विश्वचर्चित आठ लेखक, जसले गरे आत्महत्या

एजेन्सी– विश्वचर्चित लेखक–कलाकार पनि आममान्छेजस्तै विभिन्न समस्यामा जेलिएका हुन्छन् । तर पनि उनीहरू सिर्जनात्मक कार्यमा भने लागिरहेकै हुन्छन् । विश्वसाहित्यलाई एकपटक हेर्ने हो भने धेरै सफल लेखकहरूले आत्महत्या गरेका छन् । 

वर्षौंसम्म डिप्रेसनमा रहेर आफैंलाई मार्ने लेखकहरूको सूची पनि लामो छ । आफ्नो लेखनबाट विश्वमा चिनिएका यी लेखकहरूले डिप्रेसनलगायतका कारणहरूले आत्महत्या गरे–


१. अर्नेस्ट हेमिङवे

अर्नेस्ट हेमिङवे निकै प्रसिद्ध र सफल लेखकमा चिनिन्छन् । उनको चर्चित कृति ‘द ओल्ड मेन एन्ड द सी’ले नोबेल पुरस्कार प्राप्त गरेको थियो । सन् १८९९ मा जन्मिएका हेमिङवेले ६१ वर्षको उमेरमा आत्महत्या गरेका हुन् । अमेरिकाको इडाओ प्रान्तको केटचुम भन्ने ठाउँमा सन् १९६१ जुन २ मा उनले आफैंलाई गोली हानेर आत्महत्या गरे । उनको ‘द ओल्ड मेन एन्ड द सी’ सँगै ‘ए फेयर वेल्स टु आम्स’, ‘द सन अल्सो राइजेस’ चर्चित कृति हुन् । 


२. भर्जिनिया उल्फ

सन् १८८२ मा जन्मिएकी भर्जिनिया उल्फले आफू ५९ वर्षको उमेरमा पानीमा डुबेर आत्महत्या गरेकी हुन् । उल्फले आफ्नो सुसाइड नोटमा लेखेकी थिइन्, ‘प्रिय, म महसुस गरिरहेकी छु कि म फेरि बौलाउँदै छु । मलाई लाग्छ हामी फेरि यस्तो समयबाट पार हुन सक्दैनौं । र म समयलाई रोक्न पनि सक्दिनँ । म आवाज सुन्न थालेकी छु र म ध्यान दिन सक्दिनँ । त्यसैले मलाई जे गर्दै छु त्यही सहीजस्तो लाग्छ । तिमीले मलाई आफूले सक्ने सबै खुसी दिएका छौ ।’ 
उल्फले सन् १९४१ मा अमेरिकाको लेविसमा आत्महत्या गरेकी हुन् । उनका ‘अ रुम अफ वान्स ओन’, ‘मिसेस डेल्लोवे’, ‘टु द लाइटहावस’ उनका प्रमुख कृतिहरूमा पर्छन् । 




३. सिल्भिया प्लाथ

अमेरिकाको बोस्टन प्रान्तमा जन्मिएकी सिल्भिया प्लाथले ३० वर्षको उमेरमा आत्महत्या गरिन् । सन् १९६३ फेब्रुवरी ११ मा आफ्नो टाउकोलाई ओभनमा राखेर उनले आत्महत्या गरेकी हुन् । ‘द बेल जार’, ‘द मिसिङ मी’, ‘द कोसास्सुस’, जस्ता प्रमुख कृतिकी लेखक प्लाथले लन्डनमा आफ्नै फ्ल्याटमा आत्महत्या गरेकी हुन् । 




४. हन्टर एस थोम्सन

‘द रोम डायरी’ जस्तो उत्कृष्ट पुस्तकका लेखक थोम्सनले ६७ वर्षको उमेरमा आत्महत्या गरेका हुन् । ढाडको रोगबाट ग्रसित उनले सुसाइड नोटमा लेखेका थिए, ‘अब पीडा हुनेछैन मलाई । अब १७ वर्ष तड्पिएजसरी तड्पिनु पर्दैन ।’ उनले सन् २००५ फेब्रुवरी २० मा आफैंलाई गोली हानेर आत्महत्या गरेका थिए । 


५. एन्ने सेक्सटन

सन् १९२८ मा जन्मिएकी एन्नेले १९७४ मा आत्महत्या गरेकी हुन् । पुलित्जर पुरस्कार प्राप्त अमेरिकी कवि सेक्सटनका कवितामा मानसिक तनाव र डिप्रेसन कुरा अधिक पढ्न पाइन्छ । १९७४ अक्टुबर ४ मा ४९ वर्षकी उनले आफैंलाई बेहोसीमा कारभित्र लक गरी आत्महत्या गरेकी हुन् । ‘लिभ अर डाई’, ‘द डेथ नोटबुक्स’ उनका प्रमुख कृतिमा गनिन्छन् । 


६. डेभिड फेस्टर वालेस

सन् १९६२ मा अमेरिकाको न्युयोर्कमा जन्मिएका वालेसले ४६ वर्षको उमेरमा आत्महत्या गरेका हुन् । वर्षौंदेखि डिप्रेसनबाट ग्रसित वालेसले क्यालिफेर्नियामा सन् २००८ झुन्डिएर आत्महत्या गरेका थिए । उनले २० वर्षदेखि डिप्रेसनको औषधि प्रयोग गरिरहेका थिए । आत्महत्या गर्नुअघि उनले दुई पाना लामो सुसाइड नोट लेखेका थिए । ‘द पेल किङ’, ‘इन्फिनाइट जेस्ट’ उनका महङ्खवपूर्ण कृति हुन् । उनलाई सन् २००० को दशकको एकदमै सिर्जनशील लेखकको रूपमा हेरिन्छ । 


७. एब्बी होफमेन

सन् १९३६ मा अमेरिकामा जन्मिएका लेखक तथा राजनीतिज्ञ होफमेनले ५३ वर्षको उमेरमा आत्महत्या गरे । उनले बार्बिटुरेस नामको औषधि अधिक सेवन गरेर आत्महत्या गरेका हुन् । यो औषधि निद्रा नलाग्दा प्रयोग गरिन्छ । डिप्रेसनबाट ग्रसित होफमेनले सन् १९८९ मा अमेरिकाको पेन्सिल्भिनिया प्रान्तमा आत्महत्या गरे । ‘रिभोलुसन फर हेल अफ इट’, ‘स्टिल दिस बुक’, ‘भोट’ आदि उनका प्रमुख कृति हुन् ।


८. जोन बेरिमेन

अमेरिकी कवि बेरिमेन ११ वर्षको हुँदा उनका बाबुले आत्महत्या गरेका हुन् । यस घटनाले उनको जीवनमा निकै प्रभाव पारेको थियो । अधिक रक्सी खाने गरेका उनलाई कैयौंपटक अस्पताल भर्ना गर्नुपरेको थियो । सन् १९१४ मा ओक्लाहोमामा जन्मिएका बेरिमेनले १९७२ मा आत्महत्या गरेका हुन् । जनवरी ७ मा उनले वासिङटन एभिनिउ पुलबाट फाल हानेर आत्महत्या गरेका हुन् । ‘द ड्रिम्स संग्स’, ‘लभ एन्ड फेम’ उनका प्रमुख कृतिहरूमा पर्छन् ।
 

  • प्रकाशित मिति : जेठ ९, २०७६ बिहीबार २२:४७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया