चीनका राष्ट्रपति सी जिनपिङ भियतनाम, मलेसिया र कम्बोडियाको साताव्यापी भ्रमणमा निस्केलगत्तै अमेरिका सशंकित भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी कर आक्रमण सुरु गरेदेखि नै चीन र अमेरिकाबीच चर्काचर्कीको खेल सुरु भएको हो । विश्व अर्थतन्त्रलाई आफ्नो पकडमा राख्ने ट्रम्पको ध्येय खासगरी चीन लक्षित रहेको उनले स्पष्ट गरिसकेका छन् ।
अमेरिकाले चिनियाँ सामानमाथि १४५ प्रतिशत कर लगाएलगत्तै चीनले त्यसको प्रतिउत्तरमा अमेरिकी सामानमा १२५ प्रतिशत कर लगाइदिएको छ । कर प्रतिशत बढाउने हानथापले विश्वलाई धुब्रीकृत गर्ने अवस्थाप्रति प्रवेश गर्न लागेको संकेत देखिँदैछ । चिनियाँ राष्ट्रपति सीले भियतनामको भ्रमण गरेसँगै अमेरिकाले भियतनामसँग गरेको दुई दशक (सन् १९५५ देखि १९७५) लामो युद्धमा पराजित भएजस्तै झस्काएको त छैन भन्ने उसको तत्कालको प्रतिक्रियाले देखाएको छ ।
अमेरिकाले भियतनाममाथि गरेको स्थल, हवाई र रासायनिक हतियारको आक्रमणलाई भियतनामी गुरिल्लाले परास्त गरेका थिए । युद्धमा करिब ६० हजार अमेरिकी सैनिकले ज्यान गुमाए । यो घटना अमेरिकी इतिहासमै सबैभन्दा नराम्रो सैनिक पराजयका रूपमा लिइन्छ । अमेरिका र तत्कालीन सोभियत संघबीचको शक्तिसंर्घषको कारकका रूपमा सो युद्धलाई लिइन्छ । अहिले परिस्थिति भिन्न छ, चीन र अमेरिका कर किचलोमा आमनेसामने भएका छन् । कुन देशले कसलाई आफ्नो पक्षमा लिनसक्छ भन्ने प्रतिस्पर्धा देखिँदैछ । यसलाई उत्पादन, विश्वबजार र कर अघोषित युद्धका रूपमा आँकलन गरिँदैछ ।
अमेरिकी कर आक्रमणबाट क्रुद्ध चिनियाँ राष्ट्रपति सीले अमेरिकाको पुरानो दुस्मन भियतनामबाट भ्रमण गरेर प्रत्याक्रमणको सन्देश दिन थालेको ट्रम्पको प्रतिक्रियाले देखाउँदैछ । ट्रम्पकै शब्दमा– म चीनलाई दोष दिन्न । म भियतनामलाई दोष दिन्न । मैले देखेँ कि उनीहरू आज भेट्दै छन् र त्यो अद्भुत छ । त्यो एक सुन्दर बैठक हो । हामी संयुक्त राज्य अमेरिकालाई कसरी बिगार्ने भनेर पत्ता लगाउने प्रयास जस्तै ।
ट्रम्प स्वभावैले विश्व नेताहरूभन्दा भिन्न छन् । ट्रम्पका व्यंग्यमा समेत घमन्ड छरपस्ट देखिन्छ । राष्ट्रपति सीको भ्रमणपछि उनले थप आक्रामक हुने संकेत देखाएका छन् । सीको भ्रमणपछि ट्रम्पले भियतनाममाथिको ४६ प्रतिशत करमा वृद्धि गर्न सक्छन् । तत्काल भियतनाममाथि लगाएको कर घटाउँदा आफू तल परेको देखाउन उनी चाहँदैनन् । बढाए भने पनि चीनको पक्षमा माहोल बन्नेछ ।

चीन र भियतनामले एआई, संयुक्त समुद्री गस्ती, रेलमार्ग विकासलगायतका ४५ सहयोग सम्झौता गरेका छन् । रणनीतिक हिसाबले हेर्दा समुद्री गस्तीमा साउथ चाइना सीलाई महत्व दिएको पाइन्छ । बैठकपछि दुवै देशका नेताहरूले इतिहासको निर्णायक विन्दुमा उभिएको र संयुक्तरूपमा अगाडि बढ्ने प्रतिबद्धता जनाएबाट चीनको उद्देश्य पूरा भएको देखिन्छ ।
अमेरिका र चीनबीचको बढ्दो अविश्वासले केवल उनीहरूबीचको सम्बन्ध मात्र होइन, दक्षिणपूर्वी एसिया तथा अन्य उदीयमान राष्ट्रहरूको समीकरणमा पनि असर पार्न सक्छ । यसले विश्वव्यापी बजार, उत्पादन सञ्जाल र क्षेत्रीय सुरक्षा प्रणालीमा समेत गहिरो प्रभाव पार्नेछ ।
भियतनामको भ्रमणबाट सी खुसी देखिन्छन् । उनी मलेसिया पुगेका छन् । अमेरिकाले मलेसियामाथि २४ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका थिए । चीनले मलेसियाको उत्पादन आयात गर्ने जनाइसकेको छ । मलेसिया र कम्बोडियामाथि ४९ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा भए पनि ३ महिनाका लागि स्थगन गर्ने अमेरिकी घोषणा सीको भ्रमणपछि करको मात्रा बढाएर तत्कालै लागू गरे भने अचम्म मान्नु पर्ने छैन ।
अमेरिकाले चीनलाई चिढ्याउँदै गएको अवस्थामा उसले अमेरिकासँग र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) क्षेत्रीय समूहका सदस्यहरूको सम्बन्धमा समेत असर पार्ने देखिन्छ । अमेरिकी र चिनियाँ राष्ट्रपतिको कदमले शीतयुद्धकालीन विश्व ध्रवीकृत भएजस्तै व्यापारयुद्धमा त्यस्तै छनक देखिँदैछ ।
माथिका घटनाक्रमलाई हेर्दा अहिलेको परिस्थिति केवल आर्थिक प्रतिस्पर्धा मात्र नभइ रणनीतिक ध्रुवीकरणको दिशातर्फ गइरहेको देखिन्छ । अमेरिका र चीनबीचको बढ्दो अविश्वासले केवल उनीहरूबीचको सम्बन्ध मात्र होइन, दक्षिणपूर्वी एसिया तथा अन्य उदीयमान राष्ट्रहरूको समीकरणमा पनि असर पार्न सक्छ । यसले विश्वव्यापी बजार, उत्पादन सञ्जाल र क्षेत्रीय सुरक्षा प्रणालीमा समेत गहिरो प्रभाव पार्नेछ ।
आजको विश्व एकपटक फेरि दुई प्रमुख शक्तिका बीच ध्रुवीकरणतर्फ उन्मुख देखिन्छ । शीतयुद्धको युगजस्तै हालको व्यापार युद्धले पनि विश्वलाई दुई खेमामा बाँड्ने खतरा देखा परेको छ । चीनले दक्षिणपूर्वी एसियामा आफ्नो पकड बलियो बनाउँदै गएको छ, जसले अमेरिकालाई असहज बनाएको छ । यो प्रतिस्पर्धा केवल कर र व्यापारको होइन रणनीति र प्रभावको पनि हो । यदि यस्तै अवस्था रहिरह्यो भने निकट भविष्यमा संसार फेरि एउटा नयाँ प्रकारको शीतयुद्धमा प्रवेश गर्ने सम्भावना नकार्न सकिँदैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।