इरानको दक्षिणी प्रान्त होर्मोजगानस्थित महत्वपूर्ण बन्दरगाह शाहिद राजाीमा शनिबार भएको एक शक्तिशाली विस्फोटमा घाइते हुनेहरूको संख्या ५१६ पुगेको छ ।
सरकारी टेलिभिजनले आपतकालीन सेवाहरूलाई उद्धृत गर्दै जनाएको अनुसार ५१६ जना घाइते भएका छन् र सयौंलाई नजिकैका स्वास्थ्य केन्द्रहरूमा स्थानान्तरण गरिएको छ ।
यसअघि इरानको सरकारी समाचार संस्था आइआरएनएले देशको आपतकालीन स्वास्थ्य सेवा संगठनका प्रवक्ता बाबक येक्तापारस्तलाई उद्धृत गर्दै ४०६ जना घाइते भएको जानकारी दिएको थियो ।
प्रवक्ताका अनुसार, घटनास्थलमा १५ वटा एम्बुलेन्स र चार वटा एम्बुलेन्स बसहरू तुरुन्तै परिचालन गरिएको थियो । विस्फोट ग्यास ट्यांकीमा भएको बताइएको छ, जसले गर्दा आकाशमा बाक्लो धुवाँ देखिएको र वरपरका भवन तथा सवारीसाधनहरूमा ठूलो क्षति पुगेको छ । सम्बन्धित निकायहरूले घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन् । उद्धार तथा राहत टोलीहरू घटनास्थलमा सक्रिय रूपमा कार्यरत छन् भने सुरक्षाका दृष्टिले बन्दरगाहका सबै गतिविधिहरू हालका लागि स्थगित गरिएको छ ।
अर्धसरकारी समाचार संस्था तास्नीमका अनुसार मृत्युको आधिकारिक पुष्टि भइसकेको छैन, तर घाइतेहरूको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।