सगरमाथा क्षेत्र अहिले पर्यटकले भरिएको छ । सोमबार मात्र करिब ७ सय जना पर्यटक खुम्बु पुगेका छन् ।
सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका रेञ्जर विवेक श्रेष्ठका अनुसार ६९४ पर्यटकले खुम्बु क्षेत्र प्रवेश गरेका थिए, जसमध्ये ६०८ विदेशी र ८६ नेपाली थिए ।
वसन्तयाम सुरु भएसँगै यहाँ होटलमा कोठा पाउनसमेत मुस्किल भएको छ। मौसम खुलेपछि लुक्लाबाट हवाई उडान बढेका कारण पर्यटकको आगमन पनि बाक्लिएको तारा एयर लुक्लाका इन्चार्ज अमृत मगरले बताएका छन् ।
पर्यटकको भीडले होटलहरू पहिल्यैदेखि ‘रिजर्भ’ भइरहेका छन् । टानका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा भन्छन्, ‘कोभिडपछिको सुनसानता अब विस्तारै हराउँदैछ, स्थानीयको रोजगारी र आयआर्जन दुवै बढ्दैछ ।’
निकुञ्जले पनि पर्यटक आगमनसँगै राजस्व असुली बढेको जनाएको छ । प्रवेश शुल्क सार्क मुलुकका लागि प्रतिव्यक्ति १५ सय, अन्य देशका लागि ३ हजार र नेपालीका लागि १ सय रुपैयाँ तोकिएको छ ।
अधिकांश पर्यटक काठमाडौं वा मन्थलीबाट लुक्ला पुगेर नाम्चे हुँदै सगरमाथा आधारशिविरतर्फ यात्रा गर्ने गरेका छन् । रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।