बङ्गलादेश प्रहरीले साउदी अरेबियाका पूर्व राजदूतलाई हनी–ट्र्यापमा पारेर ५० लाख डलर असुल्न खोजेको आरोपमा मोडल मेघना आलमलाई पक्राउ गरेको छ ।
तीस वर्षीया पूर्व सुन्दरी आलमलाई सुरुमा बङ्गलादेशको विवादास्पद कानूनअन्तर्गत कुनै आरोपबिना हिरासतमा लिइएको थियो । हाल उनलाई जबरजस्ती वसूलीको आरोपमा मुद्दा चलाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार आलमले अन्य व्यक्तिहरूसँग मिलेर साउदी कूटनीतिज्ञलाई ब्ल्याकमेल गरेर रकम तिर्न बाध्य पार्ने योजना बनाएकी थिइन् । एक वरिष्ठ प्रहरी अधिकारीले नाम नखुलाउने शर्तमा बताएका छन्, ‘सरकार कूटनीतिक सम्बन्धमा असर नपरोस् भन्ने चाहन्छ ।’
बङ्गलादेशमा साउदी अरब सबैभन्दा ठूलो आप्रवासी श्रमिक गन्तव्य हो, जहाँ २० लाखभन्दा बढी बङ्गलादेशी कामदार कार्यरत छन् । साउदी सरकार बङ्गलादेशको प्रमुख आर्थिक र मानवीय सहायक पनि हो ।
बिहीबार अदालतमा कानुनी सल्लाह बिना उपस्थित भएकी आलमले आफू निर्दोष भएको दाबी गर्दै गिरफ्तारी खारेज गरिदिन अनुरोध गरेकी छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार आलमलाई राजदूतले नै सम्पर्क गरेका थिए र सम्बन्धको प्रस्ताव दिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।