बजेट बहस
के छ अपेक्षा बजेटमा कलाकार तथा साहित्यकारको ?

काठमाडौं– आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले बजेट १५ जेठमा बजेट प्रस्तुत गर्दै छ । बजेटबारे सबै तहलाई चासो हुनु स्वभाविक नै हो किनकि यसले आम मानिसको जीवनमा पनि ठूलो प्रभाव पार्छ । बजारको ट्रेन्डलाई नै बदल्न सक्ने भएकाले बजेटबारे धेरैको चासो हुन्छ नै ।

अघिल्लो वर्ष विज्ञ अर्थमन्त्रीका रुपमा चिनिएका डा. युवराज खतिवडाले ल्याएको बजेटले आम मानिसको मागलाई सम्बोधन गर्न नसकेको, सत्तारुढ दलकै आश्वासन त्यसमा नसमेटिएको र परिपक्व नबनेका आयोजनालाई रकम दिएकाले पुँजीगत खर्च हुन नसकेको लगायतका टिकाटिप्पणी भए । अबको आर्थिक वर्षको बजेटमा सरकारले थप जिम्मेवारी भएर बजेट ल्याउने अनुमान धेरैको छ । विभिन्न  कलाकार तथा साहित्यकारलाई  हामीले यो बजेटबाट के अपेक्षा छ त भनेर सोधेका थियौँ । उनीहरुको जवाफः

हरिहर शर्मा 

मैले बजेट भाषण पहिलेदेखि नै सुन्दै आएको छु । जतिवेला म कलाकारका रूपमा काम गर्थे । त्यतिखेर झनै चासो दिएर सुन्थेँ । किनभने देशमा कति बजेट के–के कामका लागि आयो भन्ने थाहा पाउँदा आनन्द लाग्थ्यो । म कलाकारका रूपमा काम गरेको हुनाले मात्र होइन समग्रमा बजेट भाषण सुन्ने मेरो बानी नै हो । त्यसैले सुन्छु । अहिले प्रशासनिक क्षेत्रमा आएपछि अझ बढी गम्भीर भएर हेर्ने गर्छु । यो मेरो स्वार्थ मात्र होइन, कर्तव्य पनि हो ।

नेपाल सरकारले बजेट छुट्याउँदा कला–साहित्यभन्दा अन्य क्षेत्र प्राथमिकतामा पर्छन् । तर, कला–साहित्य राज्यको अपरिहार्य वा प्राथमिकतामा पर्ने विषय हो । अहिलेसम्मको गणितीय हिसाबबाट हेर्दा तुलनात्मक रूपमा कला–साहित्यका लागि अत्यन्तै कम बजेट छुट्याइएको देखिन्छ । यो अहिलेसम्म देखिँदै आएको कुरा हो । 



कला–साहित्यको पनि एकदमै महत्वको क्षेत्र भएकाले यसतर्फ सरकारले आफ्नो आर्थिक नीति तथा कार्यक्रममा बजेट छुट्याउनुपर्छ । यसपालि यथोचित रूपले र सम्मानपूर्वक छुट्याउला भन्ने मेरो अपेक्षा छ । अहिले सम्बन्धित निकायमा भएकाले यसप्रति मेरो पनि एकदमै चासो छ । 

हामी प्रत्यक्ष रूपमा सम्बन्धित मन्त्रालय र अर्थमन्त्रीलाई पनि भेटेर कुरा गरेका छौँ । यो क्षेत्रको प्रवद्र्धनका लागि बजेटको सिमाना बढाइयोस् भन्ने मेरो अपेक्षा छ । सरकारले त्यो कुन रूपमा हेरेको छ । त्यो भने हेर्न बाँकी नै छ । 



भूपिन खड्का 

बजेटबारे मेरो खासै चासो छैन । यो म खासै बुझ्दिनँ । रेडियो वा टेलिभिजनमा सुन्छु÷हेर्छु । पत्रपत्रिका पढ्छु । तर, एउटा कुरा के हो भने राज्यले अहिलेसम्म पनि कला र साहित्यलाई अनुत्पादक क्षेत्रका रूपमा हेर्ने गरेको छ । यो गलत छ । खासमा कला–साहित्य एकदमै उत्पादनशील कुरा हो । त्यसैले कला र साहित्यका लागि सरकारले बजेट  छुट्याउनु नै पर्छ ।

कुनै पनि सरकारी निकाय, जस्तैः नगरपालिका वा गाउँपालिका वा कुनै पनि ठाउँमा कला र साहित्यका लागि केही काम गर्दै छौँ, त्यसका लागि केही सहयोग गर्नुपर्यो भन्दा नाक खुम्च्याउँछन् । हामीलाई सहयोग गर्दैनन् । 

राज्यले बाटो बनाउने, यस्तै अरू भौतिक संरचनाको निर्माण गर्ने आदि काममा ध्यान दिन्छ । तर, भौतिक संरचनाको विकास गरेर मात्रै देशको विकास हुँदैन । यो मेरो स्पष्ट धारणा हो । त्यसैले सरकारले यसपालिको बजेटमा कला–साहित्यका लागि बजेट छुट्याउनुपर्छ । छुट्याउला भन्ने अलि–अलि आशा छ, तर विश्वास भने छैन ।

राम्रो संस्कार निर्माण गर्नका कला–साहित्य नै चाहिन्छ । त्यसकारण उदात्त रूपमा कला र साहित्यका लागि बजेट छुट्याउनुपर्छ । म हरेक वर्ष बजेटसम्बन्धी कार्यक्रम हेर्छु । रेडियो, टेलिभिजनमा हेर्छु । हिजोआज पत्रपत्रिका पढेर थाहा पाउँछु ।

सोमनाथ खनाल 

नेपालमा रंगमञ्चीय स्कुलिङ छैन । यो एकदमै आवश्यक छ । यसका लागि बजेट छुट्याउनु आवश्यक छ । सरकारले पनि अहिले समृृद्धिको नारा ल्याएको छ । यो त्यत्तिकै आउँदैन । यसका लागि सांस्कृतिक कुरा पनि बनेर जानुपर्छ । सांस्कृतिक कुराहरू पनि बनेर जानुपर्छ । यसपालि सरकारले यो क्षेत्रका लागि बजेट छुट्याउँछ कि भन्ने अलि–अलि आशाचाहिँ छ ।

मैले बजेट भाषण खासै हेर्दिनँ । तर, अलि–अलि चासो दिन थालेको २–३ वर्ष भयो । तर, भाषण नै सुन्न भनेर बस्दिनँ । टेलिभिजन वा रेडियो खोेलेर अपडेटचाहिँ लिन्छु । कला, साहित्य तथा रंगमञ्चका लागि बजेट के–कति छुट्याउँछ भन्नेबारे जान्ने प्रयास गर्छु । अरू क्षेत्रबारे थाहा छैन ।

हामीले नेपाल सरकारले यो क्षेत्रका लागि के–के सहयोग गरेको छ भन्ने बुँदा निकाल्यौँ । यसरी रिसर्च गर्दा कला–साहित्यका लागि अलि–अलि मात्रै बजेट छुट्याएको देखिन्छ । त्यो देखेर सहयोग मागौँ, भनेर सोच्यौँ । हामीले इन्टरनेसनल थिएटर फेस्टिभल गर्दै छौँ भनेर केही रकम सहयोग पाऊँ भनेर एउटा प्रपोजल बनायौँ । प्रपोजल पठाउँदा पनि उनीहरूले वास्ता नै गरेनन् । 

त्यसैले बजेट छुट्याइए पनि सम्बन्धित निकायले पाउन गाह्रो छ । हामीले १२ लाख माग राखेर प्रपोजल पेस गर्यो । ५० हजार दिन्छौँ भन्यो । रकम पाउन एकदमै झन्झिटिलो प्रक्रिया पूरा गर्नुपर्ने रहेछ । कर्मचारी तन्त्रबाट सहयोग लिन गाह्रो छ । त्यसैले सहयोग पाइन्छ भनेर खासै आशावादीचाहिँ हुन्नँ । तर, यसप्रति चासो भने दिन्छु ।

यदि सरकारले कला–साहित्यका लागि बजेट छुट्याउँछ भने एकचोटि सम्बन्धित क्षेत्रका व्यक्तिसँग सरसल्लाह गर्नुपर्छ जस्तो लाग्छ । यसपालिको बजेट भाषण सुन्न भने आतुर छु किनभने ‘इन्टरनेसनल थिएटर फेस्टिभलमा’ प्रधानमन्त्री, संस्कृतिमन्त्रीले पनि यो क्षेत्रका लागि विशेष सहयोग गर्ने कुरा गरेका थिए । त्यसैले अलिकति भए पनि आशावादी छु, यसपालि । कला–साहित्यमा काम गर्नका लागि बजेट छुट्याओस् भन्ने मेरो अपेक्षा छ ।

विप्लव ढकाल 

बजेट भाषण त पहिलेदेखि नै सुन्दै आइरहेको छु । तर, आजसम्म चित्तबुझ्दो बजेट भाषण सुन्न पाएको छैन । राज्यको मूल मेरुदण्ड नै अर्थतन्त्र हो । त्यसैले यसको बारेमा जान्न इच्छा हुन्छ अनि बजेट भाषण सुन्छु । यो सबैको चासोको विषय पनि हो जस्तो लाग्छ । 

कला–साहित्यको विकास र उन्नयनका लागि र गहन अध्ययन र अनुसन्धानका क्षेत्रमा विशेषगरी सर्जकलाई कठिन अवस्था छ । त्यसैले अध्ययन र अनुसन्धानका लागि सरकारको यो बजेटले सम्बोधन गरे हुन्थ्यो जस्तो लाग्छ ।

हुन त कला, साहित्य क्षेत्रका लागि भनेर अहिलेसम्म बजेट छुट्याएको देखिँदैन । तर, मूल रूपमा राज्यले एकेडेमी (प्रज्ञा प्रतिष्ठान)मार्फत जुन रकम छुट्याउँछ, त्योअन्तर्गत नै कलाका समग्र पक्ष सञ्चालित हुने गर्छन् । तीनवटा एकेडेमीमार्फत आएके बजेट कला–साहित्यको सर्वांगीण उन्नयनका लागि खर्च हुनुपर्ने हो, तर अपेक्षित काम भने हुन सकेको छैन । यसपालि केही हुन्छ कि हेरौँ ।

अमर न्यौपाने

बजेट भाषण आउन थालेको ३० वर्षभन्दा बढी नै भयो र मैले सुन्न थालेको २५–२६ वर्ष भयो । म ५–६ कक्षा पढ्दादेखि नै पञ्चवर्षीय योजना, एसियाली मापदण्डजस्ता सबै कुरा लेखेर पढ्थेँ । याद गर्थें । त्यसैले सानैदेखि यसप्रतिको मोह बढेको थियो । खासमा मैले पञ्चायतकालदेखि नै यसबारे सुन्न थालेको हुँ । अर्थमन्त्री प्रकाशचन्द्र लोहनीको पालादेखि मैले यो सुन्न थालेको हुँ । अर्थशास्त्रको विद्यार्थी भएकाले पनि यसप्रति एकदमै चासो दिन्थेँ । बजेटप्रतिको चासो बढ्नुको कारण यो पनि थियो ।

प्रजातन्त्र आएपछि अर्थमन्त्री देवेन्द्रराज पाण्डेको बजेट भाषण सुनेँ । त्यतिवेला कृष्णप्रसाद भट्टराईको सरकार थियो । त्यसपछिको महेश आचार्यको बजेट भाषण सुनेँ । यसरी हरेक भाषण सुन्थेँ । ०५० सालतिर बजेट भाषण सुन्दा के लाग्थ्यो भने अब एक वर्षमा त नेपालको कायापलट हुन्छ होला । तर, बिडम्बना ! एकवर्षमा हुन सक्ने परिवर्तन ३० वर्षमा पनि हुन सकेको छैन ।

पछि नेताहरू झुटो बोल्ने रहेछन् बजेट भाषण एउटा कर्मकाण्ड मात्र हो भन्ने लाग्यो । ०५६ सालतिरदेखि यसप्रतिको मेरो मोह नै भंग भयो । सुन्नै छाडिदिएँ । कुरा ठुल्ठूला हुन्छन्, तर कार्यान्वयन एक–दुई प्रतिशत पनि हुँदैन । 

हाम्रो बजेटका मूल समस्या भनेको नै यसको कार्यान्वयन नहुनु हो । जता पायो त्यतै बजेट विनियोजन गरेको छ । त्यो कार्यान्वयन हुने भनेको कि कर्मचारीको तलब वृद्धिमा हुन्छ कि त कर लिने काममा कार्यान्वयन हुन्छ । त्यो पनि ठुल्ठूला मान्छेसँग कर लिने कुरा भएन । त्यही पैसाले कार्यकर्ता पाल्छन्, बरु । चुनाव जित्नका लागि सँगालेर राखेका हुन्छन् । त्यसैले पछिल्लो समय मैले बजेट भाषण टुक्राटाक्री मात्रै सुन्न थालेँ । 

मलाई त के लाग्छ भने सरकारले नेपाली साहित्यको लागि नभए पनि जनताका आधारभूत कुराहरू जस्तै ः स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, सबै कुराको सुरक्षा गरिदिए त साहित्य आफैँ राम्रो हुन्थ्यो । कला, साहित्यको छुट्टै विकासका लागि खासै केही गर्नुपर्दैन । 

त्यसैले मलाई यो बजेट भाषणको विश्वास नै लाग्न छोड्यो । सरकारको यस्तो पारा देखेर मलाई के लाग्छ भने सरकारमा यत्ति धेरै पढेलेखेका अर्थमन्त्री, प्रधानमन्त्रीले म एउटा सामान्य मान्छेले जानेको अर्थशास्त्रको नियम पनि पालना गरेका छैनन् । 

अब यसपालिको बजेटमा पनि केही होलाजस्तो लाग्दैन । त्यसैले केही अपेक्षा पनि गरेको छैन । यो बजेट भाषणपछि मान्छेका आधारभूत आवश्यकतालाई मध्यनजर गरेर बजेट कार्यान्वयन गरे हुन्थ्यो जस्तो लाग्छ ।

यदि सरकारले कला साहित्यका लागि गर्ने नै हो भने फुलटाइम लेख्ने थोरैजना मात्र छौँ । उनीहरूलाई अथवा राम्रा लेख्नेलाई सरकारले बजेट छुट्याए हुन्थ्यो भन्ने अपेक्षा छ । तर, मलाई राम्ररी थाहा छ यो पूरा हुनेवाला छैन । 

टंक चौलागाईं 

मैले बजेट भाषण सुन्न थालेको रामशरण महत अर्थमन्त्री हुँदादेखि हो । त्यो वेला रंगमञ्च भनेर खासै थाहा थिएन । त्यसमा पनि रंगमञ्चलाई बजेट चाहिन्छ भनेर थाहा थिएन । 

तर, कला–साहित्यमा लागेपछि यसमा पनि बजेट चाहिने रहेछ भन्ने कुरा महसुस हुन थाल्यो । पहिले यो प्राइभेट सेक्टरबाट आफैँले पनि गर्नुपर्छ होला जस्तो लाग्थ्यो । सरकारले हरेक क्षेत्रलाई बजेट छुट्याएर कहाँ सक्छ र जस्तो लाग्थ्यो । तर, जब आफैँ यसमा होमिएँ, तब थाहा पाएँ कि यो त आवश्यक रहेछ । 

नेपालमा कुनै फेस्टिभल गर्दा अरू देशका मान्छेहरू आउँछु भनेर पनि नआउँदा किन आएनौ ? भनेर सोध्थँे । उनीहरूको जवाफ हुन्थ्यो– सरकारले फन्ड उपलब्ध नगराएको हुनाले आइएन । युरोपका देशमा त्यहाँको सरकारले युवाहरूलाई पैसा सहयोग गरेर केही गर्न उत्प्रेरणा दिँदो रहेछ । त्यसैले हाम्रो सरकारले पनि बजेट छुट्याए राम्रो हुन्थ्यो जस्तो लाग्छ । यसको सम्भावना पनि छ । त्यसैले सरकारले कला–साहित्यका लागि बजेट छुट्याओस् भन्ने अपेक्षा छ । 

अहिले कला–साहित्यका क्षेत्रबाट आएका हरिहर शर्मा पनि नै त्यो ठाउँमा हुनुुहुन्छ । त्यसैले पक्कै पनि सरकारले यो क्षेत्रका लागि केही बजेट छुट्याउँछ भन्ने अपेक्षा छ । 

राजधानीमा भएको थिएटर फेस्टिभलमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘यो क्षेत्र चानचुने होइन’ भनेर सम्बोधन गरेका थिए । केही बजेट छुट्याइन्छ भनेका थिए । यसपटक कला साहित्य र रंगमञ्चका लागि बजेट छुट्टिन्छ भन्ने आशा छ । 
 

  • प्रकाशित मिति : जेठ १३, २०७६ साेमबार १७:०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया