नेपाल र भारतबीच लम्की–बरेली र इनरुवा–पूर्णिया ४०० केभी क्षमताका अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापना हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसनबीच मंगलबार सम्झौता भएको हो । सम्झौतामा प्राधिकरणका निर्देशक कमल आचार्य र पावर ग्रिडका निर्देशक यतिन्द्र द्विवेदीले हस्ताक्षर गरे ।
भारतका विद्युत मन्त्री मनोहरलाल खट्टरको नेपाल भ्रमणका क्रममा सम्झौता सम्पन्न भएको हो । संयुक्त लगानीमा निर्माण हुने यी प्रसारण लाइनले दुवै देशको ऊर्जा व्यापारलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
ऊर्जा मन्त्री दीपक बहादुर खड्काले प्रसारण विकासले दिगो आर्थिक समृद्धिमा टेवा पुर्याउने बताए । भारतका मन्त्री खट्टरले यो संरचनाले नेपालबाट बंगलादेशसम्म विद्युत निर्यातमा समेत सहजता ल्याउने उल्लेख गरे ।
नेपालले भारतमा १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने दीर्घकालीन सम्झौता यसअघि नै गरेको छ । ऊर्जा विकास मार्गचित्र २०८१ अनुसार सन् २०३५ सम्म भारतमा १० हजार र बंगलादेशमा पाँच हजार मेगावाट विद्युत निर्यात गर्ने लक्ष्य लिइएको छ । यो परियोजनाले त्यसलाई गति दिने विश्वास गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।