विद्यालय शिक्षा ऐनको मागसहित सडक आन्दोलनमा होमिएका शिक्षकहरूले मंगलबार पनि निरन्तरता दिएका छन् । चरणबद्ध रूपमा आन्दोलन अघि बढाइरहेका देशभरका शिक्षकहरू यति बेला शैक्षिक हडताल घोषणा गरेर काठमाडौंका सडकमा छन् ।
विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० चाँडोभन्दा चाँडो पारित गरियोस् भन्ने माग राख्दै नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरूको आन्दोलन २०८१ को चैत २० गतेदेखि जारी छ ।
शिक्षकहरू बबरमहल–बानेश्वर सडकमा भेला भई शान्तिपूर्ण रूपमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् । शिक्षकको आन्दोलनले सवारी आवागमन अस्तव्यस्त बनेको छ र सर्वसाधारणलाई सास्ती भएको छ ।
शिक्षकहरू प्रस्तावित विधेयकमा गरिएका केही व्यवस्थाहरू खारेजसहित विभिन्न १८ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।
मंगलबारदेखि सुरु भएको विद्यार्थी भर्ना अभियान समेत प्रभावित भएको छ । शिक्षक तथा विद्यालय कर्मचारीहरूको आन्दोलनका कारण आजदेखि देशभर सुरु भएको विद्यार्थी भर्ना अभियान प्रभावित भएको हो ।
आन्दोलनरत शिक्षकलाई कक्षा १२ को आसन्न परीक्षामा सहयोग गर्न राष्ट्रिय परीक्षा बोर्ड र शिक्षा मन्त्रालयले आग्रह गरेका छन् । तर शिक्षक महासङ्घले आफ्नो माग पूरा नभएसम्म सहयोग नगर्ने चेतावनी नै दिइसकेको छ । यसपालि नेपालभरिबाट कुल साढे पाँच लाख विद्यार्थीले कक्षा १२ को परीक्षा दिँदै छन् । सरकार र शिक्षकबीच वार्ता हुन नसके परीक्षा पनि प्रभावित हुने जोखिम छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।