जसको दिमागमा ‘चल्छन्’ चिनियाँ राष्ट्रपति सी

विश्वका ठूला देशका राष्ट्रप्रमुखहरुले बढो चासो दिएर हेरेका छन्, चिनियाँ राष्ट्रपति सी जिङपिङलाई ।

किनकि अब सीले चाहे भने उनी जीवनभर चीनमा राष्ट्रपति बन्न सक्छन् । केही दिनअघिमात्र एउटा संवैधानिक संशोधन गरेर सीलाई आजीवन राष्ट्रपति बन्ने बाटो खुलेको हो । त्यो संशोधनले चिनियाँ राष्ट्रपति दुई कार्यकालमात्र राष्ट्रपति बन्न पाउने कानुनको अन्त्य गरिदियो ।

अब अन्तर्राष्ट्रिय राजनीतिका विश्लेषकहरु भनिरहेका छन्– चीनको यो संशोधन खासमा सीलाई अमेरिकी राष्ट्रपति भन्दा शक्तिशाली देखाउनका लागि गरिएको हो । तर, के यो ‘डिजाइन’ सी आफैंले गरेका हुन् त ? होइन । सीको यो रणनीतिको पछाडि प्रोफेसर वाङ हुनिङको दिमाग रहेको मानिन्छ । अमेरिकामा अध्ययन गरेका वाङ प्रोफेसर पनि हुन् ।

चिनियाँ राजनीतिमा वाङ नयाँ नाम होइन । उनले सीबाहेक यसअघि कम्युनिष्ट पार्टीका दुई महासचिवसँग पनि काम गरिसकेका छन् । चिनियाँ राष्ट्रपति जियाङ जेमिन तथा हु जिन्ताओका भाषण पनि लेखिसकेका वाङले सीका अधिकांश योजना तयार पार्ने गर्छन् । त्यसो त वाङले चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको ‘तेस्रो प्रतिनिधित्व’ तथा हु जिन्ताओको ‘विकासको वैज्ञानिक सिद्धान्त’को मस्यौदा तयार पार्न पनि प्रमुख भूमिका खेलेका थिए । त्यसैले पनि सीले वाङलाई विशेष प्राथमिकता दिन्छन् ।

वाङ सीका हरेक विदेश भ्रमणमा पनि सँगै रहन्छन् । जसरी भारतमा अमित शाहले नरेन्द्र मोदीलाई विजयी बनाउन र अन्य राजनीतिक गणितमा सहयोग गरिरहेका छन्, त्यसैगरि वाङले सीको प्रमुख सल्लाहकार भएर काम गरिरहेका छन् । विश्वमा सीको अन्तर्राष्ट्रिय छविलाई थप बलियो बनाउन र चीनमा गरिबी उन्मूलनदेखि लिएर भ्रष्टाचार न्यूनिकरणमा सीलाई ‘आइडिया’ दिने वाङ नै हुन् ।

वाङ सन् १९८० को दशकमा अमेरिकामा अध्ययन सकेर चीन फर्किएका थिए । एउटा देशको शक्ति प्रयोग गर्ने क्षमता तथा अन्तर्राष्ट्रिय सम्बन्धमा ‘एक्सपर्ट’ मानिने वाङले डिसेम्बर २०१७ मा विश्व इन्टरनेट सम्मेलनमा दिएको भाषणले विश्वमा तहल्का मच्चाएको थियो ।





  • प्रकाशित मिति : जेठ १०, २०७६ शुक्रबार २२:२२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया