२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

पत्रकारिता, संसद र मन्त्रिपरिषद् : रघुजी पन्तको यात्रा
फाइल तस्बिर

नेकपा (एमाले) का सांसद रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार पन्तलाई मन्त्री पदमा नियुक्त गरेका हुन् । 


शिक्षा मन्त्रालयमा यसअघि जिम्मेवारी सम्हालेकी विद्या भट्टराईले सोमबार राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो । भट्टराईको राजीनामापछि मन्त्रालयको नेतृत्वमा रिक्तता सिर्जना भएको अवस्था अन्त्य गर्दै पन्तलाई नियुक्त गरिएको हो । राजनीतिक वृत्तमा पन्तको नियुक्तिलाई अनुभव र संगठनात्मक नेतृत्व क्षमताको सम्मानस्वरूप हेरिएको छ ।



यसैबीच, प्रधानमन्त्री ओलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पदमुक्त गरेका छन् । बर्खास्तीको कारणबारे आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन, तर सरकार निकट स्रोतका अनुसार मन्त्रालयको आन्तरिक कार्यशैलीप्रति असन्तुष्टि र राजनीतिक समीकरणका आधारमा निर्णय गरिएको हो ।

नयाँ नियुक्ति र बर्खास्तीले मन्त्रिपरिषद्को स्वरूपमा पुनः समायोजन भएको छ । अब सरकारको ध्यान मन्त्रालयको कार्यक्षमतामा सुधार र जनअपेक्षा सम्बोधनमा केन्द्रित हुने अपेक्षा गरिएको छ ।



को हुन् पन्त ?

नवनियुक्त शिक्षामन्त्री पन्तको पृष्ठभूमि पत्रकारितासँग जोडिएको छ । २०३२ सालदेखि पत्रकारिता सुरु गरेका उनी ‘बुधबार साप्ताहिक’, ‘छलफल साप्ताहिक’, ‘नवयुग मासिक’, ‘युगधारा’ र प्रजातन्त्र पुर्नस्थापना भएपछि गठन भएको नेपाल पत्रकार महासंघको महासचिवको जिम्मेवारीमा थिए ।

२०५१ सालमा उनी प्रधानमन्त्री मनमोहन अधिकारीका प्रेस सल्लाहकार भए । त्यसपछि राजनीतिमा सक्रिय भई उनी २०५४ सालको एमाले महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए ।

२०५६ सालमा ललितपुर-३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका पन्तले श्रम तथा यातायात मन्त्री (२०६१) तथा पुनर्स्थापित संसद सदस्य (२०६३) को जिम्मेवारी सम्हाले ।



पार्टीभित्र उनी कानुन, सामाजिक सेवा, प्रचार र हाल संस्कृति विभाग प्रमुखको जिम्मेवारीमा रहेका छन् । २०७९ सालको चुनावमा समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य बनेका हुन् ।

  • प्रकाशित मिति : १० वैशाख, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया