१८औँ सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलुरु अर्थात् आरसिबी प्लेअफ नजिक पुगेको छ । आइतबार राति दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराएपछि आरसिबी प्लेअफ नजिक पुगेको हो ।
यो जितपछि ऊ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । अहिलेसम्म १० म्याच खेल्दासम्म आरसिबीले सातमा जित र तीन खेलमा मात्र हार बेहोरेको छ । र, अब प्लेअफमा स्थान बनाउन उसलाई एक जितको आवश्यकता छ ।

जित्न सक्ला उपाधि ?
हालसम्म उपाधि जित्न नसकेको आरसिबी यसपटक भने त्योक्रम तोड्न चाहन्छ । उसले १७ सिजनसम्मको यात्रामा तीनपटक फाइनलमा स्थान बनाएको छ ।
दुर्भाग्य आरसिबी ती तीनवटै उपाधि भिडन्तमा स्तब्ध भएको इतिहास छ । ऊ सन् २००९, २०११ तथा २०१६ को उपविजेता टिम हो ।
आरसिबी यसपालि भने आफ्नो उच्च लयको फाइदा मात्र होइन, ट्रफी नै उठाउने योजनामा छ । त्यसका लागि आरसिबीका प्रमुख खेलाडीको फर्म कायमै रहनुपर्नेछ ।
कोहली शीर्ष स्थानमा
अहिलेको अवस्थामा आरसिबीका पूर्वकप्तान तथा ओपनर विराट कोहली सानदार लयमा छन् । आरसिबीको जितमा ‘हिरो’ साबित भइरहेका उनले पछिल्लो तीन खेलमा लगातार अर्धशतकीय इनिङ खेलेका छन् ।
योसँगै कोहली ओरेन्ज क्याप दौड अर्थात् सर्वाधिक रनकर्ताको सूचीको शीर्ष स्थानमा उक्लिएका छन् ।

जारी सिजनमा उनले १० खेलमा ६३.२८ को औसत तथा १३८.८७ को स्ट्राइक रेटमा सर्वाधिक ४ सय ४३ रन बनाएका छन् । त्यसक्रममा कोहलीले ६ अर्धशतकीय पारी खेलेका छन् ।
उनी जारी सिजनमा सर्वाधिक अर्धशतक बनाउने ब्याटर पनि हुन् । हालसम्म कोहलीले आइपिएलमा २६२ खेलमा सर्वाधिक ८ हजार ४४७ रन बनाएका छन्, त्यसक्रममा उनले ६१ अर्धशतक र आठ शतकीय इनिङ खेलेका छन् ।
हालसम्म कोहलीले आइपिएलमा दुईपटक ओरेन्ज क्याप जितेका छन् । उनले सन् २०१६ र २०२४ को सिजनमा सर्वाधिक रन बनाउँदै सो अवार्ड प्राप्त गरे । आइपिएलमा कोहलीको नाममा एक सिजनमा सर्वाधिक रनको रेकर्ड पनि छ ।

उनले सन् २०१६ मा ९७३ रन बनाउँदै उक्त उपलब्धि हासिल गरे । हालसम्म कोहलीबाहेक कुनै पनि ब्याटरले आइपिएलको एक संस्करणमा ९ सय रन पूरा गर्न सकेका छैनन् ।
उनले गत सिजनमा १५ म्याचमा सर्वाधिक ७४१ रन बनाएका थिए । र, कोहलीले सोही लय यसपालि पनि दोहोर्याएका छन् । उनी जारी आइपिएलमा आरसिबीलाई पहिलोपटक उपाधि दिलाएरै छोड्ने योजनाका साथ अघि बढिरहेका छन् । टिमले पनि कोहलीको सपना साकार पार्ने संकेत देखाएको छ ।
आरसिबीले अब लिग चरणमा चार म्याच खेल्न बाँकी छ । उसले आफ्नो ११औँ खेलमा शनिबार चेन्नई सुपर किंग्सको सामना गर्नेछ । आरसिबी चेन्नईलाई हराउँदै तीन खेलअगावै प्लेअफको यात्रा गर्ने योजनामा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।