२४ मंसिर, २०८२ बुधबार
Dec. 10, 2025

एनएसएल फाइनलमा ललितपुर र पोखरा भिड्दै, कसको पल्लाभारी ?
उपाधि भिवजेताले ८० लाख पुरस्कार पाउने

नेपाल सुपर लिग (एनएसएल) २०२५ को उपाधिका लागि साबिक विजेता ललितपुर सिटी एफसी र पहिलोपटक फाइनल पुगेको पोखरा थन्डर्सबीच शनिबार साँझ दशरथ रंगशालामा प्रतिस्पर्धा हुँदैछ । 


फाइनल पुग्नेक्रममा दुवै टोली फरक यात्राबाट यहाँसम्म आइपुगेका हुन् । ललितपुर लिग चरणका सबै ६ खेलमा अपराजित रहँदै शीर्ष स्थानमा रह्यो । उसले ३ खेलमा बराबरी र ३ खेलमा जित हात पार्‍यो ।



उत्कृष्ट प्रदर्शनसहित लिगको शिखरमा रहेपछि ललितपुर पहिलो क्वालिफायरमा धनगढी एफसीसँग भिडेको थियो । उक्त खेलमा २–१ को रोमाञ्चक जित निकाल्दै ललितपुरले लगातार दोस्रोपटक एनएसएलको फाइनल यात्रा पक्का गर्‍यो । 



अर्कोतर्फ पोखरा थन्डर्सले लिगको सुरुवातमा संघर्ष गरे पनि अन्त्यमा उत्कृष्ट पुनरागमन गर्दै फाइनल स्थान पक्का गर्‍यो । पोखराले लिग चरणका सुरुवाती दुई खेलमा पराजय बेहोरेको थियो । तर, त्यसपछिका चार खेलमा २ जित र २ बराबरी खेल्दै ८ अंक जोड्यो ।

लिगको चौथो स्थानमा रहँदै प्लेअफमा पुगेको पोखराले एलिमिनेटरमा चितवन एफसीलाई ३–० ले हरायो । त्यसपछि दोस्रो क्वालिफायरमा धनगढीलाई १–० ले हराउँदै फाइनल प्रवेश गर्‍यो ।

पोखराले पछिल्लो ६ खेलमा अपराजित यात्रामा रहेको छ । पहिलो दुई खेलमा पराजित भए पनि त्यसपछि उनले प्रदर्शनमा निरन्तर सुधार गर्दै आफ्नो क्षमता प्रमाणित गरेको छ । अब पहिलोपटक फाइनल पुगेको पोखराले उपाधि जित्ने लक्ष्य लिएको छ । पोखरा र ललितपुरबीच लिग चरणमा पनि प्रतिस्पर्धात्मक खेल भएको थियो, जहाँ ललितपुरले पोखरालाई ३–२ ले पराजित गरेको थियो । 



पोखराका प्रशिक्षक सुमन श्रेष्ठ फाइनलका लागि टोली तयार रहेको र उपाधि जित्ने रणनीति बनाएको बताउँछन् । ‘हामीले सुरुवातमा कठिनाइ भोग्यौं, तर पछिल्ला खेलमा टोलीले राम्रो लय समातेको छ,’ उनले भने, ‘त्यही लयलाई कायम राखेर हामी उपाधि जित्न चाहन्छौं ।’

कप्तान नवयुग श्रेष्ठले ललितपुरविरूद्धको खेल प्रतिस्पर्धात्मक हुने उल्लेख गरे । उनले भने, ‘व्यक्तिगतरूपमा पनि यो मेरो लागि अर्थपूर्ण खेल हो । हामी सबैले मिहिनेत गरेका छौं, त्यसैले नतिजा सकारात्मक हुने विश्वास छ ।’

ललितपुरका प्रशिक्षक साइमन ग्रेसनले पहिलो क्वालिफायर जितेपछि फाइनलको तयारीका लागि पर्याप्त समय पाएको बताए । उनले भने, ‘हामीसँग एक साता समय थियो, जसले हामीलाई रणनीतिक रूपमा बलियो बनाउन सहयोग गर्‍यो । टोली आत्मविश्वासी छ र हामी उपाधि दोहोर्याउने लक्ष्यमा छौँ ।’

ललितपुरका कप्तान अनन्त तामाङले पनि तयारी राम्रो भएको उल्लेख गर्दै टोलीमा सकारात्मक उर्जा रहेको बताए । ‘हामीले क्वालिफायरपछि फाइनलको लागि राम्रो विश्राम र तयारी गर्न पायौं । सबै खेलाडी उत्साहित छन् र उपाधि रक्षा गर्न आतुर पनि,’ उनले भने ।

यस वर्षको एनएसएल फाइनल साबिक विजेता र नयाँ चुनौतीकर्ताबीचको रोमाञ्चक भिडन्त हुनेछ । अनुभव, तयारी र हालको लयका आधारमा दुवै टोली उपाधिका दाबेदार हुन् । दशरथ रंगशालामा हुने यो उपाधि भिडन्त नेपाली क्लब फुटबलको स्तर र प्रतिस्पर्धात्मकता मापन गर्ने अवसर पनि हुनेछ ।

यसपटक विजेता टोलीले ८० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले फाइनलको शुक्रबार पत्रकार सम्मेलन गर्दै पुरस्कार राशि घोषणा गरेको हो । 

यस्तै, उपविजेता टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

  • प्रकाशित मिति : १३ वैशाख, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया