाई के मिल्यो ? एक सफल सिंगापुर । बदलामा मैले के दिएँ ? मेरो जीवन ।’

  • प्रकाशित मिति : जेठ ९, २०७६ बिहीबार २२:४७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया