२४ मंसिर, २०८२ बुधबार
Dec. 10, 2025

अमेरिकालाई चीनको चेतावनी- व्यापार युद्ध लड्न डराएका छैनौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको टेबुलमा आउने कुरा बेइजिङमा निर्भर रहेको बताएपछि चीनले बुधबार अमेरिकासँग व्यापार युद्ध लड्न ‘नडराउने’ चेतावनी दिएको छ । 


यद्यपि चीनले वार्ताका लागि अमेरिकालाई पुनः आह्वानसमेत गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने, ‘यदि अमेरिका वास्तवमै संवाद र वार्ताको माध्यमबाट समस्याको समाधान गर्न चाहन्छ भने उसले चेतावनी र ब्ल्याकमेलिङजस्ता अत्यधिक दबाबको नीति रोक्नुपर्छ र समानता, सम्मान र पारस्परिक लाभका आधारमा चीनसँग वार्ता गर्नुपर्छ ।’ 



ट्रम्पले सुरुमा फेन्टानिल आपूर्ति शृङ्खलामा चीनको कथित भूमिकाको कारण चीनबाट आयात हुने सामानमा कर लगाएका थिए । हालै वासिङ्टनले अनुचित ठानेको व्यापार अभ्यासमाथि ती करहरू तीव्ररूपमा वृद्धि भएका छन् । 

यस वर्ष राष्ट्रपति ट्रम्पले चीनबाट आउने धेरै सामानमा थप १४५ प्रतिशत कर लगाएका छन् । फेन्टानिल र अन्य अवैध लागूपदार्थमा २० प्रतिशत र व्यापार अभ्यासमा १२५ प्रतिशतभन्दा बढी कर समावेश छन् । 



ट्रम्प प्रशासनले स्मार्टफोन र ल्यापटपजस्ता केही प्राविधिक उत्पादनहरूमा पछिल्लो कर वृद्धिबाट अस्थायी छुट दिएको छ ।

मङ्गलबार अमेरिकी राष्ट्रपतिले भने, ‘बल चीनको कोर्टमा छ । चीनले हामीसँग सम्झौता गर्न आवश्यक छ,’ राष्ट्रपति ट्रम्पका प्रेस सचिव कारोलिन लेभिटले पढेर सुनाएको विज्ञप्तिमा भनिएको छ ।

यसप्रति बेइजिङको तर्फबाट लीनले बुधबार प्रतिक्रिया दिँदै भने, ‘अमेरिकाले नै यो कर युद्ध सुरु गरेको हो र चीनको अडान स्पष्ट छ कि कर युद्ध वा व्यापार युद्धमा कोही पनि विजेता हुँदैन । यसको मतलब, चीन युद्ध गर्न चाहँदैन, तर परेमा यसको सामना गर्न डराउने छैन ।’   



  • प्रकाशित मिति : ३ वैशाख, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया