कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपति नियुक्तमा डा. डबल बहादुर धामी नियुक्त भएका छन् ।
प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा यही ४ वैशाखमा बसेको निर्णयअनुसार स्थायी नियुक्ति नभएसम्मका लागि डा. धामीले शैक्षिक, प्रशासनिक र आर्थिक कार्य सञ्चालनको जिम्मेवारी सम्हाल्ने भएका हुन् ।
हालसम्म प्रतिष्ठानमा शिक्षाध्यक्ष र सह-प्राध्यापकका रूपमा कार्यरत डा. धामी चिकित्सा शिक्षाको क्षेत्रमा अनुभवी र समर्पित व्यक्तित्वका रूपमा परिचित छन् । बझाङको छबिसपाथिभेरा गाउँपालिका–५ स्थित सामान्य किसान परिवारमा जन्मिएका उनले सन् २००९ मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट दन्त शल्यचिकित्सक उपाधि प्राप्त गरेका थिए ।
त्यसपछि उनले सन् २०१४ मा नेपालगञ्ज मेडिकल कलेज, काठमाडौं विश्वविद्यालयबाट क्लिनिकल फार्माकोलोजी र थेराप्युटिक्समा एमडी उपाधि प्राप्त गरेका थिए ।
१२ वर्षदेखि क्लिनिकल फार्माकोलोजीमा अध्यापन, अनुसन्धान र नेतृत्वदायी भूमिकामा सक्रिय डा. धामी विद्यार्थीमैत्री, मृदुभाषी र अनुशासित मानिन्छन् । समयपालक र सिर्जनात्मक सोचका कारण प्रतिष्ठानभित्र उनी विश्वासिलो तथा सम्मानित व्यक्तित्वका रूपमा स्थापित छन् ।
शैक्षिक तथा व्यवस्थापकीय दृष्टिले डा.धामीको अनुभव, समर्पण र दूरदर्शि नेतृत्वले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अझ प्रभावकारी, समावेशी र गुणस्तरीय शैक्षिक केन्द्रका रूपमा अघि बढाउने विश्वास लिइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।