२९ पुस, २०८२ मंगलबार
Jan. 13, 2026

एमालेभित्र मौन विद्रोह : ओलीको 'एकछत्र' नेतृत्वमा चुनौती, भण्डारीकेन्द्रित नयाँ ध्रुवीकरण [भिडियोसहित]
विद्रोही धारलाई ढाडस दिँदै भण्डारी

प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्ति, नीति र कार्यशैलीले एकपछि अर्को असन्तुष्टि जन्माइरहेका छन् । प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसको संस्थापन इतर समूह, माओवादी केन्द्र, अन्य दल, राजावादी आन्दोलनकारी, शिक्षक-कर्मचारी, चिकित्सक, छिमेकी देश भारतलगायत विभिन्न पक्षहरूले ओलीसँग आक्रोश र असन्तोष देखाइरहेका छन् ।

आफ्नै पार्टीभित्र पनि ओलीप्रति असन्तुष्टिका रेखाहरू उठ्न थालेका छन्, जसले पार्टीभित्र नयाँ ध्रुवीकरणको संकेत दिएको छ । उनको शासनशैली र व्यवहारमा सुधारको आवश्यकता महसुस गर्दा पनि ओलीको नेतृत्वको अन्त्यका लागि स्पष्ट उपाय देखिँदैन । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल नेतृत्वमा पार्टी विभाजनपछि ओलीले एमालेको निर्विकल्प, चुनौतीहीन र एकछत्र नेताको रूपमा आफूलाई स्थापित गरेका छन् ।



‘एमाले भनेकै ओली, ओली भनेकै एमाले’ भन्ने तथ्य अब स्पष्ट देखिन्छ । पार्टीभित्र ओलीको आलोचना गर्नेहरूलाई ‘भीम रावल हुने’ डरले शान्त रहन बाध्य बनाएको छ । नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू अझै बुढो नभएको र अस्वस्थ नरहेको पनि प्रष्ट पारे । उनले पार्टीको नेतृत्व त्याग्ने कुनै विचार नआएको स्पष्ट गरेका हुन् । जब कि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीति फर्कने चर्चाले ओलीको नेतृत्वको असुरक्षितता र चुनौतीलाई अझ बलियो बनाएको छ । उनले बारम्बार आफ्नो नेतृत्व जारी राख्ने अडान प्रस्तुत गर्दै एमालेको राजनीतिमा आफू एक मात्र शक्ति रहेको बताउँदै आएका छन् ।



‘कतिपयलाई मेरो उमेर र मेरो स्वास्थ्यको चिन्ता छ । अहिले म बिरामी छैन । अबको २०–२५ वर्षपछि बुढो हुन्छु । कसैले हतार गरेर हुँदैन । मलाई मेरो उमेर र स्वास्थ्यका कुरा गर्नु पर्दैन । केपी ओलीबिनाको एमाले कसैले कल्पना गरेको छ भने त्यो पूरा हुँदैन,’ कार्यक्रममा बोल्दै ओलीले भने, ‘कसैले एमालेबिनाको देशको कल्पना गरिरहेका छन् । ओलीबिनाको एमाले किन खोजेको होला ? तिनको मनसाय राम्रो भए म सरक्क छोड्ने थिएँ । एमालेबिनाको नेपाल हेरौँला, मिसन २०८४ मा झन् बलियो भएर आउनेछौँ ।’  

एमालेभित्र सल्किएको विद्रोहको आगो 

११ कात्तिक २०७२ मा राष्ट्रपतिमा निर्वाचित हुनुअघि विद्यादेवी भण्डारी एमालेको उपाध्यक्ष थिइन् । उनी राष्ट्रपति निर्वाचित हुँदा ओली एमाले अध्यक्ष थिए । २९ फागुन २०७९ मा राष्ट्रपतिको दोस्रो कार्यकाल समाप्त गरेर शीतल निवासबाट फर्किँदा ओली नै पार्टीका अध्यक्ष थिए । तर, पार्टीको अवस्था पहिलेजस्तो रहेन भन्ने कुरा भण्डारीले राम्ररी महसुस गरिन् ।

उनी एमालेको राजनीतिमा सक्रिय रहँदा विगतमा एमालेको नेतृत्व गरेका माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमलगायतका प्रमुख नेताहरूले पार्टीबाट विद्रोह गरिसकेका छन् । उनीहरूमध्ये माधव र झलनाथ एक ठाउँमा हुँदा वामदेव दलविहीनजस्तै छन् । 



राष्ट्रपति पदको कार्यकाल समाप्त भएपछि भण्डारी अब पार्टीको राजनीतिमा सक्रियता बढाउन थालेकी छन् । उनले सरकारी सेवासुविधा त्यागेर अहिले चपलीस्थित आफ्ना निजी आवासमा बसेर एमालेका नेतासँग भेटवार्ता जारी राखेकी छन् । पछिल्ला दिनहरूमा उनका भेटघाट र बैठकको संख्या लगातार बढ्दो क्रममा छ ।

भण्डारीको पुनः राजनीतिक सक्रियतामा विश्वास गर्दै केही नेताहरूले उनलाई वाम एकताको आधार बनाउन सक्छन् भन्ने धारणा राखेका छन् । उनलाई भेट्न जाने कार्यकर्ताहरूले नेतृत्वको अभाव र कमजोर व्यवस्थापनका कारण पार्टी विभाजन भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । महाधिवेशन आउन दुई वर्ष मात्र बाँकी रहेको अवस्थामा यस अवधिमा पार्टीका विभिन्न तहमा आफ्नो पक्षलाई मजबुत बनाउने सोचमा भण्डारीका समर्थकहरू लागिपरेका छन् । तर, पार्टी अध्यक्ष ओली भण्डारीलाई पार्टीको राजनीतिमा पुनः सक्रिय हुनबाट रोक्न खुल्लारूपमा प्रयास गरिरहेका छन् । 

पछिल्ला दिनहरूमा ओली भण्डारीप्रति थप कडा र आलोचनात्मक सुनिन थालेका छन् । माधवकुमार नेपाल महासचिव र झलनाथ खनाल अध्यक्ष हुँदा एमालेमा गुटबाजीको परिपाटी रहेको भए पनि ओली अध्यक्ष भएपछि गुटबाजीको शब्दलाई उनले अस्वीकार गरेका छन् । उनको पुरानो शैलीअनुसार जसले विरोध गरे उनलाई किनारामा पार्ने रवैया कायम छ । ओलीको यो दृष्टिकोणले पार्टीभित्र असन्तुष्टिका लहरहरू सिर्जना गरेको छ । 

ओलीले आफू जे गरे पनि ठिक र अरूले गरे भने बेठीक देख्ने मानसिकता राखेको राजनीतिक विश्लेषक बताउँछन् । यस कारण ओलीको पार्टीभित्र र बाहिरको राजनीतिक प्रभाव घट्दै गएको भनाइ पनि तीव्र छ । यसले ओलीको नेतृत्वको भविष्य र पार्टीको आन्तरिक राजनीति दुवैको बारेमा गम्भीर सवाल उठाएको छ ।

एमाले नेताहरू भने पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउने चर्चा पार्टीभन्दा पार्टी बाहिर बढी हुने गरेको जनाउने गरेका छन् । यसका साथै जुन दिन एमालेमा भण्डारीको औपचारिकरूपमा प्रवेश हुन्छ, त्यो दिन पार्टी तथा नेताले धारणा बनाउने उनीहरूको भनाइ छ । 

‘पार्टीमा आन्तरिक धारणा बनिसकेको मलाई जानकारी छैन । तर, पार्टीमा जोडिन्छु, संविधानबमोजिम सामाजिकरूपमा सेवामा आउँछुभन्दा हामीले अन्यथा लिनु हुँदैन,’ एमाले प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘तर, पार्टीकै नेतृत्व फेर्नेबारे बहस भएको छैन । पूर्वराष्ट्रपति भण्डारीसँग जोडिएको विषय भएकाले हामीले यो ठीक यो बेठीक भन्न उपयुक्त नहोला ।’ एमालेमा भण्डारीको पुनरागमनबारे बहस गर्ने बेला नभएको पनि उनले बताए । 

एमालेभित्र एकताको जति नै दाबी गरिए पनि नेता तथा कार्यकर्ताबीचको गहिरो विभाजन लुकेको छैन । अध्यक्ष ओलीका आलोचकहरूले लामो समयदेखि अनुभव गरिरहेका छन्– फरक मत राख्नेबित्तिकै कारबाहीको मारमा पर्ने जोखिम । पछिल्लो समय एमालेभित्र कारबाहीमा परेका भीम रावल, माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमजस्ता नेताहरूको उदाहरणले पार्टीभित्र भय र असन्तोषको वातावरण अझ स्पष्ट पारेको छ ।

यस्तो अवस्थामा ओली नेतृत्वबाट आजित भएका धेरै नेता तथा कार्यकर्ताहरूले खुला विरोध गर्न सकेका छैनन् । ‘भीम रावल बन्ने’ डरले धेरैको आवाज दबिएको छ । तर, उनीहरू अब मौनरूपमा पूर्वराष्ट्रपति भण्डारीको वरिपरि गोलबद्ध हुन थालेका छन् । शीतल निवासबाट फर्किएपछि चपलीस्थित निजी निवासमा बसेर भण्डारीले असन्तुष्ट कार्यकर्ताहरूसँग बाक्लो संवाद गरिरहेकी छन् । असन्तुष्टहरूलाई भेटेर उनले नयाँ सम्भावनाको आशा जगाइरहेकी छन् ।

ओलीविरुद्ध बोल्दा कारबाही र राजनीतिक भविष्य समाप्त हुने त्रासले थिचिएका कार्यकर्ताका लागि भण्डारी भेटघाटको एउटा ढाडस बन्न थालेकी छन् । पार्टीभित्र मौन असन्तुष्टि मात्र होइन, विकल्प निर्माणको प्रक्रिया पनि सुरु भएको अनुभूति ती नेताहरूले गरिरहेका छन् ।

ओली नेतृत्वमाथि बढ्दो असन्तोष र भण्डारीको बढ्दो सक्रियताले एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत देखिन थालेको छ । आन्तरिक आक्रोश र दबिएका आवाजहरूले पार्टीको भविष्यलाई कता मोड्ने हो, त्यो अबका दिनमा थप रोचक बन्नेछ । 

  • प्रकाशित मिति : १५ वैशाख, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया