सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्काउने वातावरण बनाउन सरकारलाई आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले बिहीवार उक्त आदेश जारी गरेको हो ।
अधिवक्ताद्वय श्रवणकुमार चौधरी र माधवराज शर्मा पोख्रेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित शिक्षा, कानुन मन्त्रालयलगायत निकायलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए ।
आदेशमा ‘शिक्षकका जायज र संविधानसम्मत माग तत्काल सम्बोधन गर्न उचित निर्णय गरी तीन दिनभित्र नियमित पठनपाठनको वातावरण बनाउनू’ भनिएको छ ।
शिक्षकहरू गत २० चैतदेखि विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित काठमाडौं केन्द्रित आन्दोलनमा छन् । सरकार र शिक्षकबीच वार्ता भए पनि समाधान निष्कर्षमा पुग्न सकेको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।