आफ्नै डिजाइनको ‘फाइटर जेट’तिर किन लाग्याे इरान ?

तेहरान– इरानले घरेलु डिजाइनको लडाकु विमान ‘कोसार’को मास प्रोडक्सन सुरु गरेको छ । 

‘छिटै आवश्यक संख्यामा विमानहरू तयार हुनेछन् र हवाई सेनाको सेवामा लगाइनेछन्,’ शनिबार पहिलो विमानको परीक्षण उडानका क्रममा इरानी रक्षामन्त्री अमिर हतानीले भने । 

इरानले घरेलु लडाकु जेट ‘कोसार’ गत अगस्टमा सार्वजनिक गरेको थियो । त्यसक्रममा राष्ट्रपति हसन रौहानीले तेहरानको सैन्य शक्ति केवल शत्रुलाई निरुत्साहित गर्न र क्षेत्रीय शान्ति कायम गर्नका लागि विकास गरिएको बताएका थिए । 

इरानी स्टेट मिडियाका अनुसार नयाँ जेट अत्याधुनिक उडान प्रविधिसँगै बहुउद्देश्यीय राडरजडित छ । 

अगस्टमा विमान उद्घाटनका क्रममा हतानीले १९८० को दशकमा इराकसँग चलेको आठवर्षे युद्धका समयमा इरानले भोगेका ‘एयर रेड’ तथा इजरायल र संयुक्त राष्ट्रसंघबाट पटक–पटक आएका चेतावनीहरूबाट प्राप्त प्रेरणास्वरूप लडाकु विमानसम्बन्धी कार्यक्रम सुरु भएको बताएका थिए । 

‘हामीले त्यो युद्धका दौरान सिक्यौँ कि, हामी आफूबाहेक कसैमाथि भर पर्न सक्दैनौँ । हामीसँग सीमित स्रोतसाधन छन्, त्यसैले हामी न्यूनतम खर्चमा आफ्नो सुरक्षा मजबुत पार्न प्रतिबद्ध छौँ,’ एक टेलिभिजनसँगको अन्तर्वार्तामा उनले भने । 



अमेरिकाले करोडौँ डलरको हतियार इरानका क्षेत्रीय प्रतिद्वन्द्वीहरूलाई बेचेको छ, तर तेहरानलाई भने आफ्ना सुरक्षासम्बन्धी कार्यक्रमहरू रोक्न दबाब दिँदै आएको छ । 

इरानका कट्टर प्रतिद्वन्द्वी, जो अमेरिकालाई इरानविरोधी आक्रामक नारा बुन्न उत्साहित गरिरहेछन्, उनीहरूप्रति इरानले सहनशीलता र रवाफ दुवै सन्तुलित रूपमा देखाउनुपर्ने राष्ट्रपति रौहानी बताउँछन् । 



‘दुई वाक्यसँगै कसैले युद्ध सुरु गर्न सक्छ, दुई सैन्य गतिविधिसँगै कोही द्वन्द्वमा उत्रन सक्छ, त्यतिखेर यो बहुमूल्य हुनेछ,’ राष्ट्रपति रौहानी भन्छन्, ‘यी सीप राष्ट्रलाई न्यूनतम मूल्यमा बचाउनका खातिर हुन् ।’ 

२०१५ मा संयुक्त राष्ट्रसंघले परमाणु सम्झौता हात झिकेदेखि नै इरानले आक्रामक प्रतिक्रियाहरू दिनाका साथै अमेरिकाविरोधी अन्य अन्तर्राष्ट्रिय साझेदारहरूसँग सद्भाव विस्तार गरिरहेको छ । 

अमेरिकी दबाबे पनि यो लडाकु विमानसम्बन्धी अभियानलाई उत्प्रेरित गरेको रौहानी बताउँछन् । 

उनी भन्छन्, ‘अमेरिका हामीमाथि किन आर्थिक दबाबहरू थोपरिरहेछ ? ऊ किन चीनलाई आर्थिक युद्धतर्फ खिचिरहेछ ? किनकि, ऊसलाई लाग्छ कि हामी सबैसँग केही कमजोर पक्ष छन्, हामीले आफ्ना कमजोरी हटाउनैपर्छ ।’ 

  • प्रकाशित मिति : जेठ १०, २०७६ शुक्रबार २०:३८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया