१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

कुल निर्यातमा भटमास तेलको एकछत्र राज, ९ महिनामा ६२ अर्ब नाघ्यो निर्यात

नेपालले चालू आर्थिक वर्षको पहिलो नौ महिनामा गरेको कुल निर्यातको एक तिहाइ हिस्सा भटमासको तेलले ओगटेको देखिएको छ । नेपालमै उत्पादन नहुने अर्धप्रशोधित सोयाबिन आयल (क्रुड सोयाबिन तेल) विदेशबाट आयात गरी यहाँ प्रशोधन गरेर मुख्यतया भारत निर्यात गर्ने क्रम तीव्र बनेसँगै यसको हिस्सा देशको निर्यात सूचीमा एकलौटी रूपमा अग्रस्थानमा पुगेको हो ।


भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ को साउनदेखि चैत मसान्तसम्म नेपालको कुल निर्यात १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । यसमध्ये ६२ अर्ब ७८ करोडभन्दा बढीको सोयाबिन तेल मात्र निर्यात गरिएको छ । यो आँकडाले देखाउँछ- नेपालको कुल वस्तु निर्यातको करिब ३३ प्रतिशत हिस्सा अब केवल एकल खानेतेलमा निर्भर छ ।



पछिल्लो केही वर्षयता प्रशोधित तेलको व्यापार नेपाली उद्योग र व्यवसायीहरूका लागि ‘विन-विन’ मोडलको रुपमा स्थापित हुँदै आएको छ। नेपालमा उत्पादनको आधार सानो भए पनि प्रशोधनका लागि चाहिने पूर्वाधार र नीति सहजीकरणका कारण यो व्यापार फस्टाएको हो । 

दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) अन्तर्गत भारतले नेपालबाट निर्यात हुने प्रशोधित खानेतेललाई भन्सार छुट दिने सुविधा दिँदै आएको छ । तेस्रो मुलुकबाट तेल आयात गर्दा भारतले ठूलो मात्रामा भन्सार महशूल लगाउँछ, तर नेपाललाई दिएको छुटका कारण नेपाली तेल तुलनात्मक रूपमा सस्तो पर्छ । यही कारण नेपालका व्यवसायीहरूले क्रुड तेल आयात गरी यहाँ प्रशोधन गरेर भारत निर्यात गर्न थालेका हुन् ।



साफ्टा अन्तर्गतको भन्सार छुट सुविधा, सीमावर्ती भौगोलिक पहुँच, र प्रशोधनको न्यूनतम लागतले गर्दा नेपालका लागि यो व्यापार अत्यन्त फाइदाजनक बनेको छ । विगतमा यस्तै प्रवृत्ति पाम तेलमा देखिएको थियो । तर, सन् २०२० मा भारतले नेपालबाट हुने पाम तेलको निर्यातमा कडाइ गरेपछि भटमास र सूर्यमुखी तेलको विकल्प रोजिएको हो ।

सूर्यमुखी तेल पनि नेपालका लागि अर्को प्रमुख निर्यात वस्तु बनेको छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्मको नौ महिनामा मात्र नेपालले ९ अर्ब २३ करोड बराबरको सूर्यमुखी तेल निर्यात गरिसकेको छ । यहाँ पनि प्रक्रिया सोही हो— क्रुड तेल विदेशबाट ल्याउने, प्रशोधन गर्ने, र भारत निर्यात गर्ने।

खानेतेल बाहेक नेपालका परम्परागत निर्यात सामग्रीहरू पनि उल्लेख्य अंशमा निर्यात भैरहेका छन् । हस्तनिर्मित कार्पेट, अलैँची, चिया, धागोजस्ता वस्तुहरू अझै पनि निर्यातको मूल आधार बन्न सकेका छैनन्, तर यिनको निरन्तर उपस्थिति निर्यातको विविधता सुनिश्चित गर्ने पक्षमा सकारात्मक संकेत हुन् । चालू वर्षको नौ महिनामा मात्र नेपालले ८ अर्ब ९ करोड बराबरको कार्पेट र ६ अर्ब २६ करोड बराबरको अलैँची निर्यात गरिसकेको छ ।

त्यसो त कुल निर्यातमा वृद्धि भएको भए पनि नेपालको वैदेशिक व्यापार घाटा भने अझै गम्भीर चुनौतीका रूपमा कायमै छ । भन्सार विभागका तथ्यांकअनुसार चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म (साउन–चैत) मुलुकको कुल व्यापार घाटा ११ खर्ब २१ अर्ब ३३ करोड पुगेको छ । यो अवधिमा कुल आयात रकम १३ खर्ब ९ अर्ब रहेको छ, जुन निर्यातको तुलनामा निकै उच्च हो ।



नेपालले सबैभन्दा बढी आयात गर्ने वस्तुहरूमा पेट्रोलियम पदार्थहरू अग्रस्थानमा छन् । पछिल्लो नौ महिनामा मात्र नेपालले ९१ अर्ब २६ करोडको डिजेल, ४७ अर्ब ७७ करोडको पेट्रोल र ४६ अर्ब ५८ करोडको एलपी ग्यास आयात गरिसकेको छ । यस्तै, क्रुड सोयाबिन र सनफ्लावर तेल पनि अत्यधिक मात्रामा आयात भइरहेका छन् । हालसम्म क्रुड सोयाबिन आयलको आयात मूल्य रू ६६ अर्ब पुगेको छ भने क्रुड सनफ्लावर आयलको आयात मूल्य २२ अर्ब नाघेको छ ।

साथै, फलामजन्य सामग्री, स्मार्टफोन, सुन, र विद्युतीय सवारी साधन समेत नेपालले उल्लेख्य मात्रामा आयात गरिरहेको छ । यो अवस्था दीर्घकालीन रूपमा नेपालका लागि आर्थिक सन्तुलनमा चुनौती बन्न सक्छ ।

निर्यातका पक्षमा उल्लेखनीय उछाल देखिए पनि दीर्घकालीन आर्थिक स्थायित्वका लागि स्वदेशमै उत्पादन वृद्धि, निर्यात वस्तुको विविधीकरण, र व्यापार सन्तुलनतर्फ विशेष ध्यान दिनु अपरिहार्य देखिन्छ । अहिलेको निर्यात वृद्धिको आधार आयातमा निर्भर छ, जुन रणनीतिक हिसाबले दीर्घकालमा दिगो मानिँदैन । तर, तत्कालका लागि भटमास र सूर्यमुखी तेलको प्रशोधन र निर्यातले नेपालको विदेशी मुद्रा आम्दानीमा महत्वपूर्ण टेको दिएको यथार्थ भने स्वीकार्नैपर्छ । 

  • प्रकाशित मिति : ८ वैशाख, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया