सफ्टेड ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठले डिजी पाठ्यक्रमको प्रभाव विद्यालयमा लागु गरेको दुईदेखि तीन वर्षमा देखिने बताएका छन् । कास्की जिल्लाको पोखरामा डिजी स्कुलले गत मंगलबार आयोजना गरेको ‘कनेक्ट एण्ड लिड’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले डिजी पाठ्यक्रम लागू गरेको दुई/तीन वर्षमा विद्यार्थीमा परिवर्तन देखिने बताएका हुन् ।
डिजी स्कुलले नेपालमा सञ्चालन गरिरहेको आईटी कोर्स व्यापारिक प्रयोजनका लागि नभई शैक्षिक अभियान भएको उनको भनाइ छ । डिजी स्कुलको पाठ्यक्रम अहिले ५०औँ हजार विद्यार्थीले पढिरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । डिजी पाठ्यक्रम विद्यालयमा लागू गरेको दुई/तीन वर्षमा प्रतिफल देखिने उनको दाबी छ ।
उनले भने, ‘विद्यालयमा यो काेर्स लागू गरेको अर्काे वर्ष नै विद्यार्थीमा परिवर्तन खोज्नुहुँदैन । एक वर्ष कोर्स पढेर के भयो केही परिवर्तन देखिएन भन्ने हुँदैन । कोर्स लागू गरेको दुई/तीन वर्ष तपाईहरूले प्रतिक्षा गर्नैपर्छ ।’
नेपालमा टेक्नोलोजी एजुकेसनको परिवर्तनको आवश्यकता महसुस गरेर डिजी पाठ्क्रम भित्र्याएको जानकारी दिए । लामो समय उच्च शिक्षामा काम गर्दा कक्षा १२ अध्ययनपछि उच्च शिक्षा अध्ययन गर्न आउन विद्यार्थीमा आईटी शिक्षा सम्बन्धी जानकारी निकै कम भएको महसुस गरेपछि विद्यालय तहमै आईटी शिक्षा आवश्यकता रहेको र अहिले डिजी स्कुल विद्यालय तहमै आईटी शिक्षा उपलब्ध गराउने अभियानमा लागेको उनले बताए ।
डिजी पाठ्यक्रम लागू गरेका विद्यालयका प्रिन्सिपल तथा अभिभावकहरूसँग कुराकानी, छलफल गर्दा कोर्स लागू गरेको दुई/तीन वर्षपछि त्यसको प्रभाव विद्यार्थीमा देखिएको र विद्यार्थीमा सोही अनुरुपको परिवर्तन देखिँदै आएको अनुभव सुनाउने गरेको जानकारी पनि अध्यक्ष श्रेष्ठले कार्यक्रममा उपस्थितहरूलाई दिएका थिए ।
अहिलेका बच्चाहरू आफैँ सिक्न खोज्ने भएको हुँदा डिजी स्कुलको पाठ्यक्रमले उनीहरूलाई बाटो देखाउन मद्दत गर्ने उनको भनाइ छ । एआई, च्याटजिपिटी जस्ता प्लेटफर्महरूको तीव्र रूपमा विकास भइरहेकाले अब टेक्सबुकको जमाना गएको पनि उनले उल्लेख गरे । डिजी स्कुलको पाठ्यक्रम ‘फन लर्निङ’ भएकाले विद्यार्थीलाई पढ् भन्नु नपर्ने, बच्चाहरू नै डिजी स्कुलको पाठ्यक्रममा आकर्षित हुने गरेको उनको भनाइ छ ।
डिजी पाठ्यक्रमले विद्यार्थीलाई करले भन्दा पनि रहरले पढ्ने बानीको विकास गर्ने अध्यक्ष श्रेष्ठ बताउँछन् । कक्षा १० पास गरेको विद्यार्थीले टेक्नोलोजी सम्बन्धी के पढ्यौँ भन्ने प्रश्न नगर्ने अवस्था सिर्जना गर्नका लागि पनि अहिले देखिनै विद्यार्थीलाई आईटी शिक्षा दिनु सबै अभिभावकको जिम्मेवारी रहेको उनले बताए ।
अहिले विश्वमा आईटीको विकास तीव्र गतिमा भइरहेकाले त्यसको गति हामी र हाम्रा बालबालिकाले समात्न सक्नुपर्ने अवस्था रहेको उनले बताए । विद्यार्थीलाई सानै उमेरदेखि कोडिङ, वेबसाइट, मोबाइल एप्लिकेशन बनाउन सिकाउनुपर्ने आवश्यकता रहेको उनले बताए । १२ कक्षा पास गरेर निस्किँदा हामीले विद्यार्थीलाई उद्यामी बनेर निस्किन सक्ने गरी विद्यालय तहमै तयार गर्नुपर्ने उनले बताए ।

उनले आईटी क्षेत्रलाई विश्वबजारले विद्यालय तहसँग कसरी जोडिरहेको छ भन्ने जानकारी दिँदै हामीले पनि कक्षा १ देखि नै विद्यार्थीलाई आईटी क्षेत्रसँग जोडेर लग्नुपर्ने बताए ।
विद्यालय तहमा आईटी शिक्षा लागू गर्न प्रारम्भमा केही समस्या तथा चुनौति देखिने गरेपनि त्यसलाई चिर्दै अघि बढ्नुपर्ने उनको भनाइ छ । विद्यालयको नेतृत्वले सही निर्णय गर्न सके समस्याको समाधान जसरी पनि निस्किने उनको बुझाई छ । विद्यालयलाई टेक्नोलोजीमा लैजाने वा नलैजाने भन्ने निर्णय विद्यालय सञ्चालकले गरे शिक्षक वा अन्य समस्याहरूको समाधान निस्किने उनले बताए ।
डिजी स्कुलले विद्यालय तहको आईटी पाठ्यक्रम तथा आइटी क्षेत्रको विकसित पाठ्यक्रमको बारे गण्डकी प्रदेशका शैक्षिक संस्थाका प्रतिनिधिहरूसँग छलफल गर्न कनेक्ट एण्ड लिड कार्यक्रमको आयोजना गरेका थियो ।
सो छलफलका क्रममा डिजी स्कुलले ल्याएको आइटीसम्बन्धी पाठ्यक्रम, अवसर र उपयोगिताबारे पोखराका शैक्षिक संस्थाका प्रतिनिधिहरूलाई जानकारी गराइएको थियो ।
के हो डिजी स्कुल ?
बेलायत सरकारमातहत दर्ता भएर विद्यालय र उच्च शिक्षासम्बन्धी पाठ्यक्रम निर्माण गर्ने एनसिसी एजुकेसनले विद्यालय तहको लागि तयार गरेको कम्प्युटर कोर्स ‘डिजी प्रोग्राम’लाई ‘डिजी स्कुल’ नाम दिएर सन् २०२० मा नेपालमा भित्र्याइएको हो । यसलाई सफ्टवेरिका कलेज अफ आईटी एन्ड इ–कमर्सले नेपालमा भित्र्याएको हो ।
डिजी स्कुलले कक्षा १ देखि १२ सम्मका विद्यार्थीका लागि पाठ्यक्रम तयार पारेको छ । उक्त पाठ्यक्रममा जाभा, पाइथन, सिउडोकोड, स्क्रयाच, डाटा साइन्स, साइबर सेक्युरिटी, फोटो भिडियो सम्पादन, कम्प्युटर हार्डवेयर मर्मतलगायतको ज्ञानसँगै सीप सिक्न पाइन्छ ।
अनलाइन र अफलाइन दुवै प्रणालीबाट पनि यो पाठ्यक्रमको अध्ययन गर्न सकिने डिजी स्कुलले जनाएको छ । माध्यमिक तह (कक्षा १०)को शिक्षा उत्तीर्ण गरेपछि मात्र कम्प्युटर शिक्षा सिक्न जाने शैक्षिक परिवेश रहेको हाम्रो देशमा विद्यालय तहदेखि नै त्यसको अध्यापन गराउने उद्देश्यले डिजी कोर्सलाई नेपाल भित्र्याइएको हो ।
स्नातक तहमा आईटी पढ्न आउने विद्यार्थीमा आइटीसम्बन्धी न्यूनतम् ज्ञानसमेत नभएको देखिएपछि विद्यालय तहबाट नै यसको सुरुवात गर्नुपर्छ भन्ने लागेर यो कोर्सलाई नेपाल भित्र्याइएको डिजी स्कुलका सिइओ राजु बानियाँले बताए ।
कक्षा १२ मा एकैपटक आईटी पढ्नुपर्ने बाध्यतालाई अन्त्य गर्न विद्यालय तहदेखि नै आइटीसम्बन्धी कोर्सलाई मुख्य विषयमा राख्नुपर्छ भन्ने महसुस भएपछि यो कोर्स ल्याउने योजना बनेको उनले बताए ।
नेपालमा अध्यापन भइरहेको आईटी शिक्षाले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्ने भएकाले २१औँ शताब्दीको आईटी शिक्षा दिनुपर्छ भन्ने उद्देश्यले यो कोर्सलाई नेपाल भित्र्याइएको डिजी स्कुलका सिइओ राजु बानियाँले बताए ।
कक्षा १ देखि १२ सम्म यो कोर्सले आईटीमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई सहयोग गर्ने उनको भनाइ छ । ‘यो २१औँ शताब्दीको नागरिक बन्न सहयोग गर्ने खालको कोर्स हो,’ बानियाँले भने ।
यो कोर्स लागू गर्ने स्कुलका शिक्षकलाई कक्षा कोठामा कसरी विद्यार्थीलाई अध्यापन गराउने भनेर डिजी स्कुलले नै तालिम दिने गरेको छ । नेपालका स्कुलमा डिजी स्कुलको कोर्स सञ्चालन गर्न एनसिसी युकेसँग अनुमति लिनुपर्ने प्रावधान छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।