Tue, 20 Aug, 2019


[बाबुराम भट्टराईको विचार] भारतमा मोदीको विजय अपेक्षित थियो, तर मोदीवाद चिरस्थायी हुँदैन
डा‍. बाबुराम भट्टराई
फरकधार / जेठ १०, २०७६

जनसंख्याका हिसाबले भारत विश्वकै ठूलो लोकतान्त्रिक मुलुक हो । भारतमा लोकसभा निर्वाचन सम्पन्न भई मतपरिणाम सार्वजनिक भएको छ । नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीले लगातार दोस्रोपटक प्रचण्ड बहुमत ल्याएको छ । 



यसपटक भाजपाले नै बहुमत ल्याउँछ भन्ने पहिलेदेखि नै मेरो मोटामोटी आकलन थियो । विगतका प्रवृत्तिहरू हेर्दा पनि त्यस्तै देखिन्थ्यो । जितको मार्जिन कति होला भन्ने मात्रै हर्न बाँकी थियो । पछिल्लो चरणमा आइपुग्दा मोदीले नै अत्यधिक मतले जित्छन् भन्ने आम मिडिया जगत्को बुझाइ थियो । अहिले परिणामले त्यही देखायो । मोदीको प्रचण्ड विजयलाई मैले त्यति अनपेक्षित मानेको छैन । 

हाम्रो जस्ता कम विकसित देशमा अहिले सुशासन, समृद्धि, विकासका एजेन्डा नै प्रमुख भएर आएका छन् । यसरी हेर्दा, पहिले भारतमा अलिकति जातीय आधारमा पनि समीकरण हुने गर्थ्यो । यसपटक युपी र विहारको परिणाम हेर्दा त्यो देखापर्दैन । वैचारिक राजनीति मात्रै भन्ने हो भने पनि त्यो देखापर्दैन । मेरो बुझाइमा सुशासन र विकास–समृद्धि, जुन आम जनताको आकांक्षा हो, त्यसैअनुसार जनताले मतदान गरे । झट्ट हेर्दा त यो दक्षिणपन्थ, हिन्दुत्वको पक्षमा मतदान हो कि जस्तो देखिन्छ । तर, अन्तर्यमा गएर हेर्दा त्यसको निम्तिभन्दा पनि जनताले आर्थिक मुद्दालाई नै मतदान गरेजस्तो मलाई लाग्छ । 

आम रुपमा जसले समान्य जनताको मनोभावलाई समात्न सक्छ, चुनावमा उसैको पक्षमा लहर आउँछ । यसरी हेर्दा मोदीको पहिलो कार्यकालदेखि नै जुन ढंगले उनले आर्थिक विकास, समृद्धि र सुशासनका मुद्दालाई मुख्य बनाएर व्यवस्थित ढंगले आधुनिक शैलीमा प्रचार गर्ने शैली अपनाएका थिए । यसबाट उनले र युवापुस्ताको मन जितेका थिए । यसपटक पनि उनले त्यही शैली दोहोर्याए । अन्यको तुलनामा उनको प्रचारशैलीमा श्रेष्ठता पनि देखियो । जनताको भावना पनि त्यस्तै देखियो । 

भारतीय कांग्रेसले नयाँपन ल्याउन सकेन । हिजो स्वतन्त्रता संग्रामपछि गान्धी, नेहरुको जुन प्रभाव थियो, त्यही आधारमा नै ६०–७० को दशकसम्म अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र वैचारिक ध्रुवीकरण पनि फरक प्रकृतिको थियो । त्यसैले नै कांग्रेस प्रभावशाली रह्यो । ८०–९० को दशकपछि विश्वमा नवउदारवादको एक ढंगको लहर आयो । हिजोका जुन कम्युनिस्ट र राष्ट्रवादी सोच तथा प्रणाली थिए, तिनीहरुले स्वतन्त्रता संग्राम र लोकतन्त्रको लडाइँमा त भूमिका खेले, पछि सत्तामा पुगेर आर्थिक–सामाजिक रुपान्तरण गर्न उनीहरु त्यति सक्षम भएनन् । त्यसैले, ८०–९० को दशकपछि प्रोग्रेसिभ वामपन्थी धार अलि कमजोर भयो । र, संसारमै एउटा उदारवादी, दक्षिणपन्थी धार नै हाबी हुँदै गयो । 

अहिलेसम्म आउँदा विश्वमै विशुद्ध पुँजीवादी धार पनि संकटमा छ । वामपन्थी धार पनि संकटमा छ । युरोप र अमेरिकातिर हेर्ने हो भने त्यहाँ पनि अलिकति अनुदारवादी प्रवृत्ति, संकीर्ण राष्ट्रवादी प्रवृत्ति, अझ भनौँ पपुलिस्ट प्रवृत्ति नै हाबी हुँदै गएको छ । दक्षिण एसियामा पनि चाहे पाकिस्तान, चाहे भारत, तत्कालको गरिबी र बेरोजगारीको मुद्दालाई जसले पपुलर ढंगले, प्रभावकारी ढंगले उठाउन सक्यो, त्यतैपट्टी नयाँ पिँढी ढल्केको देखिन्छ । 

मोदीको जितलाई नेपालको आँखाबाट हेर्दा यसले नेपालमा खासै प्रभाव पार्छजस्तो मलाई लाग्दैन । त्यहाँको जुन स्थायी सत्ता हो । त्यो स्थायी सत्ताले छरछिमेक सम्बन्ध र मुख्यगरी नेपाल सम्बन्धको नीति बनाएको छ । मूलतः जुनसुकै पार्टीको सरकारमा त्यो कायम रहँदै आएको छ । विगतदेखि नै कांग्रेस होस् वा गैरकांग्रेस, नेपालसम्बन्धी नीतिमा खासै फरक पर्ने गरेको देखिन्न । त्यसैले मोदीको सरकारमा पनि खास फरक पर्लाजस्तो लाग्दैन । उनीहरुको निरन्तरतामा जुन नीति छ, खासगरी नेपालमा सुरक्षा चासो कायम राख्ने प्रधानता जुन छ, त्यसलाई नेहरुको पालादेखि नै जोड दिँदै आएका छन् । मलाई लाग्छ, अहिले पनि उनीहरुको नेपाल–नीति निरन्तरतामा रहन्छ । 

मोदीले भारतमा उठाएको हिन्दुत्वको मुद्दाले नेपालमा यो मुद्दालाई मलजल गर्छ जस्तो पनि मलाई लाग्दैन । मोदी हिन्दुत्वमा कट्टर छन् । तर, धार्मिकताभन्दा पनि सहिष्णु प्रवृत्ति नै छ उनमा । नेपाली समाज मिश्रित प्रकृतिको छ । विभिन्न जाति, भाषा, सांस्कृतिक विविधताका कारण यहाँ हिन्दुत्वको धर्म र दर्शन आफ्नै ढंगले एडप्टेड भएको पनि छ । हिन्दु, मुस्लिम, बौद्ध, किराँत सबैको मिश्रण भएर सबै धर्म, जाति, समुदाय मिलेर बसेको जुन अवस्था छ, यहाँ कट्टरपन्थी हिन्दुत्व हाबी भएर आउँछ जस्तो मलाई लाग्दैन । राजतन्त्र कालमा आफ्नो पक्षमा जनताको अलिकति पिछडिएको चेतना दोहन गर्न हिन्दुराज्य भनिएको थियो ।

आखिर सुरुमा पनि त्यस्तो थिएन । पछि पञ्चायती संविधानमा मात्रै हिन्दुराज्य भनिएको हो । त्यतिवेला राजाले यस्तो प्रचार गरेर आफूलाई विष्णु भगवान्को अवतारका रुपमा प्रस्तुत गर्न खोजे पनि जनस्तरमा त्यस्तो थिएन । त्यसले अलोकतान्त्रिक रुप नै बढी ग्रहण गर्यो र जनताले राजतन्त्रविरुद्ध संघर्ष गर्ने क्रममा, लोकतन्त्रको निम्ति संघर्ष गर्ने क्रममा त्यसलाई धर्मसँग जोडेर हेरे । धर्म आफ्नो व्यक्तिगत आस्था हो । लोकतन्त्रले नेपालको सहिष्णुताको पनि संवद्र्धन गर्यो । त्यसैले, नेपालमा भारतको जस्तो कट्टरपन्थी धर्मान्धताले ठाउँ बनाउँछ जस्तो मलाई लाग्दैन । 

अहिले भारतीय कांग्रेस र नेपाली कांग्रेसको अवस्था उस्ताउस्तै देखिएको छ । यी दुवै आफ्ना देशका पुराना, लामो संघर्ष गरेका, अधिकतर समय शासन चलाएका पार्टी हुन् । तर, यतिखेर दुवै धरासायी बनेका छन् । भारतीय कांग्रेस र नेपाली कांग्रेसले समयअनुकूल आफूलाई रुपान्तरण गर्न सकेनन् । 

हिजो भारतीय कांग्रेसले अंग्रेजविरुद्धको लडाइँमा संघर्ष त गर्यो, तर फेरि ६०–७० को दशकमा नेहरु र इन्दिरा गान्धीले एक खालको नीति लिन खोजे । राज्यले बढी भूमिका खेल्ने, पुँजीवाद पनि राज्यको हस्तक्षेपसहित  मिश्रित पुँजीवादी अर्थतन्त्रको अभ्यास गरे । त्यो प्रारम्भिक चरणमा ठिकै थियो । तर, त्योभन्दा अगाडि जान त्यो बाटोले खासै काम गर्न सकेन र ८०–९० को दशकपछि उनीहरू कमजोर बन्दै गए । 

नेपालको सन्दर्भमा नेपाली कांग्रेसले सुरुमा लोकतन्त्रको निम्ति भूमिका खेलेकाले उसको लोकतान्त्रिक छवि बन्यो । पछिल्लो चरणमा आएर लोकतन्त्रमा पनि ऊ कमजोर भयो । त्यो एजेन्डा कम्युनिस्टहरु, मुख्यतः त्यतिखेरका माओवादी, हामीले नै उठाएर त्यसलाई संविधानसभा र गणतन्त्रसम्म पुर्यायौँ । त्यसैले, नेपाली कांग्रेस त भारतीय कांग्रेसभन्दा पनि अझ कमजोर धरातलमै थियो । त्यसैले पनि उसले आफूलाई समयअनुसार रुपान्तरण गर्न सकेन भने अगाडि आउन सक्दैन भन्ने मेरो बुझाइ थियो, र सकेन पनि । 

अर्कोपट्टि भारत र नेपालमा कम्युनिस्ट पार्टी र कांग्रेसमा अलिकति फरक छ । भारतका कम्युनिस्ट पार्टीहरुले स्वतन्त्रता संग्रामका वेला राम्रो भूमिका खेल्न सकेनन् । त्यसैले, उनीहरु पछि रहे । नेपालमा चाहिँ लोकतन्त्रको मुद्दामा कांग्रेसले कमजोरी देखाइसकेपछि सुरुमा एमाले र पछि माओवादीले जसरी गणतन्त्र, संघीयता र समावेशी लोकतन्त्रको निम्ति व्यवहारतः नेतृत्व गरे, त्यसले कम्युनिस्ट पार्टीको प्रभाव बढायो । तर, सत्तामा पुगिसकेपछि एजेन्डा त परिवर्तन भयो । सुशासन, समृद्धि मुख्य एजेन्डा भएर आए । त्यस्तो अवस्थामा कम्युनिस्ट पार्टीले गर्न सक्ने केही देखिँदैन ।

बंगाल र केरलामा बलियो उपस्थिति राख्ने त्यहाँको कम्युनिस्ट पार्टी यसपटक धरासायी भयो । यसले पनि के देखाउँछ भने, कम्युनिस्टहरुले आफूलाई समयानुकूल रुपान्तरण गर्न नसक्ने हो भने अहिलेको बदलिँदो परिस्थितिमा नेतृत्व गर्न सक्दैनन् । त्यसैले, नेपालमा पनि अहिलेसम्म त कम्युनिस्ट भएका कारण होइन, लोकतन्त्रका निम्ति लडेका कारण जनताले साथ दिएका हुन् । माओवादीलाई पनि जनताले यसै आधारमा साथ दिएका हुन् । र, अब नयाँ सन्दर्भमा नयाँ ढंगले अगाडि बढ्न नसक्ने हो र रुपान्तरित भएर तत्कालीन सुशासन र समृद्धिका मुद्दालाई व्यवहारतः हल गर्ने ढंगले जान नसक्ने हो भने कम्युनिस्ट पार्टीको पनि नेपालमा भविष्य छैन । त्यो पाठ पनि भारतीय चुनावबाट यहाँका कम्युनिस्टहरुले सिक्नुपर्छ । 

भारतसहित शक्तिराष्ट्र अमेरिका, चीन, रुसको अहिलेको प्रवृत्ति एउटै हो । अमेरिका ‘फस्ट’ भनेर दक्षिणपन्थी कोणबाट नै उदय भएको छ । सुरुमा धेरैले नपत्याए पनि अहिले विस्तार–विस्तार त्यहाँको जनमत ट्रम्पकै पक्षमा फर्कंदै गएको भनिँदै छ । चीनमा पनि सी जिनपिङले राष्ट्रिय गौरवको मुद्दालाई नै अगाडि सारेर, चिनियाँ सभ्यताको श्रेष्ठताका कुरा गरेर आफ्नो शक्ति बढाएका छन्, जनतालाई गोलबद्ध गरेका छन् ।

भारतमा पनि नरेन्द्र मोदीले आफ्नो छुट्टै सभ्यता, भारतको सभ्यता अथवा हिन्दु सभ्यता भनेर ‘भारतलाई फेरि महान् बनाउने’ भन्ने नाराअन्तर्गत आफ्नो प्रभाव बढाइरहेका छन् । सबै शक्तिहरु वैचारिक राजनीतिको आधारमा भन्दा पनि आफ्नो देशको राष्ट्रवादी भावनालाई जगाएर चुनाव जित्ने र सत्तामा पुग्ने प्रवृत्ति देखिन्छ । अमेरिकादेखि चीन हुँदै भारतसम्मको मूल प्रवृत्ति भनेको सत्ताधारी शक्तिहरुले राष्ट्रियताको मुद्दालाई नै केन्द्रमा राखेर र जनताको देशभक्तिको भावनालाई दोहन गरेर सत्तामा पुग्ने स्थिति नै अंगिकार गरेको देखिन्छ । 

अन्त्यमा, मोदीको यो शासन चिरस्थायी हुँदैन । विकास र समृद्धिको नाराले केही समय त पक्कै काम गर्छ । अत्यन्त निरपेक्ष गरिबी, बेरोजगारी भएको ठाउँमा ठुल्ठूला पूर्वाधार बनाउने, भित्र–बाहिर लगानी परिचालन गर्ने, उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने गर्दा केही समय फेरि मोदीको शासनकाल अगाडि जान्छ ।

अन्ततः के हुन्छ भने, देशको जुन विविधता हो, त्यसभित्र वर्ग, जाति, क्षेत्र, लिंग, समुदायका मुलभूत प्रश्नहरु छन्, र राज्यसत्ताको दोहनकारी संरचना छन्, चरित्र छ । त्यसलाई नबदलेसम्म यो खालको राष्ट्रिय प्रचारबाजी धारले विजय हासिल गरेको त देखिन्छ, तर यो दिगो हुँदैन । क्रमशः केही वर्षपछि सिथिल हुँदै जान्छ । अन्ततः समावेशी, समानुपातिक, सहभागितामूलक लोकतन्त्रलाई अंगीकार गर्दै लोकतन्त्रमा आधारित समाजवादी धार नै फेरि विश्वमा उदाउँछ । 

[पूर्वप्रधानमन्त्री डा.भट्टराईसँग फरकधारका रमेश दवाडीले गरेको कुराकानीमा आधारित]


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्