प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले शिक्षकको जारी आन्दोलन वार्ताबाट समाधान गर्न पहल जारी राख्ने निर्णय गरेको छ ।
बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षक आन्दोलन समाधानका लागि वार्ता प्रक्रिया अघि बढेको र सकारात्मक दिशा तर्फ उन्मुख भइरहेको बैठकमा जानकारी गराएको बताए ।
गुरुङका अनुसार शिक्षामन्त्री पन्तले आजै वार्तामा केही सकारात्मक प्रगति भएको र आन्दोलन अन्त्यको दिशामा वातावरण बन्न थालेको बताए । बैठकले वार्ता प्रक्रियालाई अझ प्रभावकारी बनाउँदै समस्या समाधानमा केन्द्रित हुन सम्बन्धित निकायलाई निर्देशनसमेत दिएको छ ।
त्यस्तै, बैठकले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनमा राष्ट्रपतिबाट प्रस्तुत गराउन आवश्यक पहल अघि बढाउने निर्णय पनि गरेको छ ।
यसअनुसार सरकारले राष्ट्रपति रामचन्द्र पौडेललाई संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न अनुरोध गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।