१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

कर्णालीबाट अख्तियारमा उजुरीका चाङ
८ महिनामा ९११ वटा उजुरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा भ्रष्ट्राचारविरुद्ध उजुरीका चाङ लागेका छन् ।


आयोगका अनुसार कर्णालीमा चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो चैत २१ गतेसम्म ९ सय १७ वटा मुद्दा दर्ता भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका अनुसार भ्रष्टाचारसम्बन्धी उजुरी आउने दर उच्च छ ।



आयोगको प्रदेश कार्यालय सुर्खेतमा चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा रुकुम पश्चिम ५१, डोल्पा ६३, जुम्ला ८४, मुगु ३५, हुम्ला ६१, कालिकोट ८४, जाजरकोट ८८, दैलेख २ सय १६, सुर्खेत १ सय ७७ र सल्यानबाट ५२ वटा मुद्दा परेका छन् । आयोगमा परेका उजुरी मध्ये अधिकांश स्थानीय तहका छन् ।

गत आर्थिक वर्षमा कर्णाली प्रदेशमा २ हजार ७ सय ७० मुद्दा परेमा १ हजार ५ सय ५९ मुद्दा फर्छ्यौट भएका थिए ।  सूचना अधिकारी खत्रीका अनुसार गत वर्ष सरेर आएका मुद्दा र चालू आर्थिक वर्षका गरी हालसम्म १ हजार ८३ मुद्दा फर्छ्यौट भइसकेको उनले बताए ।



कर्णाली प्रदेश सरकारदेखि स्थानीय तहबाट सञ्चालित विभिन्न योजना तथा कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र उपभोक्ताबिच मिलेमतोमा काम हुन थालेपछि भ्रष्ट्राचार बढ्दै गएको छ ।

योजना तथा कार्यक्रममा अनियमितता हुँदा भ्रष्टाचारको ग्राफ पनि बढ्दै गएको छ । आयोगको तथ्याङ्कअनुसार हरेक महिनामा मुद्दा गर्ने क्रम बढ्दै गएको छ । आयोगमा परेका मुद्दाहरू लिखित निवेदन, टेलिफोनबाट, इमेल, हुलाक सेवा, पत्रपत्रिका लगायतको माध्यमबाट प्राप्त भएका हुन् । जसमा सबैभन्दा धेरै मुद्दा इमेल, लिखित र टेलिफोनको माध्यमबाट उजुरी पर्ने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सूचना अधिकारी धर्मराज खत्रीले बताए ।

कर्णाली प्रदेशमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन तथा वातावरणतर्फ, भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत भौतिक पूर्वाधार तथा यातायाततर्फका र भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत खानेपानीतर्फका मुद्दा आयोगमा बढी पर्ने छन् ।

स्थानीय तहलाई शिक्षा, स्वास्थ्य र विकास निर्माणसँग सम्बन्धित बढी उजुरी पर्ने गरेको अख्तियारको तथ्याङ्कले देखाएको छ । शिक्षा, स्वास्थ्य र स्थानीय तहसँग सम्बन्धित उजुरीहरू बढी आउने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जनाएको छ ।



समयमै काम सम्पन्न नभएको, गुणस्तरहीन काम गरेको र विकास निर्माणका कामहरूमा अनियमितता भएको, कर्मचारी नियुक्ति, उपभोक्ता समितिहरूले काम नगरेको, विद्यालय कोषको रकम हिनामिना गरेको लगायतका विषयमा अख्तियारमा उजुरी पर्ने गरेका छन् । अख्तियारले निगरानी बढाएका कारण पनि उजुरीको सङ्ख्या बढेको हुनसक्ने अनुमान छ ।

साथै अख्तियार आयोगले पत्र–पत्रिकामा आएका समाचारलाई पनि आधार मानी उजुरी दर्ता गर्ने गरेको छ । कर्णालीका जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीले गैर कानुनी काममा संलग्नता बढाउन थालेका छन् ।

अख्तियारको तथ्याङ्कलाई हेर्दा जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीसँगै शैक्षिक क्षेत्रमा कार्यरत व्यक्तिहरूबाट पनि गैर कानुनी काममा संलग्नता बढेको देखिन्छ ।

प्रदेशका ७९ पालिकामध्ये अधिकांशका उजुरी अख्तियारमा छन् । अख्तियारको सक्रियतासँगै नागरिकमा सचेतना वृद्धि भएकाले पनि उजुरी आउने क्रम बढेको अख्तियार कार्यालयले जनाएको छ ।

हाल गाउँघरमा भइरहेका विकास निर्माणका कामहरूमा नागरिकहरूले चासो बढ्न थालेको छ । काम रोकिएको अथवा गुणस्तरीय काम नभएपछि स्थानीयले आयोगलाई सम्बन्धित योजनाको वस्तुस्थितबारे टेलिफोनमार्फत जानकारी गराउने गरेका छन् ।  

  • प्रकाशित मिति : २२ चैत, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया