विश्वमा आफ्नो पहिचान बनाउने माध्यममध्ये भाषा एउटा सबभन्दा बलियो अस्त्र हो । स्वदेश छोडेर विदेश पुगेपछि यो अस्त्र अझै प्यारो लाग्न थाल्छ । तर, परदेशको वातावरणमा आफ्नै भाषा विस्तारै ओझेल पर्न थाल्छ । त्यहाँ जन्मिने नयाँ पुस्ताले प्रायः सम्बन्धित मुलुकको भाषा अंगाल्छन् । यस्तो अवस्थामा आफ्नै भाषा जोगाउन र बच्चालाई सिकाउन प्रयास गर्नु भनेको ‘आकाशको फल आँखा तरी मर’जस्तै हुन्छ । तर, असम्भव भन्ने कुरा छैन । यसको जीवन्त प्रमाण हो- संयुक्त राज्य अमेरिकामा नेपाली भाषाले पाएको मान्यता ।
अमेरिकाको उत्तर–पश्चिमी राज्य वासिङ्टनमा नेपाली भाषी समुदायका बालबालिकाले अब आफ्नो मातृभाषा पढ्न र लेख्न पाउने भएका छन् । वासिङ्टन राज्य सरकारले नेपाली भाषालाई औपचारिक शैक्षिक विषयका रूपमा मान्यता दिएको छ ।
यो ऐतिहासिक उपलब्धिको पछाडि अथक प्रयास र समर्पण बोकेका व्यक्ति हुन्- स्याङ्जा, पेल्का चौर गाउँमा जन्मेका मोहन गुरुङ । उनले नेपाली भाषालाई अमेरिका जस्तो शक्तिशाली देशमा औपचारिक पहिचान दिलाउन निर्णायक भूमिका खेलेका छन् ।
स्याङ्जाको एउटा गाउँमा जन्मिएका उनी २०५० सालमा अमेरिका उड्छन् । विदेश जाने सोच नै नबनाएका उनी पछि एकाएक अवसरको खोजीमा अमेरिका जाने निधो गर्छन् । सन् १९९३ देखि अमेरिकामा बस्दै आएका गुरुङलाई त्यहाँ गइसकेपछि नेपाली समाजको अभाव खड्कियो । आफ्नो भाषा संस्कृति अझै प्यारो लाग्न थाल्यो ।
नेपाली समाजको अभाव खड्किएपछि गुरुङले नेपाल–सियाटल सोसाइटी नामक संस्थाको स्थापना गरे । उनी उक्त संस्थाको संस्थापक एवं अध्यक्ष समेत हुन् । उनी उक्त संस्थामार्फत अमेरिकामा नेपाली संस्कृति, परम्पराको जगेर्ना गर्ने र नयाँ पुस्तालाई त्यसप्रति सजग गराउने कार्यमा जुटिरहे । उक्त क्षेत्रमा क्रियाशील भएकै कारण गुरुङ एसिया प्रशान्त अमेरिकी मामिला आयोगको आयुक्त बन्ने सौभाग्य प्राप्त गरे ।
त्यो पदमा पुग्ने उनी पहिलो नेपालीसमेत हुन् । वासिङ्टन राज्यमा नेपाली भाषालाई अंगीकृत गराउने श्रेय वासिङ्टन राज्यका गभर्नर जे इन्सलीले गरेका उनी बताउँछन् । उनका अनुसार वासिङ्टन राज्यका यिनै गभर्नर जे इन्सलीले गुरुङलाई कमिसन अन एसिया प्यासिफिक अमेरिकन एफियर्स कमिसन पदमा नियुक्त गरेका थिए ।
वासिङ्टन राज्य व्यवस्थापिकाले यसलाई मान्यता दिँदै अन्य भाषाहरूझैँ नेपाली भाषालाई अंगीकार गरेको हो । अमेरिकामा शैक्षिक संस्थामा अंग्रेजी विषयपछि दोस्रो भाषा पढ्ने प्रचलन हुन्छ । त्यस्तो विषय शैक्षिक संस्थाअनुसार व्यवस्था गरिएको हुन्छ । स्पेनिस, जर्मन, फ्रेन्च, कोरियाली, हिन्दी जस्ता विश्वका विभिन्न भाषा ठाउँ र आवश्यकताअनुसार पढ्न पाउने व्यवस्था गरिएको हुन्छ ।
अहिले नेपाली भाषाले मान्यता पाएपछि त्यहाँ रहेका नेपालीहरूले ‘नेपाली भाषा पढ्ने गरेको उनी सुनाउँछन् । भाषा भनेको बोलचालको माध्यममात्र नभएर संस्कार र संस्कृतिको संवाहक पनि भएको गुरुङ बताउँछन् ।
‘विदेश पुगेपछि आफ्नो भाषा र संस्कृति झनै प्यारो लाग्ने रहेछ,’ उनी भन्छन्, ‘साथै यो घुमन्ते युगमा भाषा जोगाउन पनि एकदमै मुस्किल छ । भाषा भनेको भाषा मात्र होइन, यो हाम्रो पहिचान पनि हो । भाषा जोगायो भने आफ्नो परिचय जोगिन्छ । परिचय जोगियो भने संस्कार र संस्कृति पनि जोगिन्छ । त्यसैले विदेशमा बसे पनि हाम्रा सन्ततिले नेपाली भाषा र संस्कृति बिर्सनु हुँदैन ।’
यो अभियानलाई सफल पार्न विदेशमा रहेका नेपालीभाषी एकजुट भएर काम गर्नुपर्ने उनी बताउँछन् । वासिङ्टन राज्यको उदाहरणबाट अरू राज्यमा पनि नेपाली भाषा अध्ययन गराउने बाटो खुलेको गुरुङ स्पष्ट पार्छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।