आन्दोलनरत शिक्षकसँग वार्ताका लागि सरकारले फेरि आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै शनिबार बिहान साढे ७ बजेका लागि वार्ता तय गरिएको जानकारी गराएको हो ।
शुक्रबार दिनभर मन्त्रालयबाट तीनवटा छुट्टाछुट्टै विज्ञप्ति जारी भए । सुरुमा शिक्षा सचिवले वार्ता आह्वान गर्दै विज्ञप्ति सार्वजनिक गरे । त्यसको केही समयपछि शिक्षामन्त्री रघुजी पन्तले समेत छुट्टै विज्ञप्तिमार्फत वार्तामा आउन आग्रह गरे ।
शुक्रबार साँझ मन्त्रालयले तेस्रोपटक विज्ञप्ति जारी गर्दै ‘विशेष कारणले आज वार्ता सम्भव नभएकाले भोलि बिहान साढे ७ बजे मन्त्रालयमै वार्ता हुने’ उल्लेख गरेको छ । साथै, शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितका नेताहरूलाई तोकिएको समयमा उपस्थित हुन आग्रह गरिएको छ ।
यसअघि शुक्रबार महासंघका अध्यक्ष सुवेदीसहितका नेताहरू नवनियुक्त शिक्षामन्त्री पन्तलाई भेट्न सिंहदरबार पुगेका थिए । तर, उनीहरू मन्त्रालय नछिरी फर्किएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।