पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा भएको बम विस्फोटमा तीनजना प्रहरीको ज्यान गएको छ । यस्तै, १६ जना घाइते भएका छन् ।
सरकारी प्रवक्ता शाहिद रिन्दका अनुसार घटना मस्तुङको कुन्द मसुरी क्षेत्रमा भएको हो, जहाँ तालिम केन्द्रबाट फर्किरहेकै क्रममा प्रहरी चढेको गाडीलाई लक्षित गरी विस्फोट गराइएको थियो ।
दुईजना घाइतेको अवस्था गम्भीर छ । सबै घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । प्रहरी टोली बलुचिस्तान नेशनल पार्टी–मेङ्गल (बीएनपी–एम) द्वारा आयोजना गरिएको धर्नाको सुरक्षामा खटिएको थियो ।
घटनापछि बोलन मेडिकल कलेज अस्पताल र क्वेटा सिभिल अस्पतालमा आपतकालीन व्यवस्था मिलाइएको छ । सरकारले घटनाको छानबिन सुरु गरेको र विस्तृत प्रतिवेदन मागिएको छ ।
बलुचिस्तान प्रान्तका मुख्यमन्त्री सरफराज बुग्टीले घटनाको कडा निन्दा गर्दै घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिए । उनले प्रान्तीय स्वास्थ्य मन्त्रीलाई उपचार कार्यको प्रत्यक्ष निगरानी गर्न भने ।
मुख्यमन्त्री बुग्टीले स्पष्टरूपमा भने, ‘घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको लापरबाही स्वीकार्य हुने छैन । घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीबाट जोगिन दिइने छैन ।’
हालसम्म यो आक्रमणको जिम्मेवारी कसैले लिएको छैन । बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो तर जनसंख्याको हिसाबले सानो प्रान्त हो, जहाँ विगतका वर्षहरूमा सुरक्षाकर्मीलाई लक्षित गरी हिंसात्मक गतिविधि भइरहेका छन् । यस्ता घटनाहरूलाई पृथकतावादी समूहसँग जोडिने गरिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।