२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

शिक्षक महासंघका अध्यक्ष भन्छन्- पेसागत जिम्मेवारी निभाइरहेका छौँ, तलब छोड्दैनौँ

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अहिले अनावश्यकरूपमा शिक्षक विरोधी भाष्य निर्माण भएको बताएका छन् ।  


बुधबार काठमाडौंमा आयोजित शिक्षा बहस कार्यक्रममा उनले अहिले अनावश्यकरूपमा शिक्षक विरोधी भाष्य निर्माण भएको भन्दै त्यसले शिक्षकको उत्साह अभिप्रेरणा पनि नजगाउने र विद्यालय शिक्षा पनि उभो नलाग्ने बताएका हुन् । 



‘अहिले अनावश्यकरूपमा शिक्षक विरोधी भाष्यहरू निर्माण भएको छ । त्यसले शिक्षकको उत्साह अभिप्रेरणा पनि जगाउँदैन र विद्यालय शिक्षालाई पनि उभो लाँदैन । त्यसैले त्यो कुरामा पनि सतर्क हुनुपर्छ । शिक्षकले सबै कुरा नियन्त्रणमा लिएर सम्पूर्ण दायित्व निर्वाह गर्न सक्दैन,’ सुवेदीले भने । 

त्यस्तै, उनले सामाजिक सञ्जालमा आन्दोलनमा सहभागी नहुने शिक्षकलाई महासंघले कारबाही गर्ने भन्ने हल्ला गलत रहेको स्पष्ट पारे । पेसाकर्मीले दुनियाँमा कहीँकतै पनि आन्दोलन गर्दा तलब नछोड्ने चलन रहेको भन्दै आफूहरूले पनि तलब नछाड्ने बताए ।   



‘सामाजिक सञ्जालमा आन्दोलनमा सहभागी नहुने शिक्षकलाई महासंघले कारबाही गर्ने भनेर आएको छ । त्यो हामीले कतै लेखेको छैन । हाम्रोतर्फबाट नलेखिएको तर व्यक्ति कसैले लेख्नुभएको छ भने हामी जिम्मेवार छैनौँ । हामीले तलब खाने हो । पेसाकर्मीले दुनियाँमा कहीँकतै पनि आन्दोलन गर्दा तलब छोड्दैनन् । हामी तलब छोड्दैनौँ । हामी त काम नै गरिराखेका छौँ । शिक्षा क्षेत्रको निर्माणको लागि आन्दोलनको काम गरिराखेको छैनौँ,’ सुवेदीले भने ।

त्यस्तै, उनले समाजमा शिक्षकको माग मुद्दाको बारेमा कोही कसैले पनि नबोलिने कारण आफूहरू नै बोल्न बाध्य भएको बताए । गुणस्तर शिक्षाको लागि शिक्षणयोग्य वातावरण चाहिने भन्दै यो वातावरण निर्माणको लडाइमा आफूहरू रहेको उनको भनाइ छ । 

‘हाम्रो माग मुद्दामा सेवा सुविधाको कुरा धेरै छन् । त्यसको बाध्यता के छ भने समाजमा हामी बाहेक हाम्रो माग मुद्दाको बारेमा कोही बोलिदिँदैन । त्यसो भएपछि हामीले नै हाम्रो माग मुद्दा बिर्सियौँ भने समाजमा कसले उठाइदिने ? गुणस्तर शिक्षाको लागि शिक्षणयोग्य वातावरण चाहिन्छ । यदि शिक्षकबाट त्यो अपेक्षा गर्छौ भने त्यो वातावरण निर्माण गर्दिन सक्नुपर्छ । त्यो लडाइमा नै हामी छौँ,’ अध्यक्ष सुवेदीले भने ।



  • प्रकाशित मिति : ३ वैशाख, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया