२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

राजेन्द्र लिङ्देनलाई कांग्रेसको प्रश्न- हाम्रो सहमहामन्त्रीको छोराले रक्सी चोरेको प्रमाणित गर्न सक्नुहुन्छ ?

सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कांग्रेस सह–महामन्त्रीको छोराले भाटभटेनीबाट रक्सी चोरेको प्रमाणित गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनौती दिएका छन् ।


आइतबार बसेको प्रतिनिधिसभा बैठकको बोल्दै प्रमुख सचेतक घिमिरेले लिङ्देनलाई प्रमाणित गर्न नभएर कांग्रेसलाई लाञ्छित गरेको आरोप संसद्को रेकर्डबाट हटाउन उनको माग गरेका हुन् ।



उनले  भने, ‘बैसाख १२ गते बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षज्यूले चैत १५ को घटनामा भाटभटेनीमा लुटपाट भयो । त्यो  लुटपाटमा सत्तारुढ दलका सहमहामन्त्रीका छोरा संलग्न रहेको मसँग प्रमाण छ र त्यसको भिडियो फुटेज छ । उहाँलाई पक्राउ गरियो, पक्राउ गरिसकिएपछि सहमहामन्त्रीको छोरो हो भनेपछि छुट्याइयो भनेर रोष्टमबाटै अभिव्यक्ति दिनुभयो । सहमहामन्त्री नेपाली कांग्रेसमा मात्रै भन्ने चलन छ । अन्य पार्टीमा सहमहामन्त्री भन्ने  प्रचलन छैन । त्यस कारण नेपाली कांग्रेसलाई ईङ्गित गरेको हो भनेर बुझ्न गाहे  भएको  छैन । र सहमहामन्त्री आठजना हुनुहुन्छ  कुन चाहिँ सहमहामन्त्रीको कुन चाहिँ छोराले रक्सीको बोतल बोकेर हिँड्नुभएको हो ? त्यो  प्रमाणित गर्नको लागि आग्रह गर्दछु ।  होइन भने शब्द फिर्ता लिएर माफी माग्नुपर्छ ।’

चैत १५ गतेको घटना भन्दै राप्रपा अध्यक्ष लिङ्देनले वैशाख १२ गतेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका सहमहामन्त्रीको छोरा भाटभटेनीको सामान लुटपाटमा संलग्न रहेको, प्रहरीले पक्राउ गरे पनि छाडेको अभिव्यक्ति दिएका थिए ।



उक्त कुरा प्रमाणित गर्न र प्रमाणित गर्न नसके क्षमा याचना गर्न कांग्रेस प्रमुख सचेतक घिमिरेले आइतबारको प्रतिनिधिसभा बैठकबाट माग गरेका हुन् । 



  • प्रकाशित मिति : १४ वैशाख, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया