२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

कक्षा ८ को परीक्षामा बेनीका दुई विद्यालयको नतिजा शून्य

म्याग्दीको बेनी नगरपालिकाले सञ्चालन गरेको आधारभूत तह कक्षा ८ को नगरस्तरीयपरीक्षामा दुई विद्यालयको नतिजा शून्य भएको छ । बेनी–१ रत्ने चौरको भानु माध्यमिक विद्यालय र वडा नं ३ भकिम्लीको बालप्रिय शारदा आधारभूत विद्यालयको नतिजा शून्य भएको हो ।


नगरभित्रका सामुदायिक २४, संस्थागत आठ र एउटा उज्यालो वैकल्पिक विद्यालयबाट कक्षा ८ को परीक्षामा सहभागी भएकामध्ये दुई विद्यालयबाट कुनै पनि विद्यार्थी उत्तीर्ण हुन नसकेका नगरको शिक्षा शाखाका अधिकृत कमलप्रसाद ढकालले जानकारी दिए ।



उनले पालिकाले सञ्चालन गरेको परीक्षामा समग्रमा गतवर्षको तुलनामा नजितामा सुधार देखिए पनि दुई विद्यालयको नतिजा भने निराशजनक भएको बताए । ढकालका अनुसार भानु माविबाट ११ विद्यार्थी परीक्षामा सहभागी भएकामा एक जना मौका परीक्षामा सहभागी हुनेछन् भने १० जना अनुत्तीर्ण भएका छन् ।

बालप्रिय विद्यालयबाट सहभागी सातमध्ये चार जना मौका परीक्षामा सहभागी हुनेछन् भने तीन जना अनुत्तीर्ण भएका नगरको शिक्षा शाखाले जनाएको छ । ‘कक्षा ८ को नगरस्तरीय वार्षिक परीक्षा सञ्चालनका लागि एउटै प्रश्नपत्र तयार गरिएको थियो । साथै फरक विद्यालयका शिक्षकलाई केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष नियुक्त गरी परीक्षा सञ्चालन गरिएको थियो । उत्तरपुस्तिका ‘कोडिङ’ गरेर परीक्षण गरिएको थियो । परीक्षामा एक संस्थागत र नौ सामुदायिक विद्यालयको नतिजा कमजोर देखिएको छ’, शिक्षा शाखाका अधिकृत ढकालले भने ।



परीक्षामा सहभागी आठ ८४ विद्यार्थीमध्ये ६४१ उत्तीर्ण र दुई सय ३७ विद्यार्थी अनुत्तीर्ण भएका शिक्षा शाखाले जानकारी दिएको छ । शाखाका अनुसार बढीमा दुई विषयमा अनुत्तीर्ण भएका विद्यार्थीका लागि सञ्चालन हुने ‘ग्रेड’ वृद्धिको परीक्षामा एक सय ७३ विद्यार्थी सहभागी हुनेछन् । परीक्षामा गणितमा तीन सय ६१, अङ्ग्रेजीमा एक सय ६३, नेपालीमा एक सय ३९, विज्ञानमा दुई सय २४ र सामाजिकमा एक सय ६३ जना अनुत्तीर्ण भएका छन् ।

ढकालका अनुसार गत वर्ष कक्षा ८ को परीक्षामा अनुत्तीर्ण भएकामध्ये पाँच विषयमा पाँच/पाँच अङ्क र दुई विषयमा दुई÷दुई अंक ग्रेसमार्क (मापदण्ड नपुगेकाले थपेर दिने अंक) दिँदा ६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकामा यस वर्ष ग्रेसमार्क नदिँदा पनि ७२ दशमलव ५१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

उत्तीर्ण प्रतिशतका आधारमा गत वर्षभन्दा नतिजामा सुधार भए पनि शून्य र ५० प्रतिशत विद्यार्थीसमेत उत्तीर्ण नहुने विद्यालयको शैक्षिक अवस्थाले गम्भीर बनाएको नगरपालिकाको शिक्षा शाखाका उपसचिव क्षेत्रबहादुर भण्डारीले बताए ।

उनले कमजोर शैक्षिक अवस्था भएका विद्यालयको गुणस्तर सुधार गर्न नगरपालिकाको नेतृत्वसँगै स्थानीय सरोकार भएका निकाय र विद्यालयसँग सम्बन्धित पक्षबीच छलफल र अन्तरक्रिया गरी योजना बनाएर अघि बढ्ने जानकारी दिए ।



  • प्रकाशित मिति : ३० चैत, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया